‘संसद्मा देश बुझ्न पाइरहेकी छु, विकटका समस्या सुन्दा मेरो त केही रहेनछजस्तो लाग्छ’
सारांश
- उद्यमी विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद बनेर देशलाई उत्पादन, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा लैजाने योजनामा काम गर्न चाहन्छिन् ।
- निजी क्षेत्रलाई 'नाफाखोर' वा 'फटाहा' मात्र देख्ने भाष्य चिर्न र नीति निर्माणकै थलोमा पुगेर समस्याको समाधान खोज्न राजनीतिमा प्रवेश गरेको राणाको भनाइ छ ।
- प्रधानमन्त्रीले गोल्डस्टार जुत्ता लगाएको विषयलाई संयोग भन्दै राणाले यसले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सन्देश दिएको बताइन् ।
काठमाडौँ । उद्यम-व्यवसायमा राम्रो उचाई बनाएकी विदुषी राणा अहिले संसदीय यात्रामा छिन् । नेपालको चर्चित जुत्ता ब्रान्ड गोल्डस्टार कम्पनीकी कार्यकारी निर्देशक राणा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सांसद छिन् । संसद्मा आएर उनले देशलाई उत्पादन, उद्यमशीलता र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा लैजाने योजनामा काम गर्न चाहन्छिन् ।
रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा उनलाई सुरूमै सोधियो- एक उद्यमीको संसद् यात्रा कस्तो चलिरहेको छ त ?
उनले सुझबुझपूर्ण जवाफ दिइन्, ‘मलाई एकदमै बिग लर्निङ लागिरहेको छ । किनभने दिनहुँ मैले नयाँ-नयाँ कुरा सिकिरहेको छु । म पहिला एक उद्यमी थिएँ, त्यसबेला आफ्नो क्षेत्रका कुरा सिकें । संसद्मा आएपछि पूरै नेपाललाई बुझ्न पाइरहेकी छु ।‘
उनलाई अर्को प्रश्न सोधियो- आफ्नो उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमै ब्रान्डिङ गर्न सफल भइरहेको उद्यमीलाई राजनीतिमा चाहिँ किन आउनुपर्यो ?
‘नेपालमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सधैं नकारात्मक रह्यो । निजी क्षेत्रलाई 'नाफाखोर' वा 'फटाहा' मात्र देख्ने भाष्य चिर्नु आवश्यक थियो,’ उनले भनिन्, ‘बाहिर बसेर कराउनु भन्दा नीति निर्माणकै थलोमा पुगेर समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ भन्ने ठानेर म राजनीतिमा प्रवेश गरेकी हुँ ।‘
करिब एक घण्टा लामो अन्तर्वार्तामा सांसद तथा उद्यमी राणाले आफ्नो संसदीय यात्रादेखि उद्यम-व्यवसायका चुनौती र सम्भावनासम्मका विषयमा कुरा गरेकी छन् । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सुन्न-सकिन्छ) :
तपाईं एक सफल उद्यमी, अहिले पहिलोपटक संसदीय यात्रामा हुनुहुन्छ । हालैका दिनमा संसद्को वातावरण निकै तनावपूर्ण देखियो । संसद् त 'कुस्ती मैदान' जस्तो पनि देखियो । कस्तो भइरहेको छ संसदीय अनुभव ?
संसद् भनेको बहस र छलफल गर्ने थलो नै हो । कतिपय अवस्थामा असहमतिहरू हुन्छन्, तर ती असहमतिहरूबिचबाटै समाधान निकाल्नुपर्छ । संसद्मा विभिन्न भूगोल र पृष्ठभूमिबाट आउनुभएका जनप्रतिनिधिहरूले जनताको आवाज उठाउनुहुन्छ । केही दृश्यहरू लज्जास्पद पनि देखिए । तर यस्तो हुनुहुँदैन । सभ्य ढंगले लोकतान्त्रिक अधिकार प्रयोग गर्नुपर्छ ।

संसद् अवरुद्ध भइरहँदा नागरिकका जरुरी मुद्दाहरू ओझेलमा पर्छन् । हामी नियम-कानुन बनाउन आएका हौँ । त्यसैले हाम्रो प्राथमिकता परिणाममुखी काममा हुनुपर्छ । संसद्मा हुने शब्दको बहसलाई म स्वाभाविक मान्छु, तर भौतिक रूपमा अराजकता देखिनु चाहिँ राम्रो होइन । यी विविध कुराको बाबजुद संसद्मा धेरै कुरा सिकिरहेको छु ।
तपाईं एक स्थापित उद्यमी, जसले 'गोल्डस्टार' जस्तो जुत्ता ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफल हुनुभयो । तपाईंलाई राजनीतिमै आउनुपर्ने आवश्यकता चाहिँ किन पर्यो ?
मैले राजनीतिमा आउँछु भनेर कहिल्यै सोचेकी थिइनँ । म आफ्नै व्यवसायमा सन्तुष्ट थिएँ । तर नेपालमा उद्योग चलाउन, विशेषगरी उत्पादनमूलक क्षेत्रमा काम गर्न कति जटिल छ भन्ने कुरा मैले १०-११ वर्षको अनुभवबाट भोगेकी छु । म सरकारी निकायहरूमा नीतिगत सुधारका लागि बारम्बार कराइरहन्थें । चोरी-पैठारी नियन्त्रण हुनुपर्ने, स्वदेशी उत्पादनको संरक्षण हुनुपर्ने र रोजगारी सिर्जनाका लागि उद्योगमैत्री वातावरण हुनुपर्ने माग मेरो सधैं रहन्थ्यो ।
हाम्रो देशमा कृषिपछि रोजगारीको सबैभन्दा ठुलो आधार उद्योग नै हो । तर निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सधैं नकारात्मक रह्यो । निजी क्षेत्रलाई 'नाफाखोर' वा 'फटाहा' मात्र देख्ने भाष्य चिर्नु आवश्यक थियो । नीति बाहिर बसेर कराउनु भन्दा नीति निर्माणकै थलोमा पुगेर समस्याको समाधान खोज्नु उपयुक्त हुन्छ भन्ने ठानेर म राजनीतिमा प्रवेश गरेकी हुँ ।
तपाईं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै चाहिँ किन जोडिनुभयो ? अन्य दलहरू पनि त थिए नि ?
म नेपाल उद्योग परिसंघ (सीएनआई) मार्फत विभिन्न मुद्दाहरूमा पैरवी गरिरहन्थें । सोही क्रममा काठमाडौँका तत्कालीन मेयर (हाल प्रधानमन्त्री) बालेन्द्र शाहज्यूसँग भेट हुने मौका मिल्यो । मैले उहाँलाई उद्योगका समस्या, नीतिगत जटिलता र चोरी-पैठारीका बारेमा विस्तारमा सुनाएकी थिएँ । उहाँले निकै गम्भीर भएर मेरा कुरा सुन्नुभयो ।

पछि चुनावको समयमा उहाँले मलाई भन्नुभयो- ‘तपाईं बाहिर बसेर धेरै कराइरहनुभएको छ, अब नीति निर्माण गर्ने ठाउँमै आएर यी समस्या समाधानका लागि काम गर्नुहोस् ।‘ उहाँको त्यो प्रस्ताव र रास्वपाको 'वाचापत्र' मा समेटिएका सुशासन र आर्थिक समृद्धिका एजेन्डाहरूले मलाई आकर्षित गर्यो । देशमा भ्रष्टाचारको अन्त्य र 'गुड गभर्नेन्स' विना समृद्धि सम्भव छैन भन्ने उहाँहरूको स्पष्ट भिजनले मलाई यस पार्टीमा लाग्न प्रेरित गर्यो ।
तपाईं सांसद बनेर संसद् भवन छिर्दा तपाईंको महँगो गाडीको निकै चर्चा भयो । यसलाई कसरी लिनुहुन्छ ?
यस्तो चर्चाको कुनै तुक छैन । व्यापारी वा उद्यमी हुनु भनेको नराम्रो होइन । जसले राज्यलाई कर तिर्छ, हजारौंलाई रोजगारी दिन्छ, उसले आफ्नो चोखो कमाइले कस्तो गाडी चढ्छ वा कस्तो घरमा बस्छ भन्ने कुरा उसको व्यक्तिगत स्वतन्त्रता हो । यदि कसैले भ्रष्टाचार गरेर वा कर छलेर महँगो विलासिताको जीवन बाँच्छ भने त्यसको छानबिन हुनुपर्छ । तर पारदर्शी व्यवसाय गरेर राज्यलाई योगदान दिने उद्यमीको सम्पत्तिलाई नकारात्मक नजरले हेर्नु हुँदैन । म बुझ्छु नेपालमा वर्गीय खाडल निकै छ । तर यसकै कारणले पारदर्शी व्यवसाय गर्ने उद्यमीहरूलाई गलत नजरले हेर्नुभएन ।
अब सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटका विषयमा कुरा गरौँ । कसरी हेर्नुभएको छ यो बजेटलाई ?
बजेट मलाई समग्रमा राम्रै लागेको छ । सबै कुरालाई समेट्ने प्रयास गरिएको छ । मेरो स्पष्ट मान्यता छ- ट्याक्सको दर बढाउने भन्दा पनि ट्याक्सको दायरा बढाउनुपर्छ । यदि रोटीको आकार सानो छ भने थोरै मान्छेले मात्र खान पाउँछन्, तर रोटीकै आकार ठुलो बनाइयो भने धेरैलाई पुग्छ । बजेटमा भएका कतिपय करका दरहरूमा असन्तुष्टि हुन सक्छ, तर राज्य सञ्चालनका लागि राजस्व त चाहिन्छ नै ।
अहिलेको बजेटमा उद्योगमैत्री केही राम्रा प्रावधानहरू छन् । विशेषगरी उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने र आयात प्रतिस्थापन गर्ने कुरा सराहनीय छ । उद्योग नखुलीकन रोजगारी सिर्जना हुँदैन र रोजगारी नभएसम्म युवाहरूको विदेश पलायन रोकिँदैन । यो सर्कल तोड्न उद्योगमैत्री बजेट र नीति आवश्यक छ ।
तपाईंको जुत्ता कम्पनी 'गोल्डस्टार' अहिले थप चर्चामा छ । प्रधानमन्त्री बालेन्द्र शाहले गोल्डस्टार जुत्ता लगाएर तपाईंलाई देखाएको दृश्य मिडिया र सामाजिक सञ्जालमा भाइरल बन्यो । यो संयोग मात्र थियो कि योजनाबद्ध ब्रान्डिङ ?
यो पूर्ण रूपमा संयोग थियो । बजेट भाषण सकिएपछि म बाहिर निस्किँदै थिएँ । प्रधानमन्त्रीज्यूसँग ठ्याक्कै भेट भयो, उहाँले अरू सांसदहरूसँग हात मिलाउँदै हुनुहुन्थ्यो । मलाई देखेपछि उहाँले मुसुक्क हाँसेर भन्नुभयो— ‘हेर्नुस्, मैले पनि गोल्डस्टार लगाएको छु ।‘ उहाँले लगाउनुभएको हाम्रो नयाँ 'आर्क सिरिज' को जुत्ता थियो ।

उहाँले गोल्डस्टार लगाउनु भनेको एउटा कम्पनीलाई मात्र माया गर्नु होइन, समग्र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु हो । यसले नेपाली युवाहरूमाझ स्वदेशी उत्पादन पनि गुणस्तरीय हुन्छ र यो लगाउँदा गर्व गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । मलाई सामाजिक सञ्जालतिर प्राइभेट कम्पनीको विज्ञापन गरिदिएको भन्ने टिप्पणी सुन्दा दुःख लाग्यो । निजी क्षेत्र पनि त सरकारकै एउटा अंग हो नि । राज्यलाई योगदान दिने उद्योगको जुत्ता प्रधानमन्त्रीले लगाउनु त गर्वको कुरा हो ।
गोल्डस्टारको इतिहास ५५ वर्ष पुरानो छ । यो दुई परिस्थितिमा विशेष चर्चामा आयो । एउटा माओवादी द्वन्द्वकालमा र अर्को अहिले प्रधानमन्त्री बालेन शाहले लगाएपछि । यी दुई कालखण्डको चर्चामा के फरक देख्नुहुन्छ ?
यी दुई चर्चाको प्रकृति र प्रभाव बिल्कुलै फरक छन् । द्वन्द्वकालमा माओवादी विद्रोहीहरूले गोल्डस्टार लगाउँथे किनभने यो सस्तो, बलियो र पहाड-जंगलमा हिँड्न सजिलो थियो । तर त्यसले गर्दा हाम्रो ब्रान्डको चर्चा चुलिए पनि व्यापारमा भने घाटा भयो । त्यतिबेला सुरक्षाकर्मीहरूले गोल्डस्टार लगाउने जोसुकैलाई पनि विद्रोहीको नजरले हेर्ने र दुःख दिने गर्थे । सोही कारण हामीले केही समय नेपालमा बिक्री घटाएर भारततिर निर्यात गर्नुपरेको थियो ।
तर अहिले प्रधानमन्त्रीले लगाउँदाको चर्चा सकारात्मक छ । यो 'नेपालीपन' र 'स्वदेशी उत्पादन' को गर्वसँग जोडिएको छ । अहिले युवाहरूले पनि यसलाई फेसन र गुणस्तरको रूपमा स्वीकार गरेका छन् ।
तपाईंको उद्योगमा महिलाहरूको सहभागिता निकै बढी छ भनिन्छ । त्यहाँको कार्यवातावरण र श्रमिकको अवस्था कस्तो छ ?
हाम्रो उद्योगमा करिब तीन हजार जति श्रमिक हुनुहुन्छ, जसमा ७०-७५ प्रतिशत दिदीबहिनीहरू हुनुहुन्छ । जुत्ता बनाउने काम निकै 'लेबर इन्टेन्सिभ' हुन्छ । हामीले उहाँहरूलाई तीन महिनाको विशेष तालिम दिएर दक्ष बनाउँछौं । तालिमको अवधिमा पनि हामी सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन्छौं ।

सुत्केरी सुविधा, बिदा र सफा वातावरणको ग्यारेन्टी गरिएको छ । हामीले श्रमिकलाई केवल कामदारको रूपमा होइन, एउटा परिवारको सदस्यको रूपमा व्यवहार गर्छौं । तर सरकारले चोरी-पैठारी र नक्कली ब्रान्डहरूलाई नियन्त्रण नगर्दा हामी जस्ता इमानदार उद्यमीहरू मारमा परेका छौं । बजारमा ५०० रूपैयामा पाइने विदेशी नक्कल गरिएका जुत्तासँग १५ सय पर्ने सक्कली गोल्डस्टारले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।
हामी जुत्तामा आत्मनिर्भर बन्न कहिले सकौँला ?
जुत्तामा हामी धेरै हदसम्म आत्मनिर्भर भइसकेका छौं । तर समस्या के छ भने एउटा जुत्ता बनाउन ७० देखि ८० वटा साना कम्पोनेन्टहरू चाहिन्छ । तिनीहरू सबै अहिले नेपालमा बन्दैनन् । यदि सरकारले कच्चा पदार्थ आयातमा सहुलियत दिने र यहीं उत्पादन गर्ने साना उद्योगहरूलाई प्रोत्साहन गर्ने हो भने हामी पूर्ण रूपमा आत्मनिर्भर हुन सक्छौं । उद्योग चल्दा एउटा फ्याक्ट्री मात्र चल्दैन, त्यसको वरिपरि यातायात, रेस्टुरेन्ट, पसल र साना सहायक उद्योगहरू पनि फस्टाउँछन् । ढुवानी व्यवसाय चल्छ, अरू धेरैलाई अप्रत्यक्ष व्यवसाय र रोजगारको अवसर सिर्जना हुन्छ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा सरकार जानुपर्छ ।
अब अर्को प्रसंग । पार्टीको महाधिवेशन आउँदैछ । तपाईं केन्द्रीय समिति वा पदाधिकारीमा जाने सोचमा हुनुहुन्छ ?
म राजनीतिमा पदका लागि आएकी होइन । म अहिले पनि सिक्ने क्रममै छु । तर मेरो काम र अनुभवले पार्टीको नीति निर्माणमा सहयोग पुग्छ र पार्टीले आवश्यक ठान्छ भने म कुनै पनि जिम्मेवारी सम्हाल्न तयार छु ।
तपाईंले आफ्नो राजनीतिक यात्राको गन्तव्य कहाँसम्म सोच्नुभएको छ ?
यो प्रश्नको उत्तर दिन अहिले अलि चाँडो होला । तर म यति भन्न सक्छु- राजनीति मेरो लागि पदको यात्रा होइन, यो एउटा उद्देश्यको यात्रा हो । जबसम्म म देशको अर्थतन्त्र र नीति निर्माणमा 'भ्यालु एड' गर्न सक्छु भन्ने आत्मविश्वास रहन्छ, तबसम्म म राजनीतिमा सक्रिय रहनेछु । म देशलाई औद्योगिक क्रान्तिको बाटोमा अगाडि बढेको हेर्न चाहन्छु र त्यसमा मेरो सानो भए पनि योगदान रहोस् भन्ने मेरो चाहना छ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण