एआई पूर्वाधारका लागि ८० अर्ब डलर उठाउने अल्फाबेटको योजना
सारांश
- गुगलको माउ कम्पनी अल्फाबेट इंकले कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि ८० अर्ब अमेरिकी डलर बराबरको नयाँ पुँजी जुटाउने योजना सार्वजनिक गरेको छ ।
- यसमा वारेन बफेटको होल्डिङ कम्पनी बर्कशायर ह्याथवेले कम्पनीमा १० अर्ब डलर लगानी गरेको छ, जसले यसलाई प्रमुख लगानीकर्ता बनाउनेछ ।
- अल्फाबेटले एआई सेवाहरू, व्यावसायिक एआई उपकरण र आफ्नै चिप विकासमा ठुलो लगानी गरिरहेको छ, जसको माग हालको पूर्वाधारले धान्न नसकेको जनाएको छ ।
क्यालिफोर्निया । गुगलको माउ कम्पनी अल्फाबेट इंकले कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारका लागि ८० अर्ब अमेरिकी डलर बराबरको नयाँ पुँजी जुटाउने योजना सार्वजनिक गरेको छ ।
यसमा वारेन बफेटको होल्डिङ कम्पनी बर्कशायर ह्याथवेले कम्पनीमा १० अर्ब डलर लगानी पनि छ । यो लगानीसँगै बर्कशायर ह्याथवे अल्फाबेटको प्रमुख लगानीकर्तामध्ये एक बन्नेछ । यसलाई अल्फाबेटको दीर्घकालीन एआई र क्लाउड रणनीतिप्रति ठुलो विश्वासका रूपमा हेरिएको छ ।
अल्फाबेटले अप्रिलमा आफ्नो वार्षिक पुँजीगत खर्चको अनुमान ५ अर्ब डलरले बढाएर १८० अर्बदेखि १९० अर्ब डलर पुर्याएको थियो । कम्पनीले एआई सेवाहरू, व्यावसायिक एआई उपकरण र आफ्नै चिप विकासमा ठुलो लगानी गरिरहेको छ । सम्झौताअनुसार बर्कशायरले निजी सेयर बिक्रीमार्फत १० अर्ब डलर बराबरको सेयर खरिद गर्नेछ । यसमध्ये ५ अर्ब डलर क्लास–ए साधारण सेयरमा र ५ अर्ब डलर क्लास–सी सेयरमा लगानी गरिनेछ ।
अल्फाबेटले थप ३० अर्ब डलर सार्वजनिक सेयर निष्कासनमार्फत जुटाउने योजना बनाएको छ । साथै कम्पनीले आगामी तेस्रो त्रैमासमा ४० अर्ब डलर बराबरको ‘एट–द–मार्केट’ सेयर बिक्री कार्यक्रम पनि सुरु गर्ने अपेक्षा गरेको छ, जसले बजारको अवस्थाअनुसार क्रमिक रूपमा सेयर बिक्री गर्ने सुविधा दिनेछ ।
बर्कशायरले गत वर्षको तेस्रो त्रैमासदेखि अल्फाबेटमा आफ्नो हिस्सेदारी बढाउँदै आएको छ । गत महिना कम्पनीले अल्फाबेटमा आफ्नो लगानी तीन गुणाभन्दा बढी बढाएको जनाएको थियो । हाल अल्फाबेटमा बर्कशायरको लगानी करिब १६.६ अर्ब डलर पुगेको छ । बर्कशायर अहिले नै अल्फाबेटको ठुला सेयर लगानीमध्ये एक हो ।
‘बर्कशायरले कुनै कम्पनीमा लगानी गर्नु आफैँमा ठुलो विश्वासको संकेत हो । अधिकांश कम्पनीहरू बर्कशायरजस्तो दीर्घकालीन लगानीकर्तालाई आफ्नो सेयरधनी बनाउन चाहन्छन्,’ लगानी व्यवस्थापन कम्पनी चेक क्यापिटल म्यानेजमेन्टका अध्यक्ष स्टिभन चेकले भने ।
‘यो थप लगानीले बर्कशायरका प्रमुख कार्यकारी ग्रेग एबेलले अल्फाबेटको एआईमा भइरहेको ठुलो खर्चबाट उचित प्रतिफल प्राप्त हुने विश्वास गरेको देखाउँछ,’ ग्लेनभ्यू ट्रस्ट कम्पनीका प्रमुख लगानी अधिकृत बिल स्टोनले भने ।
अल्फाबेटले आफ्नो एआई समाधान र सेवाप्रति व्यावसायिक ग्राहक तथा उपभोक्ताबाट अत्यधिक माग आएको जनाएको छ । कम्पनीका अनुसार माग यति तीव्र छ कि हाल उपलब्ध पूर्वाधारले त्यसलाई पूर्ण रूपमा धान्न सकेको छैन ।
पछिल्लो एक वर्षमा अल्फाबेटले विभिन्न मुद्रा र बजारमार्फत ८५ अर्ब डलरभन्दा बढी ऋण उठाइसकेको छ । यससँगै कम्पनीको कुल ऋण १०० अर्ब डलरभन्दा माथि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण