बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याग्दी र मुस्ताङमा पर्यटकको ओइरो, ४ दिनमै ३० हजार पर्यटक

बुधबार, २० जेठ २०८३, १२ : ३०
बुधबार, २० जेठ २०८३

सारांश

  • जेठ १४ देखि १७ गतेसम्मको ४ दिने बिदामा म्याग्दी र मुस्ताङमा ३० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्।
  • यो अवधिमा म्याग्दी र मुस्ताङका होटलहरू पूर्ण क्षमतामा सञ्चालन भएका छन्।
  • मुक्तिनाथ, कागबेनी, कोरला नाका र भुरुङ्ग-तातोपानी पर्यटकहरूको रोजाइमा परेका छन्।

काठमाडौँ ।  म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रहरूमा पछिल्लो समय पर्यटकहरूको निकै उत्साहजनक आगमन देखिएको छ । जेठ १४ गतेदेखि १७ गतेसम्मको ४ दिने सार्वजनिक बिदाको अवसर पारेर यी दुई जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यहरूमा ३० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिएका छन् ।

यसरी छोटो समयमा ठुलो सङ्ख्यामा पर्यटकहरूको आगमन भएपछि म्याग्दी र मुस्ताङका होटलहरू पूर्ण रूपमा ’प्याक’ भएका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

यस अवधिमा पर्यटकहरूको मुख्य रोजाइमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कागबेनी, चीनसँगको सीमा क्षेत्र कोरला नाका र प्राकृतिक तातोपानी कुण्डका लागि चर्चित भुरुङ्ग–तातोपानी रहेका छन् । 

विशेषगरी मधेस, भित्री मधेस र ठुला सहरहरूमा अत्यधिक गर्मी र लामो बिदा एकैपटक हुँदा  हिमाली क्षेत्रको मनमोहक प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति र महत्त्वपूर्ण धार्मिक स्थलहरूको प्रत्यक्ष अवलोकनका लागि देशका विभिन्न भागबाट पर्यटकहरू ओइरिएका हुन् । 

मन्त्रालयका अनुसार  भुरुङ्ग–तातोपानीमा रहेको प्राकृतिक कुण्डमा स्नान गर्ने र मुक्तिनाथको दर्शन गर्नेहरूको भीड अत्यधिक देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप