शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?

शुक्रबार, २२ जेठ २०८३, १४ : ५२
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • सिरहा प्रहरीले यस वर्षको एसईई, कक्षा ११ र १२ को परीक्षामा परीक्षार्थीहरूबाट बरामद गरिएका ४९६ थान मोबाइल र ५ वटा स्मार्ट वाच नष्ट गरेको छ।
  • परीक्षामा चिट चोर्ने उद्देश्यले प्रयोग गरिएका यी सामग्रीहरूलाई फलामको ड्रममा पानीमा डुबाएर काम नलाग्ने बनाइएको हो।
  • प्रहरी उपरीक्षक बासु पाठकका अनुसार मधेस प्रदेश परीक्षा सञ्चालन समिति र जिल्ला परीक्षा समितिको नीतिगत निर्णयपछि सामग्री नष्ट गरिएको हो।

काठमाडौँ । सिरहामा यस वर्षको एसईई, कक्षा ११ र १२ को परीक्षाका क्रममा परीक्षार्थीहरूबाट नियन्त्रणमा लिइएका मोबाइल र स्मार्ट वाच प्रहरीले नष्ट गरेको छ। 

प्रहरी कर्मचारीहरूले फलामको ड्रममा पानी भरेर त्यसमा मोबाइल डुबाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले निकै चर्चा पाएको छ। जनताको निजी सम्पत्ति यसरी नष्ट गरिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीको कदममाथि प्रश्न समेत उठाएका छन्।

परीक्षामा चिट चोर्ने उद्देश्यले विद्यार्थीहरूले परीक्षा हलभित्र लगेका मोबाइलहरू परीक्षा केन्द्रमा खटिएका टोलीले बरामद गरी प्रहरीलाई बुझाएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहा परिसरमा जम्मा ४९६ थान मोबाइल र ५ वटा स्मार्ट वाच पानीमा डुबाएर पूर्ण रूपमा काम नलाग्ने बनाइएको हो। यसरी नष्ट गरिएका मोबाइल र घडीको बजार मूल्य करिब १ करोड रुपैयाँ बराबर हुने अनुमान गरिएको छ।

मोबाइल नष्ट गर्नुअघि मधेस प्रदेश परीक्षा सञ्चालन समिति र जिल्ला परीक्षा समितिले नीतिगत निर्णय गरेको सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासु पाठकले जानकारी दिए। मधेस प्रदेश परीक्षा सञ्चालन समितिकी अध्यक्ष प्रदेश शिक्षामन्त्री रानी शर्मा हुन्। 

उनकै अध्यक्षतामा बसेको बैठकले परीक्षामा जफत गरिएका मोबाइलहरू नष्ट गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा जिल्ला परीक्षा समितिले पनि मोबाइल नष्ट गर्ने निर्णय गरेपछि उपसमिति गठन गरेर उक्त सामग्रीहरू नष्ट गरिएको एसपी पाठकले बताए।

जफत गरिएका मोबाइलका सम्बन्धमा आफूहरूसँग तीन वटा विकल्प रहेको एसपी पाठकले स्पष्ट पारे। उनले भने, ‘नष्ट गर्ने, लिलाम गर्ने र जरिवाना तिराएर फिर्ता गर्ने ३ वटा विकल्प थियो ।’ 

तर अन्य दुई वटा विकल्प अपनाउन स्पष्ट कानुनी आधार नभएकाले प्रदेशको निर्णयलाई नै आधार मानेर नष्ट गरिएको उनले दाबी गरे। ‘लिलाम गर्दा व्यक्तिका प्राइभेट र गोपनीयताको विषय बाहिर आउने अवस्था हुन्थ्यो,’ पाठकले थपे। परीक्षामा चिट चोर्ने तथा अमर्यादित गतिविधि गर्ने विगतको प्रवृत्तिलाई दुरुत्साहित गर्न र विद्यार्थीमा चेतना जगाउन पनि यस्तो कडा निर्णय लिनुपरेको प्रहरीको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप