शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’

शनिबार, २३ जेठ २०८३, १६ : २९
शनिबार, २३ जेठ २०८३

सारांश

  • कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार जन्तर मन्तरमा गरेको प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
  • प्रदर्शनकारीहरूले परीक्षा र भर्ती प्रक्रियामा भएको अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका थिए ।
  • सीजेपीका संस्थापक अभिजीत दिप्केले सरकारले सामाजिक सञ्जाल एकाउन्ट ह्याक गरेको र पोस्टहरू हटाएको आरोप लगाएका छन् ।

नयाँ दिल्ली । कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार जन्तर मन्तरमा आयोजना गरेको प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार आन्दोलनका समर्थक र विरोधी समूहबीच तनाव उत्पन्न हुन सक्ने सूचनापछि सावधानीस्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

सीजेपीका संस्थापक अभिजीत दिप्केको नेतृत्वमा भएको प्रदर्शनमा सयौँ विद्यार्थी र युवाहरु सहभागी भएका थिए । प्रदर्शनकारीहरूले विभिन्न परीक्षा तथा भर्ती प्रक्रियामा भएको भनिएको अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा राखिएको र कुनै अप्रिय घटना नभएको प्रहरीले बताएको छ ।
प्रदर्शनमा सहभागी धेरै युवाले कक्रोचको मखुण्डो लगाएका थिए भने केहीले फूल बोकेका थिए । विद्यालयका विद्यार्थीहरू पनि अभिभावकसँग प्रदर्शनमा सहभागी भएका थिए ।
यसैबीच, दिप्केले सरकारमाथि आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सामाजिक सञ्जाल गतिविधिमाथि ध्यान केन्द्रित गरेको आरोप लगाए । उनले आफ्नो सम्बोधनका क्रममा सीजेपीका सामाजिक सञ्जाल एकाउन्टहरू ह्याक गरिएको र पोस्टहरू हटाइएको दाबी गरे ।
‘तपाईंहरूले हाम्रा पोस्ट हटाउन सक्नुहुन्छ, तर हामीलाई मेटाउन सक्नुहुन्न,’ दिप्केले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै भनेका छन् । 

प्रदर्शनलाई मध्यनजर गर्दै जंतर मंतर र राजधानीका अन्य संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । प्रहरीले प्रदर्शनस्थल वरिपरि ब्यारिकेड राखेर सुरक्षा निगरानी बढाएको छ ।
नीट, सीयूईटी, सीबीएसई तथा एसएससीजस्ता परीक्षा र भर्ती प्रक्रियामा अनियमितता भएको आरोपपछि सीजेपी युवाहरूको अनलाइन अभियान तीब्र बनेको छ । पछिल्लो एक महिनादेखि संगठनले परीक्षा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको माग गर्दै अभियान सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप