बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सभामुखले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन : यादव

बुधबार, ०३ असार २०८३, १४ : ३६
बुधबार, ०३ असार २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भूमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसद्को गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन्। 

उनले सभामुखको निष्पक्षतामाथि नै प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाए। सदनको साझा अभिभावकका रूपमा सबै दल र सांसदहरूलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भूमिका निकै संकुचित देखिएको उनको तर्क थियो।

सभामुखको कार्यशैली र प्रधानमन्त्रीको गैरजिम्मेवार बानीप्रति आक्रोश पोख्दै उनले प्रश्न गरे, ‘सभामुख महोदय, यहाँले सदनको अभिभावकका रूपमा यसको सम्मान बढाउनुपर्ने हो । के यहाँले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन ? प्रधानमन्त्रीज्यूले सीमाका बारेमा जुन अभिव्यक्ति दिनुभयो, त्यसले देश भित्र मात्र नभई बाहिर पनि अनेकौँ प्रश्न जन्माएको छ । छिमेकी मुलुकसँगको वर्षौँदेखिको सुमधुर सम्बन्धमा यसले नकारात्मक असर पारेको छ र हाम्रो राष्ट्रियतामाथि भद्दा मजाक उडाउने ठाउँ दिइएको छ ।’

प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति कडा रूपमा लक्षित गर्दै यादवले यस किसिमको हलुका टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा गम्भीर आँच पुर्‍याएको बताए। राष्ट्रियता र सार्वभौमिकता जस्तो अत्यन्तै संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको विवादित भनाइलाई सत्तारुढ दलका सांसदहरूले संसद्मै ताली बजाएर अन्धसमर्थन गरेकोमा समेत उनले आश्चर्य र गहिरो खेद प्रकट गरे।

सांसद यादवले संसद् ३ करोड नेपाली जनताको आशा, विश्वास र पुर्खाहरूको बलिदानीपूर्ण सङ्घर्षको साझा प्रतीक भएको स्मरण गराए। यस्तो गरिमामय संस्थालाई कमजोर बनाउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिँदै उनले सदनमा प्रतिपक्षले उठाएका जायज आवाजहरूलाई सरकार र नेतृत्वले लगातार बेवास्ता गरिरहेको आरोप लगाए। 

प्रतिपक्षी दलहरूको रचनात्मक आलोचनालाई नसुनिएकै कारण वर्तमान संसदीय अभ्यास दिनानुदिन हास्यास्पद र गैरजिम्मेवार बन्दै गएको टिप्पणी समेत उनले गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप