३ वर्षअघि जंगलमा हराएका पुरुषको नाटकीय उद्धार
सारांश
- इन्डोनेसियाको सुकाबुमी क्षेत्रमा पर्ने माउन्ट सालाकको घना जङ्गलमा तीन वर्षदेखि हराइरहेका एक ४९ वर्षीय पुरुषको नाटकीय रूपमा जीवितै उद्धार गरिएको छ।
- स्थानीय बासिन्दाहरूले उनलाई जङ्गलको एउटा चिसो ढुङ्गामा टोलाइरहेको अवस्थामा फेला पारेका थिए, जसको शारीरिक अवस्था निकै दयनीय थियो।
- प्रविधिमार्फत गरिएको डिजिटल जाँचपछि ती व्यक्तिको पहिचान ४९ वर्षीय अयी सोलेहुद्दिनका रूपमा भएको छ, जो मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए।
जकार्ता । इन्डोनेसियाको सुकाबुमी क्षेत्रमा पर्ने माउन्ट सालाकको घना जङ्गलमा तीन वर्षदेखि हराइरहेका एक ४९ वर्षीय पुरुषको नाटकीय रूपमा जीवितै उद्धार गरिएको छ।
अत्यधिक दुब्लाएर अस्थिपञ्जर मात्र बाँकी रहेका ती पुरुषलाई स्थानीय सञ्चारमाध्यमहरूले निकै नाटकीय र आश्चर्यजनक उद्धारका रूपमा कभरेज गरेका छन्। भारी वर्षापछि नजिकैको नदीको बहाव र अवस्था निरीक्षण गर्न गएका स्थानीय बासिन्दाहरूको एक समूहले उनलाई जङ्गलको एउटा चिसो ढुङ्गामा टोलाइरहेको अवस्थामा फेला पारेका थिए।
उद्धारकर्ताहरूका अनुसार फेला पर्दा ती पुरुषको शारीरिक अवस्था निकै दयनीय र कमजोर थियो। उनी राम्रोसँग बोल्न समेत सकिरहेका थिएनन् भने शरीरमा मासुको नाम निशाना नभई छाला र हड्डी मात्र देखिन्थ्यो। उनी आफैँ आफ्नो खुट्टाले हिँड्न सक्ने अवस्थामा समेत थिएनन् र लामो समयपछि मानिसहरूलाई देख्दा निकै तर्सिएका थिए।
स्थानीय बासिन्दाहरूले उनलाई काठको स्टेचरमा राखेर बोक्दै जङ्गलबाट बाहिर निकालेका थिए। त्यसपछि उनको वास्तविक पहिचान खुलाउनका लागि उप-जिल्ला कार्यालयमा लगेर औँठाछाप र आँखाको नानी स्क्यान गरिएको थियो।

प्रविधिमार्फत गरिएको डिजिटल जाँचपछि ती व्यक्तिको पहिचान ४९ वर्षीय अयी सोलेहुद्दिनका रूपमा भएको छ। उनी चियान्जुर क्षेत्रका बासिन्दा हुन् र उनको परिवारले करिब तीन वर्षअघि नै उनी हराएको भन्दै प्रहरीमा उजुरी दिएको थियो।
पहिचान खुलेपछि उनको परिवारका सदस्यहरूलाई बोलाएर सनाखत गरिएको थियो। परिवारका अनुसार अयी लामो समयदेखि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए र एक दिन माउन्ट सालाकको जङ्गलतर्फ लागेपछि एक्कासि बेपत्ता भएका थिए।
तीन वर्षअघि उनी हराएपछि परिवारका सदस्यहरूले गाउँ वरपरका जङ्गलहरूमा महिनौँसम्म व्यापक खोजी गरेका थिए तर उनी फेला परेका थिएनन्। जङ्गलको कठिन परिस्थितिमा पनि उनी अहिलेसम्म कसरी एक्लै जीवितै रहन सफल भए भन्ने कुराले सबैलाई अचम्मित बनाएको छ। यसबिचमा फरक-फरक क्षेत्रका जङ्गलहरूमा उनलाई देखिएको भन्दै केही पटक सूचनाहरू आएका थिए, तर परिवारका सदस्यहरू त्यहाँ पुग्नु अगावै उनी पुनः घना जङ्गलभित्रै हराउने गर्दथे।
अयी सोलेहुद्दिनले माउन्ट सालाकको यस जङ्गलमा कति समय बिताए भन्ने कुरा ठ्याक्कै यकिन हुन नसके पनि उनको शारीरिक अवस्था हेर्दा उनी लामो समयदेखि खानेकुरा र पानी बिना एक्लै संघर्ष गरिरहेको प्रस्ट हुन्छ। उनी चरम कुपोषण र डिहाइड्रेशनको सिकार भएका छन्।
अयीका दाजुभाइले पत्रकारहरूलाई बताएअनुसार आमाबुबाको मृत्यु भएपछि उनमा मानसिक समस्याहरू देखिन थालेका थिए र उनी एक्लै जङ्गलतिर भौँतारिने गर्दथे। विगतमा केही समयपछि घर फर्कने गरे पनि अन्तिम पटक जङ्गल छिरेपछि उनी तीन वर्षसम्म फर्किएका थिएनन्। हाल उनको अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा विपद्जन्य घटनाबाट एकै महिनामा १० करोडभन्दा बढीको क्षति
-
अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टिना कोचलाई स्पेनको प्रतिष्ठित ‘कन्कर्ड’ पुरस्कार
-
भट्ट र अग्रवाललाई थुनामा पठाउन विशेष अदालतले लिएका चार आधार
-
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै
-
विद्युत् नियमन आयोगको अध्यक्ष पदका अन्तर्वार्ताको तालिका सार्वजनिक
-
अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण