प्रदेशलाई दिने सङ्घीय अनुदान बढ्यो, प्रदेशले खर्च गर्ने क्षमता बढाउलान् ?
सारांश
- आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि सङ्घ सरकारले प्रदेशहरूलाई दिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको आकार थोरै बढाएको छ ।
- चालु आर्थिक वर्ष सातै प्रदेशका लागि कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि यो परिमाण बढेर १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
- प्रदेश सरकारहरूको खर्च गर्ने क्षमता भने निराशाजनक देखिएको छ, जसले गर्दा प्राप्त अनुदान रकम सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने अवस्था छ ।
विराटनगर । नेपालको सङ्घीय शासन प्रणालीमा प्रदेश सरकारहरू आर्थिक रूपमा अझै पनि केन्द्रकै अनुदानमा निर्भर छन् । यद्यपि आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि सङ्घ सरकारले प्रदेशहरूलाई दिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको आकार थोरै बढाएको छ ।
सङ्घ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षका लागि सङ्घ सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षको बजेट बढेसँगै सङ्घ सरकारले प्रदेश सरकारलाई दिने अनुदान पनि केही मात्रामा बढाएको छ ।

चालु आर्थिक वर्ष सातै प्रदेशका लागि कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि यो परिमाण बढेर १ खर्ब ९ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । समग्र अनुदानको अङ्क साढे १२ अर्बले बढेको छ ।
जसअनुसार आगामी आर्थिक वर्ष कोशी प्रदेशले १६ अर्ब ४७ करोड १० लाख रुपैयाँ अनुदान पाउने देखिएको छ । चालु आर्थिक वर्ष (२०८२/०८३) कोशी प्रदेशले १४ अर्ब ५० करोड ३३ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यद्यपि, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश जस्ता केही प्रदेशको अनुदान भने उल्लेख्य बढेको छ । मधेस प्रदेशले चालु वर्ष १२ अर्ब ७३ करोड ६४ लाख रुपैयाँ पाएकोमा आगामी वर्ष १७ अर्ब ५९ करोड ८७ लाख अनुदान पाउने देखिन्छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अनुदान १४ अर्ब २० करोड ७२ लाखबाट बढेर १६ अर्ब १ करोड ४७ लाख पुगेको छ ।
अनुदानको प्रकृति हेर्दा आगामी वर्षका लागि समानीकरण अनुदानतर्फ ६१ अर्ब ५० करोड ३२ लाख, सशर्त अनुदानतर्फ ३९ अर्ब ७२ करोड ७४ लाख, विशेष अनुदानतर्फ ३ अर्ब ८२ करोड ११ लाख र समपूरक अनुदानतर्फ ४ अर्ब ६० करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसले प्रदेशहरूलाई आफ्नो प्राथमिकता अनुसार खर्च गर्न पाउने समानीकरण अनुदानको हिस्सामा खासै ठुलो बढोत्तरी हुन नसकेको देखाउँछ ।
अनुदानको आकारमा उतारचढाव आइरहेका बेला प्रदेश सरकारहरूको खर्च गर्ने क्षमता भने निराशाजनक देखिएको छ । महालेखा परीक्षकको आठौँ प्रतिवेदनमा समेटिएको कोशी प्रदेशको खर्च विवरणले यसको पुष्टि गर्दछ । कोशी प्रदेश सरकारलाई सङ्घीय सरकारले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार दिने भनेको अनुदानको प्राप्ति र खर्चको खाडल निकै ठुलो छ ।
कोशी प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा १४ अर्ब ५४ करोड २६ लाख रुपैयाँको बजेट अनुमान गरेकोमा १३ अर्ब ४० करोड ८४ लाख रुपैयाँमात्र प्राप्त गरेको थियो । यो कुल अनुमानको ९२.२० प्रतिशतमात्र हो ।

प्राप्त अनुदानमध्ये पनि प्रदेश सरकारले ११ अर्ब ३१ करोड १२ लाख रुपैयाँमात्र खर्च गर्न सकेको छ । प्रतिवेदनका अनुसार सशर्त, विशेष र समपूरक अनुदानतर्फ ५ अर्ब २० करोड २१ लाख रुपैयाँ निकास भएकोमा वैदेशिक अनुदान बाहेक ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ अर्थात् ७३.७३ प्रतिशतमात्र खर्च भएको छ । वित्तीय समानीकरण अनुदानतर्फ ९१.१० प्रतिशत खर्च भए पनि विकास निर्माणसँग जोडिएका सशर्त र विशेष अनुदानहरू समयमा खर्च हुन नसक्नुले प्रदेशको आयोजना कार्यान्वयन पक्ष कमजोर रहेको देखाउँछ ।
खर्च हुन नसकेको अनुदान रकम नियमअनुसार सङ्घीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने प्रावधान छ । कोशी प्रदेशले मात्रै पछिल्लो एक वर्षमा १ अर्ब ३६ करोड ६८ लाख रुपैयाँ सङ्घीय सरकारलाई फिर्ता गरेको छ । प्रदेश सरकारले एकातिर केन्द्रसँग थप बजेट र अधिकार माग गरिरहेको छ भने अर्कोतिर प्राप्त स्रोतको व्यवस्थापन र उपयोगमा भने अक्षमता प्रदर्शन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण