मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सशस्त्रका जवानको शङ्कास्पद मृत्युबारे छानबिन गर्न एसपीको नेतृत्वमा समिति

रोलकल बोलाउँदा नआएपछि बल्ल खोजतलास
बुधबार, २० जेठ २०८३, ०९ : ४९
बुधबार, २० जेठ २०८३

सारांश

  • सशस्त्र प्रहरीका जवान ओमप्रकाश पुन मगरको गस्तीमा गएका बेला शंकास्पद मृत्यु भएको छ ।
  • जेठ १४ गते गस्तीमा गएका जवान पुन मगर जेठ १५ को बिहान रोलकलमा नआएपछि खोज्दा महाकाली नदीको पुलमुनि मृत भेटिए ।
  • घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौँ । डडेलधुराको परिगाउँ बीआपी (बोर्डर आउट पोष्ट) बाट इन्स्पेक्टरको नेतृत्वमा लङरुट पट्रोलिङमा गएका सशस्त्र प्रहरीका जवान रोलकल बोलाउँदा सामेल देखिएनन् । त्यसपछि खोजतलास गर्दा जवान ओमप्रकाश पुन मगर मृत भेटिए । जेठ १८ मा उनको शव कञ्चनपुर र भारतको उत्तराखण्ड टनकपुर शाखा ब्यारेजस्थित महाकाली नदीको पुलमुनि अड्किएको अवस्थामा भेटिएको थियो ।

भारततर्फ शव भेटिएपछि सशस्त्र सीमा बल (एसएसबी)ले मुचुल्का गरेर नेपाल प्रहरीलाई खबर गरेको थियो । त्यसपछि मृतकका दाजु महेन्द्र पुन ले शव बुझेर नेपाल ल्याएका हुन् ।

जेठ १४ मा सशस्त्र प्रहरी निरीक्षक नरेशबहादुर चन्दको कमान्डमा २१ जनाको टोली सीमामा पैदल गस्ती गएको थियो । १५ जेठको रात टोली हारबोर बीओपीमा बास बसेको थियो । भोलिपल्ट रोकलक बोलाउँदा जवान पुन मगर देखिएनन् । उनकी श्रीमती पनि परिगाउँ बिओपीमै कार्यरत छिन् । मृतक डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर–३ चनलाको स्थानीय हुन् ।

गस्तीमा गएका सशस्त्र प्रहरी जवानको मृत्यु शङ्कास्पद रहेको अधिकृतहरु बताउँछन् । यसबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र डडेलधुराले अनुसन्धान गरिरहेको छ । घटना छानबिन गर्न सशस्त्र प्रहरीले समिति गठन गरेको छ । नम्बर–७ बाहिनीका एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु भट्टले रातोपाटीलाई बताए । अहिलेसम्म घटनाबारे कुनै तथ्य नखुलेको भट्टले बताए । उनले भने, ‘छानबिनले पत्ता लगाउला ।’

सशस्त्र प्रहरीले घटनाबारे जेठ १७ देखी नै आन्तरिक छानबिन गरिरहेको छ । सँगै गएका कमान्डर र अन्य सहकर्मी बेखबर हुनुमा सशस्त्रको गम्भीर लापरबाही देखिएको छ । रोलकलमा नआएपछि खोजबिन थालिएपनि एसएबीले शव भेटेर खबर गरेपछि मात्रै सशस्त्रले उनको मृत्युबारे जानकारी पाएको थियो ।

पोष्टमार्टम पछि परिवारले कैलालीको गोदावरीमा शव दाहसंस्कार गरेका छन् । उनको मामा नाता पर्ने ५५ वर्षीय तीर्थबहादुर थापाको पनि महाकाली नदीमै आइतबार शव भेटिएको थियो । आइतबार बिहान ९ बजेर ५० मिनेटमा डडेलधुराकै पर्शुराम नगरपालिका–५ स्थित महाकाली नदीमा तैरिएको अवस्थामा तीर्थबहादुरको शव भेटिएको हो । 

जोगबुढा अस्पतालमा पोष्टमार्टम गरेर तिर्थबहादुरको शव परिवारलाई बुझाइएको डडेलधुराका डीएसपी वरुण बहादुर सिंहले रातोपाटीलाई बताए । प्रहरीका अनुसार उनको पनि मृत्युको कारण खुलेको छैन । डीएसपी सिंह भन्छन्, ‘हामी पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौं ।’

तीर्थबहादुर पर्शुराम नगरपालिका–५ स्थित परिगाउँका स्थानीय हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप