बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
सारांश
- केही वर्षयता नाटक हेर्ने दर्शकको संख्या बढेको छ र फिल्मका स्थापित कलाकारहरू पनि नाटकतिर आकर्षित भइरहेका छन् ।
- काठमाडौँका तीन नाटकघरहरूमा 'लुसिफर राइजिङ', 'महाभारत' र 'अछेता' मञ्चन भइरहेका छन्, जसले राजनीतिक, पौराणिक र सामाजिक विषयवस्तुलाई समेटेका छन् ।
- दर्शकको संख्या बढे पनि नाटकबाटै सहजै गुजारा चलाउने अवस्था भने अझै बन्न नसकेको टिप्पणी गरिएको छ ।
काठमाडौँ । केही वर्षयता नाटक हेर्ने दर्शकको संख्या लोभलाग्दो हिसाबले बढेको छ । दर्शकको प्रत्यक्ष प्रतिक्रिया जान्न पाइने भएकाले फिल्मका स्थापित कलाकारहरू पनि नाटकतिर आकर्षित भइरहेको पाइन्छ । अहिले काठमाडौँका नाटकघर (थिएटर)हरूमा तीन नाटक मञ्चन भइरहेका छन्- ‘लुसिफर राइजिङ’, ‘महाभारत’ र ‘अछेता’ । यी नाटकले राजनीतिक तथा वैचारिक बहस, पौराणिक कथाको आधुनिक प्रस्तुति र दूरदराजको सामाजिक विभेदका कथा प्रस्तुत गर्छन् ।
‘लुसिफर राइजिङ’ थापागाउँस्थित एक थिएटर, ‘महाभारत’ गैरीधारास्थित कान्तिपुर थिएटर र ‘अछेता’ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेका छन् ।
केही समयअघि विवादमा कारण मञ्चन रोकिएको नाटक ‘लुसिफर राइजिङ’ मंगलबारबाट पुनः दर्शकमाझ फर्किएको छ । निर्माण संस्था मझुवा बगर जनकला मञ्च र एक थिएटर नेपालबिच नयाँ सहमति भएपछि यसको पुनः मञ्चन सुरु भएको हो ।
यसअघि जेठ १ गतेदेखि मञ्चनमा आएको यो नाटक जेठ ११ गते अचानक रोकिएको थियो । नाटकका लेखक तथा निर्देशक सहलेशले धम्की आएको भन्दै रोकेको नाटक एक थिएटर र निर्माण संस्था मझुवा बगर जनकला मञ्चबिचको छलफलपछि फेरि सुरु गरिएको हो । निर्माता संस्था मझुवा बगर जनकला मञ्चले लेखक तथा निर्देशक सहलेशलाई ‘सरकारविरूद्ध अफवाह फैलाएको’ र ‘सम्पूर्ण नाट्य समुदायको अपमान गरेको’ आरोपसहित नाटकबाट बर्खास्त गर्दै मञ्चन सुरु गरेको हो ।
‘लुसिफर राइजिङ’ले जेनजी आन्दोलन र त्यसको भोलिपल्ट उत्पन्न हुने परिस्थितिलाई चित्रण गर्छ । भदौ २४ को एक अशान्त रातको पृष्ठभूमिमा बुनिएको यो नाटकले व्यवस्था भत्किएको, सहर जलिरहेको र मानिसहरू भयभित अवस्थामा बाँचेको परिवेश देखाउँछ । यस्तो कठिन परिस्थितिमा पनि सुकुमबासी बस्तीको एउटा सानो छाप्रोभित्र आफ्नो सपना र भविष्य जोगाउन संघर्ष गरिरहेकी एक युवतीको कथालाई नाटकले विषयवस्तु बनाएको छ ।
नाटकमा तारा, अनोज पाण्डे, बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुव्रतराज सिलवाल र एडन बात्रीको अभिनय छ । यो नाटक जेठ ३० गतेसम्म नियमित मञ्चनमा रहनेछ ।
अर्को नाटक ‘महाभारत’ले राजनीतिक र सामाजिक विद्रोहका साथै पौराणिक दर्शन समेत प्रस्तुत गर्छ । गत १४ गतेदेखि मञ्चनमा रहेको नाटक कान्तिपुर फिल्म एकेडेमीले क्लासिक पौराणिक कथालाई आधुनिक रङ्गमञ्चीय शैलीमा प्रस्तुत गरेको छ ।
वरिष्ठ अभिनेता रमेश बुढाथोकी, चर्चित हास्य कलाकार मनोज गजुरेल, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतीक चौधरी र सुप्रज्ञा शर्माले नाटकमा अभिनय गरेका छन् । कुलदीप कुनालको लेखन र प्रकाश दाहालको अनुवाद रहेको नाटक हेर्नेहरुले उत्कृष्ट भन्दै सामाजिक सञ्जालमा निकै प्रशंसा गरिरहेको देखिन्छ । रमेश पुरी नाटकका निर्माता हुन् ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘अछेता’ले कर्णालीको सुदूर कुनाको माटो र त्यहाँको कारुणिक यथार्थलाई प्रस्तुत गर्छ । कला घरको प्रस्तुति र गोविन्द सुनारको लेखन तथा निर्देशन रहेको नाटकले नेपाली समाजमा जरा गाडेर बसेको जात व्यवस्था, धार्मिक उत्पीडन, अन्धविश्वास र राज्यको चरम उदासीनतालाई उजागर गर्छ ।
नाटकको मुख्य पात्र दल कामी हो, जो जातले दलित, पेसाले शिल्पकार हो । ऊ धामीको काम पनि गर्छ । उसले आफ्नै हातले मन्दिरका लागि देवताको सुन्दर मूर्ति कुँद्छ, तर विडम्बना उसैलाई त्यही मन्दिरभित्र प्रवेश गर्ने अनुमति हुँदैन । कला र आस्थाको खोजीमा बाँचेको दलको जीवनमा तब बज्रपात पर्छ, जब उसको नवजात शिशु गम्भीर बिरामी पर्छ । विकट गाउँमा न त उपचारको राम्रो व्यवस्था छ, न राज्यको कुनै उपस्थिति नै । ‘अछेता’ एउटा पात्र वा परिवारको पीडा मात्र होइन, वर्षौँदेखि बहिष्करण र असमानताको भार बोकिरहेको सिङ्गो समुदायको सामूहिक आवाज हो ।

जेठ २५ गतेसम्म मञ्चन हुने नाटकमा झकेन बिसी, सुस्मिता कुँवर, सुवास खत्री, केशव रोकाया, दीपेश खत्री, दानराज न्यौपाने, जुनमाया परियार, गोमा खत्री, आरती बूढा, अप्सरा केसी, जमुना शाही, कल्पना मल्ल र शिवानी परियारको अभिनय छ ।
बढ्दो छ दर्शकको संख्या
तीनवटै नाटकमा दर्शकको उल्लेख्य संख्या देखिन्छ । कान्तिपुर थिएटरका सीईओ प्रकाश पुरी रंगमञ्चमा दर्शक छैन भन्ने भाष्यलाई चिरिरहेको बताउँछन् । पहिले नाटक सुरु हुनुभन्दा ठीकअघि भौतिक रूपमै टिकट काउन्टरमा भिड लाग्ने चलनलाई परिवर्तन गर्दै उनले अनलाइन बुकिङको संस्कृति विकास गरेका छन् ।
‘पहिले–पहिले नाटक सुरु हुनुअघि बेलुकी ५ बजेतिर सिधै नाटकघरमै आएर टिकट लिने चलन बढी थियो’, पुरी भन्छन्, ‘तर अहिले परिस्थिति केही फेरिएको छ । बुधबार नै शनिबारसम्मका शोहरूको अधिकांश टिकट अनलाइनमै बुकिङ भइसकेको हुन्छ ।’ उनका अनुसार नेपाली फिल्म र साहित्यलाई रंगमञ्चसँग जोड्ने प्रयासले नाटकमा दर्शक बढिरहेका छन् । ‘महाभारत’ नाटकमा पनि सुरूवाती दिनदेखि नै दर्शक भरिभराउ रहेको पुरी बताउँछन् ।
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटकमा पनि दर्शकको उपस्थिति सन्तोषजनक र विगतको तुलनामा सुधारोन्मुख देखिन्छ । शिल्पी थिएटरका कुमार आलेका अनुसार अहिले नाटकघरहरूमा दर्शक बढेका छन् । दर्शकमा नयाँ र पुराना दुवै वर्गका दर्शकको सम्मिश्रण पाउन सकिन्छ ।
‘हाम्रो हलको कुल सिट क्षमता १६० को रहेको छ, जसमा हालका शोहरूमा औसत रूपमा १०० भन्दा बढी दर्शकहरू नियमित रूपमा उपस्थित भइरहनुभएको छ,’ आले भन्छन् । नाटक हेर्न नयाँ दर्शक भित्रिरहेको र नियमित दर्शकहरूको उपस्थितिले थिएटरमा सुखद् वातावरण सिर्जना गरेको आलेको बुझाइ छ ।
अर्कोतर्फ, नाटक ‘लुसिफर राइजिङ’का म्यानेजमेन्ट हेरिरहेका प्रकाश दाहाल दर्शक मध्यम रहेको बताउँछन् । ‘थिएटरमा दर्शक हुनुहुन्छ’, दाहाल भन्छन् ‘पहिले भन्दा दर्शक बढेका छन् । तर नाटक देखाएरै वा थिएटर गरेरै मात्र सहज रूपमा गुजारा चल्न सक्ने वातावरण भने बनेको छैन ।’
मण्डलामा अब ‘लाहुरी भैंसी’
थापागाउँस्थित मण्डला थिएटरमा अब नाटक ‘लाहुरी भैंसी’ मञ्चन हुँदैछ । नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको यो २२ शुक्रबारबाट गतेदेखि मञ्चन हुन लागेको हो । प्रसिद्ध कथाकार रमेश विकलको चर्चित कथामा आधारित यस नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका छन् भने निर्देशक अनुप न्यौपाने हुन् ।
एजे बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा नाटकले ग्रामीण परिवेशमा बस्ने लुखुरे, घैंटी र पोडेको परिवारले भैंसी किनेर जीवन सुधार्ने सपना देख्दा भोग्नुपर्ने सामाजिक, आर्थिक तथा वर्गीय विभेदका चुनौतीहरूलाई प्रस्तुत गरेको छ । नाटक असार ७ गतेसम्म मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण