शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति रनिङ सिल्ड : अविनाश र भगवतीको नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

बुधबार, २० जेठ २०८३, १९ : १५
बुधबार, २० जेठ २०८३

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बागमती प्रदेशका खेलाडीहरू चम्किएका छन् । 

प्रतियोगिताको बुधबारको खेलमा बागमतीका अविनाश सुनार र भगवती खड्काले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । अविनाशले छात्रतर्फको हाइजम्प र भगवतीले छात्रातर्फको ४ सय मिटर दौडमा नयाँ कीर्तिमान रचेका हुन् ।

हाइजम्पको प्रतिस्पर्धामा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमान सुधार गरे । यसअघि १.८२ मिटरको कीर्तिमान पनि अविनाशकै नाममा थियो, जुन उनले गत साता सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए । यस स्पर्धामा कोशी प्रदेशका टंक यादव दोस्रो र गण्डकी प्रदेशका सनुन चौधरी तेस्रो भए । 

यही स्पर्धाको छात्रातर्फ भने गण्डकी प्रदेशकी आराध्य चालिसे र सुदूरपश्चिम प्रदेशकी सुनिता पार्की संयुक्त रूपमा पहिलो स्थानमा रहे । दुवैले १.४३ मिटर उचाइ नाघेका थिए भने कोशी प्रदेशकी सुस्मिता बस्नेत तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन् ।

त्यसैगरी, छात्रा ४ सय मिटर दौडमा बागमतीकी भगवती खड्काले हिट चरणमै निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान दर्ता गरिन् । यसअघि उक्त स्पर्धामा सुदूरपश्चिम प्रदेशकी संगीता विकको नाममा १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान रहेको थियो । 

फाइनल खेलमा पनि भगवतीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै ५९.११ सेकेन्डमा निर्धारित दूरी तय गरेर स्वर्ण पदक जितिन् । यस स्पर्धामा बागमतीकै अनिशा थारु दोस्रो र लुम्बिनी प्रदेशकी रोशनी कामी तेस्रो बने । सोही स्पर्धाको छात्रतर्फ बागमतीका निरज शाहले ५०.९४ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरे भने गण्डकीका अतीत थापा दोस्रो र गण्डकीकै अङ्कित रानाभाट तेस्रो स्थानमा रहे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सञ्चालित यस प्रतियोगिताको अन्य स्पर्धामा पनि कडा प्रतिस्पर्धा देखियो । छात्र १ सय मिटर दौडमा बागमतीका प्रविन रानाले १०.४६ सेकेन्डमा दूरी तय गर्दै स्वर्ण जिते । सुदूरपश्चिमका सुरेश चौधरीले रजत र लुम्बिनीका भगवानदास लोहारले कांस्य पदक हात पारे । सोही स्पर्धाको छात्रातर्फ लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् भने लुम्बिनीकै आशिका चौधरी दोस्रो र बागमतीकी सुरुची मोक्तान तेस्रो भए।

छात्र १ हजार ५ सय मिटर दौडमा बागमतीका हस्त सुनारले ४ मिनेट १३.७ सेकेन्ड समय खर्चिँदै स्वर्ण जिते । यो स्पर्धामा लुम्बिनीका अरविन्द्रकुमार यादव दोस्रो र कर्णालीका अनिल शाही तेस्रो बने ।

छात्रातर्फको सोही स्पर्धामा सुदूरपश्चिमकी अस्मिता धानुकले ५ मिनेट १३.९ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान सुरक्षित गरिन् भने लुम्बिनीकी अञ्जुली मल्ल दोस्रो र बागमतीकी शर्मिला विक तेस्रो स्थानमा रहे ।

सटपुट खेलको छात्रतर्फ बागमतीका महेन्द्र केसीले १३.४० मिटर थ्रो गर्दै प्रथम स्थान हासिल गरे । लुम्बिनीका राजन भण्डारी द्वितीय र कर्णालीका अनन्त विक तृतीय भए। 

सोही स्पर्धाको छात्रातर्फ सुदूरपश्चिमकी पूजा साउदले ९.६० मिटर थ्रो गर्दै पहिलो स्थान हात पारिन् । बागमतीकी मनमाया थिङ दोस्रो र अप्सरा श्रेष्ठ तेस्रो भए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप