बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
२०२६ विश्वकपको भव्य सुरुवात

१६ वर्षपछि विश्वकपको उद्घाटन खेलमा फेरि भिड्दै मेक्सिको र दक्षिण अफ्रिका

बिहीबार, २८ जेठ २०८३, १४ : ००
बिहीबार, २८ जेठ २०८३

सारांश

  • २०२६ फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका १६ वर्षपछि पुनः आमनेसामने हुँदैछन्।
  • यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हो, जसमा ४८ टोलीले अमेरिका, मेक्सिको र क्यानडामा प्रतिस्पर्धा गर्नेछन्।
  • मेक्सिको घरेलु मैदानको फाइदा र पछिल्लो अपराजित लयका कारण बलियो देखिए पनि दक्षिण अफ्रिकाले अप्रत्याशित नतिजा निकाल्ने दाबी गरेको छ।

काठमाडौँ । अफ्रिकी भूमिमा आयोजना भएको पहिलो फिफा विश्वकप अर्थात् सन् २०१० को विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र मेक्सिको भिडेका थिए। उक्त खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

शुक्रबार बिहान यी दुई टोली पुनः सोही चरणमा आमनेसामने हुँदैछन्। यसपटक बहुप्रतीक्षित २०२६ फिफा विश्वकप उत्तर अमेरिकामा सुरु हुँदै गर्दा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको स्वागत गर्दैछ।

प्रतिष्ठित एस्टाडियो एज्टेका रंगशालामा ८० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। यसले उद्घाटन खेललाई एक अद्भुत दृश्य बनाउने निश्चित छ।

  • अहिलेसम्मकै ठुलो विश्वकपको सुरुवात

मेक्सिको सिटीमा बिहीबार हुने खेलसँगै ३९ दिन लामो प्रतियोगिता सुरु हुनेछ। यसमा कुल १०४ खेल हुनेछन्। यो कतारमा भएको २०२२ को अघिल्लो संस्करणभन्दा ४० वटा बढी हो।

४८ वटा टोलीको सहभागिता रहने २०२६ को विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हो। यो तीनवटा देशहरू अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुने पहिलो विश्वकप पनि हो।

खेल सुरु हुनुभन्दा ठीक ९० मिनेट अगाडि उद्घाटन समारोह हुनेछ। यसमा चार पटककी ग्रामी अवार्ड विजेता सुपरस्टार साकिराको मुख्य प्रस्तुति रहनेछ। साथै, कोलम्बियाका गायक जे बाल्भिन र दक्षिण अफ्रिकी गायिका तथा गीतकार टायलाले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

  • सह-आयोजक मेक्सिकोलाई घरेलु मैदानको दबाब

फुटबलप्रेमी राष्ट्र मेक्सिकोका लागि विश्वकप नौलो विषय होइन। मेक्सिकन टोली आफ्नो १७औँ विश्वकप खेल्ने तयारीमा छ।

mexico

प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्नु आफैँमा ठूलो कुरा हो। यसलाई अझ विशेष बनाउन विशाल एस्टाडियो एज्टेका रंगशाला तयार छ। यो रंगशाला तीनवटा फिफा विश्वकपको उद्घाटन खेल (१९६०, १९८६ र २०२६) आयोजना गर्ने इतिहासकै पहिलो रंगशाला बन्दैछ।

घरेलु मैदानको फाइदा र फिफा वरीयतामा माथि रहेका कारण यस खेलमा मेक्सिकोको सम्भावना बलियो मानिएको छ। तर ८० हजारभन्दा बढी दर्शकको अपेक्षा पूरा गर्दै विजयी सुरुवात गर्नुपर्ने दबाबमा सह-आयोजक रहनेछ।

मेक्सिको आफ्ना पछिल्ला आठ खेलमा अपराजित छ। विश्वकपमा प्रवेश गर्नुअघि उनीहरूको यो सबैभन्दा लामो अपराजित यात्राको बराबरी हो। यसले प्रतियोगिता अघि जाभियर अगुइरेको टोलीलाई थप हौसला प्रदान गरेको छ।

  • दक्षिण अफ्रिकालाई कमजोर नआँकौँ

फिफा वरीयतामा ६०औँ स्थानमा रहेको दक्षिण अफ्रिका १४औँ स्थानको मेक्सिकोभन्दा निकै तल छ। तर दक्षिण अफ्रिकी टोलीका प्रशिक्षक ह्युगो ब्रुस आफ्नो टोलीले अप्रत्याशित नतिजा निकाल्न सक्नेमा विश्वस्त छन्।

विश्वकपमा नियमित जस्तै देखिने मेक्सिकोको विपरीत, दक्षिण अफ्रिका १६ वर्षको अनुपस्थिति पछि विश्व मञ्चमा फर्किएको छ। यो उनीहरूको चौथो विश्वकप सहभागिता मात्र हुनेछ।

उद्घाटन खेलअघि पत्रकारहरूसँग कुरा गर्दै ब्रुसले भने, ‘हाम्रा लागि यो एउटा उत्कृष्ट अनुभव हुनेछ।’

south-africa

उनले थपे, ‘हामी आफ्नो खेल योजनामा अडिग रहन र प्यारापिटमा के भइरहेको छ भनेर ध्यान नदिनु धेरै महत्त्वपूर्ण छ।’

भिसा समस्याका कारण भ्रमण टोलीका केही सदस्यहरू ढिलो आइपुग्दा दक्षिण अफ्रिकाको तयारीमा बाधा पुगेको थियो। यसले गर्दा उनीहरूले मध्य मेक्सिकोको वातावरणसँग घुलमिल हुन आवश्यक महत्त्वपूर्ण समय गुमाए।

यद्यपि, ब्रुसको टोली कठिन छनोट चरण पार गर्दै यहाँसम्म आइपुगेको हो। उनीहरूले आयोजकलाई फेरि एकपटक निराश पार्ने आशा राखेका छन्।

  • विश्वकपको समूह चरण कसरी अघि बढ्छ?

समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, चेकिया र दक्षिण कोरिया रहेका छन्।

१२ वटै समूहबाट शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली अर्को चरणमा प्रवेश गर्नेछन्। विश्वकपमा पहिलो पटक राउन्ड अफ ३२ लागू गरिएको हो।

  • दक्षिण अफ्रिकाविरुद्ध ‘हेड-टु-हेड’मा मेक्सिको अगाडि

बिहीबारको खेल यी दुई टोलीबिचको पाँचौँ भेट मात्र हुनेछ। यसअघिका भेटमा मेक्सिकोले दुई पटक र दक्षिण अफ्रिकाले एक पटक जित हात पारेका छन्। एउटा खेल बराबरीमा टुंगिएको थियो।

उनीहरूको पछिल्लो भेट सन् २०१० को विश्वकपको उद्घाटन खेलमा भएको थियो। जोहानेसबर्गमा ८४ हजार ४९० दर्शकमाझ सिफिवे साबालालाले गरेको सानदार सुरुवाती गोललाई राफेल मार्क्वेजको बराबरी गोलले सन्तुलनमा ल्याएपछि दुवै टोली १-१ को बराबरीमा रोकिएका थिए।

पछिल्ला पाँच खेलको नतिजा

  • मेक्सिको: जित-जित-जित-बराबरी-बराबरी
  • दक्षिण अफ्रिका: बराबरी-बराबरी-हार-बराबरी-हार

मेक्सिको विश्वकप खेल्ने टोलीहरू घाना र अष्ट्रेलियाका साथै सर्बियाविरुद्ध लगातार तीन मैत्रीपूर्ण खेल जितेर उद्घाटन खेलमा प्रवेश गर्दैछ।

तर प्रतियोगिता अघिको तयारीमा आफ्नो प्रदर्शनबाट दक्षिण अफ्रिका निराश छ। उनीहरू आफ्ना पछिल्ला तीन मैत्रीपूर्ण खेलमा जितविहीन बनेका छन्। दक्षिण अफ्रिकाले जमैका र निकारागुवासँग बराबरी खेलेको थियो भने पानामासँग हार बेहोरेको थियो।

कसले के भने ?

Javier-Aguirre

‘घरेलु मैदानमा विश्वकप खेल्नुभन्दा ठूलो रोमान्च मैले मेरो ५० वर्षको फुटबल करियरमा महसुस गरेको छैन। मैले धेरै कुरा भोगेको छु, तर यो अविस्मरणीय छ। मैले केटाहरूलाई पनि यही कुरा भनेको छु। मैले उनीहरूलाई बुझाउन सकेको जस्तो लाग्छ। उनीहरू सहज महसुस गरिरहेका छन्। यो धेरै शक्तिशाली कुरा हो। उनीहरू एउटा परिवार जस्तै सँगै हुर्किएका छन् र यसलाई खुलेर व्यक्त गर्छन्।’ 

- जाभियर अगुइरे, मेक्सिकोका प्रशिक्षक

‘समूहमा मेक्सिको सबैभन्दा बलियो टोली हो। त्यसैले भोलिको खेल हाम्रा लागि निकै कठिन हुनेछ। म तपाईँलाई विश्वास दिलाउन सक्छु, मेरो टोली तयार छ। हामी पूरै ९० मिनेट हरेक मिटर र हरेक बलका लागि लड्नेछौँ। त्यसपछि के हुन्छ, हामी हेर्नेछौँ।’ 

- ह्युगो ब्रुस, दक्षिण अफ्रिकाका प्रशिक्षक

‘पक्कै पनि, अपेक्षाहरू धेरै उच्च छन्। यो एक अद्भुत वातावरणसहितको उत्कृष्ट खेल हुनेछ। एउटा टोलीको रूपमा हामी यो खेलको पर्खाइमा छौँ र उत्साहित छौँ। यो खेलले हाम्रो देशका सबै मानिसका लागि कति अर्थ राख्छ भन्ने हामीलाई थाहा छ।’ - टेबोहो मोकोएना, दक्षिण अफ्रिकाका मिडफिल्डर

मेक्सिकोको सम्भावित सुरुवाती ११

  • राउल रेन्जेल, जेसस गालार्डो, जोहान भास्क्वेज, सिजर मोन्टेस, इजरायल रेयेस, ब्रायन गुटिरेज, एरिक लिरा, अल्भारो फिडालगो, जुलियन क्विनोन्स, रोबर्टो अल्भाराडो, राउल जिमेनेज।

दक्षिण अफ्रिकाको सम्भावित सुरुवाती ११

  • रोनवेन विलियम्स, खुलिसो मुदाउ, इमे ओकोन, एम्बेकेजेली एम्बोकाजी, ओब्री मोडिबा, टेबोहो मोकोएना, स्फेफेलो सिथोले, थालेन्टे एम्बाथा, त्सेपाङ मोरेमी, लायल फोस्टर, ओस्विन अपोलिस।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप