व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
सारांश
- एमाले सांसद गुरुप्रसाद बरालले सरकारको कार्यशैली, सीमा विवाद र बजेटमा करका दर हेरफेरको आलोचना गरेका छन्।
- सांसद बरालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले निर्माण व्यवसायीलाई खुट्टा भाँचिदिने भनी दिएको अभिव्यक्ति लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताए।
- उनले सरकारलाई महँगी र शिक्षा क्षेत्रको शुल्क वृद्धि नियन्त्रण गरी सुशासनको दिशामा अगाडि बढ्न आग्रह गरेका छन्।
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारको कार्यशैली, सीमा विवाद र बजेटमा गरिएको करका दर हेरफेरप्रति कडा आलोचना गरेका छन्।
सोमबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश सुशासन र विधिको शासनबाट मात्र अगाडि बढ्न सक्ने बताउँदै वर्तमान सरकार यी महत्त्वपूर्ण विषयहरूमा पूर्ण रूपमा चुकेको आरोप लगाए।
सांसद बरालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिका कारण सुस्ता क्षेत्रमा भारतीय अतिक्रमण सुरु भएको र त्यहाँका नागरिकले राज्यको उपस्थिति नहुँदा पनि आफैँ आफ्नो भूमिको रक्षा गरिरहेको दाबी गरे। परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा एक शब्द पनि नबोलिएकोमा गम्भीर असन्तुष्टि जनाउँदै उनले अहिले भइरहेको चीन भ्रमणका क्रममा भने लिपुलेक, लिम्पियाधुरा र कालापानीको त्रिदेशीय बिन्दुबारे ठोस छलफल हुनुपर्ने माग गरे।
यसैगरी अर्थमन्त्रीले बजेटमार्फत करका दरमा गरेको हेरफेरलाई बरालले अवाञ्छित र केही निश्चित पक्षलाई मात्र लाभ दिने उद्देश्यबाट प्रेरित भएको टिप्पणी गरे। विशेष गरी ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्तालाई ट्याक्सको दायरामा ल्याउनुलाई उनले जनताको भान्सामा गरिएको आक्रमणको संज्ञा दिए।
निर्माण व्यवसायीहरूलाई खुट्टा भाँचिदिने भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको भनिएको अभिव्यक्तिको पनि सांसद बरालले निन्दा गरे। विधिको शासनमा भौतिक आक्रमण र हिंसालाई कुनै स्थान नहुने बताउँदै उनले काम नगर्ने व्यवसायीलाई कानुन बमोजिम दण्ड र जरिवाना गर्नुपर्ने तर शारीरिक हमलाको धम्की दिनु लोकतान्त्रिक मूल्य मान्यता विपरीत हुने उल्लेख गरे।
सरकारले विगतका विभिन्न काण्डहरूको फाइल खोल्ने भनी दिएको चेतावनीप्रति प्रतिक्रिया दिँदै सांसद बरालले नेकपा (एमाले) कुनै पनि छानबिन र अग्नि परीक्षा सामना गर्न सधैँ तयार रहेको स्पष्ट पारे। सुदूरपश्चिमको गोदावरीमा वनरक्षकहरूले एक महिलाको अटो भिरबाट खसालेको भनिएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले यसलाई शक्तिको दम्भको संज्ञा दिए।
यस्ता गतिविधिले गरिब र श्रमजीवी नागरिकमाथि ठूलो अन्याय भएको उनको तर्क थियो। सांसद बरालले सरकारलाई बेलगाम बढ्दै गएको महँगी र शिक्षा क्षेत्रको शुल्क वृद्धि तत्काल नियन्त्रण गरी सुशासनको दिशामा अगाडि बढ्न समेत आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण