काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित
सारांश
- आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम राष्ट्रियसभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनि मतका साथ पारित गरेको छ ।
- कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ११ क्षेत्र समेटेर १०१ बुँदामा पेश गरेको नीतिमा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख छ ।
- नगर सभा सदस्यहरूले पूर्वाधार विकास, सामाजिक विकास, विपद् व्यवस्थापन, सहरी व्यवस्थापन लगायतका विषयमा धारणा, सुझाव र संशोधन प्रस्ताव राखेका थिए ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनि मतका साथ पारित भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनि मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो ।
हिजो अर्थात जेठ ३१ गते बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले, महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी थिइन् ।
उनले पेश गरेको नीतिमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ ।
यो नीतिमा छलफल गर्दै आज नगर सभा सदस्यहरू आशामान सङ्गत, सुमन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रोजिना श्रेष्ठ, हीरादेवी पोखरेल, रुपा थापा क्षेत्री, सन्तोष ढुङ्गेल, आशा श्रेष्ठ रौनियार, टेकराज अधिकारी, नवीन मैनाली, हर्कबहादुर खाती, रत्नाकर बज्राचार्य, हरिबहादुर बस्नेत, सरु अधिकारी, रामबाबु कोइराला, महेश नेपाली, सृष्टि कंसकार र भगवान बुढाथोकीले सुझाव र संशोधन प्रस्ताव राखेका थिए ।
उनीहरूले पूर्वाधार विकास, सामाजिक विकास, विपद् व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली व्यवस्थापन, मानव तथा पशु कल्याण, तरल फोहर व्यवस्थापन प्रणालीको विकास, तीनकुने जग्गाको मुआब्जाको कार्यान्वयन, उपयोगका आधारमा भवनहरूको वर्गीकरण, समुदाय लक्षित कार्यक्रमहरूको सङ्ख्यात्मक वृद्धि, सहरी आचरण, सुकुमबासी तथा भूमिहीन व्यवस्थापन, भवनको अभिलेखन नियमित गर्नुपर्ने, डुबान समाधान, पार्किङ समाधान, कालोपत्रे सडकमा पार्किङ नीति, मूर्त अमूर्त सांस्कृतिक सम्पदा बचावटका थप प्रयास, प्राचीन बस्तीका घरहरूको मोहडालाई परम्परागत बनाउने कार्यक्रमको निरन्तरता लगायत विषयमा धारणा राखेका थिए ।
उनीहरूले राखेका धारणा, सुझाव र संशोधन प्रस्तावले महानगरपालिकाको आर्थिक तथा विनियोजन विधेयक तर्जुमा गर्न आधार हुने बताउँदै सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डङ्गोलले, सभामा राखिएका प्रस्तावहरूलाई कारणका आधारमा संशोधन गरिने प्रस्ताव राखेकी थिइन् । उनको प्रस्तावमा सबै सभा सदस्यहरूले हुन्छ भन्ने मत दिएका थिए । ‘मत दिन्न‘ र ‘तटस्थ बस्छु’ भन्नेमा कुनै पनि आवाज आएन ।
यस वर्षको नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित क्षेत्र समेटिएका छन् ।
आज पारित भएको नीतिका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ । यसरी तर्जुमा गरिने बजेट तथा कार्यक्रम नगर सभाको तेस्रो बैठकमा पेश हुनेछ । यसका लागि असार ४ गते दिउँसो ३ बजेका लागि समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार मेलामार्फत १६४ लाई रोजगारी
-
‘बजेटको कार्यान्वयन गर्न स्रोत सुनिश्चित हुनुपर्छ’
-
गर्मीबढेसँगै सर्पदंशका बिरामीकाे संख्यामा वृद्धि
-
अपराजित यात्रा कायाम राख्ने दाउमा बेल्जियम, सलाहको इजिप्टसँग कस्तो छ हेड-टु-हेड?
-
छिन्नमस्ता गाउँपालिकाबाटै कर सेवा सुरु, अब प्यान र कर चुक्ताका लागि राजविराज जानु नपर्ने
-
नेपालको पर्यटकीय सम्भावनाबारे हङकङमा प्रचारप्रसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण