बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

निर्वासित रुसी कार्टुनिष्टको पोल्यान्डमा गोली हानी हत्या

बुधबार, ०३ असार २०८३, १२ : १७
बुधबार, ०३ असार २०८३

सारांश

  • पोल्यान्डमा रुसी राष्ट्रपति पुटिनको आलोचना गर्ने निर्वासित कलाकार सेमियोन स्क्रेपेत्स्कीको गोली हानी हत्या गरिएको छ ।
  • घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई बेलारुसी नागरिकलाई पक्राउ गरेको छ ।
  • स्क्रेपेत्स्कीले रुसी शासन र पुटिनको आलोचनात्मक कार्टुन बनाउने गरेका थिए ।

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचनात्मक चित्र तथा व्यङ्ग्यात्मक कार्टुनका लागि परिचित रुसी कलाकार सेमियोन स्क्रेपेत्स्कीको पोल्यान्डमा गोली हानी हत्या गरिएको छ । पोलिस अभियोजन पक्षले मंगलबार यस घटनामा संलग्न रहेको आशंकामा दुई बेलारुसी नागरिकलाई पक्राउ गरिएको जनाएको छ । 

४४ वर्षीय स्क्रेपेत्स्कीसोमबार बिहान पोल्यान्डको बियाला पोडलास्का सहरस्थित आफ्नै घर नजिकको पार्किङ क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए । उक्त सहर बेलारुस सीमाको नजिक पर्छ । स्क्रेपेत्स्कीको वास्तविक नाम रोबर्ट कुजोभकोभ थियो ।

अभियोजन पक्षका प्रवक्ता मार्सिन कोजाकका अनुसार एक अज्ञात व्यक्ति स्क्रेपेत्स्कीनजिक पुगेर ह्यान्डगनबाट दुई राउन्ड गोली चलाएका थिए । भुईँमा ढलेपछि आक्रमणकारीले उनीमाथि थप तीन गोली प्रहार गरी घटनास्थलबाट फरार भए । टाउको र छातीमा गोली लागेका स्क्रेपेत्स्कीको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि प्रहरीले व्यापक खोजी अभियान सञ्चालन गर्दै बेलारुसका ३७ र ३३ वर्षीय दुई नागरिकलाई बियाला पोडलास्का स्थित बेलारूसी वाणिज्य दूतावासनजिकबाट पक्राउ गरेको जनाएको छ । उनीहरूको भूमिकाबारे अनुसन्धान जारी छ । स्क्रेपेत्स्की सन २०२१ देखि पोल्यान्डमा बस्दै आएका थिए । 

राजनीतिक गतिविधिका कारण आफू पक्राउ पर्ने डरले उनले रुस छाडेका थिए । उनका चित्रकला तथा कार्टुनहरूमा पुटिन र रुसी शासनप्रति कडा आलोचना देखिन्थ्यो । उनले कहिलेकाहीँ रुसी अर्थाेडक्स धार्मिक चित्रकलाको शैलीमा पुटिनलाई गाईजस्तो नाक भएको वा सुँगुरलाई अँगालो हालिरहेको रूपमा चित्रण गर्थे ।

उनका चित्रहरूमा पुटिनसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सि जिनपिङ, चेचेन नेता रमजान कादिरोभ, सोभियत नेता जोसेफ स्टालिन र एलन मस्कलगायत विश्वका प्रभावशाली व्यक्तिहरू पनि देखिन्थे । स्क्रेपेत्स्की पुटिनका कडा आलोचक मात्र नभई रुसी विपक्षी राजनीतिका केही पक्षप्रति पनि आलोचनात्मक थिए । उनले दिवङ्गत विपक्षी नेता एलेक्सी नभाल्नीलाई रुसी विपक्षलाई कमजोर बनाएको आरोप पनि लगाएका थिए ।

सन २०२२ मा रूसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि उनले सार्वजनिक रूपमा आफ्नो रुसी राहदानी जलाएका थिए । त्यसबेला उनी युक्रेन समर्थकका रूपमा चिनिएका थिए । तर पछिल्ला वर्षहरूमा उनले युक्रेनी नेतृत्वको पनि आलोचना गर्न थालेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप