एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
कास्की । अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गको स्तरोन्नति सुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै पदयात्रालाई सहज बनाउने उद्देश्यले उक्त मार्गलाई थप सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन थालिएको हो ।
अन्नपूर्ण क्षेत्रलाई अन्तरराष्ट्रिस्तरको सुरक्षित र आकर्षक पदयात्राको गन्तव्यका रूपमा विकास गर्नेगरी कास्कीको घान्द्रुक देउरालीबाट माछापुच्छ्रे आधार शिविर (एमबिसी) सम्मको पदमार्ग स्तरोन्नति तथा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
हिमपात, पहिरो, वर्षा तथा चट्टान खस्ने जोखिमका कारण संवेदनशील मानिने देउराली–एबीसी खण्डमा ढुङ्गे सिँढी निर्माण, पदमार्ग चौडा बनाउने, जोखिमयुक्त स्थानमा सुरक्षात्मक संरचना निर्माण तथा आवश्यक पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्षमा रु ४५ लाख लागतमा काम भइरहेको हो ।
पदमार्ग स्तरोन्नतिपछि हिमाली पर्यटनको प्रमुख गन्तव्य अन्नपूर्ण क्षेत्रको आकर्षणलाई अझ बढाउने अध्यक्ष केसीले विश्वास व्यक्त गरे । “एबीसी ट्रेकिङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । अन्नपूर्णको महत्त्व विश्वभर छ । त्यसैले यस क्षेत्रमा पुग्ने पर्यटकलाई थप सुविधा होस् भनेर पदमार्ग बनाउन लागेका हौँ”, उनले भने ।
समुद्री सतहबाट तीन हजार ५०० मिटरभन्दा माथिको दुर्गम क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारले विशेषगरी अन्नपूर्ण आधार शिविर पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पदमार्ग सुधारपछि पदयात्रा अझ सुरक्षित, सहज र व्यवस्थित बन्ने विश्वास व्यक्त गरे । “देउराली– माछापुच्छ्रे बेसक्याम्प पदमार्ग सुधारले पर्यटकलाई सहज हुनेछ । यसका साथै स्थानीय होटल व्यवसाय, यातायात सेवा, कृषि उत्पादनको बजारीकरण तथा पर्यटनसँग सम्बन्धित आर्थिक गतिविधिमा सहयोग पुग्नेछ”, उनले भने ।
अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे र हिमचुली हिमालका मनमोहक दृश्यले एबिसी नेपालकै सबैभन्दा लोकप्रिय हिमाली पदयात्रामध्ये एकमा पर्दछ । पदमार्ग स्तरोन्नति सम्पन्न भएपछि यात्रुहरूले अझ सुरक्षित, सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।
गाउँपालिकाले आगामी दिनमा अन्य पदमार्ग स्तरोन्नति, विश्रामस्थल तथा सूचना केन्द्र तथा पर्यटन पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण