बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बुधबार, ०३ असार २०८३, १७ : १३
बुधबार, ०३ असार २०८३

काठमाडाैँ ।चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ ।

यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ।

लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित भएको देखिएको छ । कम्पनीले यसअघि सन् २०२५ मा कम लागतमा तयार गरिएको च्याटबोटमार्फत विश्वलाई चकित पारेको थियो र त्यसले अमेरिकी प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धी क्षमता देखाएको थियो।

यस वर्ष अप्रिलमा कम्पनीले आफ्नो नयाँ एआई मोडेल सार्वजनिक गरेको थियो। वाल स्ट्रिट जर्नल र ‘द इन्फर्मेसन’ का अनुसार कम्पनीले पछिल्लो चरणमा ५० अर्ब युआन (करिब सात अर्ब ४० करोड डलर) भन्दा बढी पूँजी जुटाएको छ । सो फन्डिङ राउन्डले कम्पनीको मूल्याङ्कन ५० अर्ब डलरभन्दा माथि पुर्‍याएएको बताइएको छ। डिपसिकले भने यस विषयमा टिप्पणी गर्न एएफपीको अनुरोधको जवाफ दिएको छैन।

एआई उद्योगमा अत्याधुनिक मोडेलहरूको विकास र सञ्चालन अत्यन्त खर्चिलो मानिन्छ । यसका लागि विशाल कम्प्युटिङ पूर्वाधारमा अर्बौं डलर लगानी आवश्यक पर्छ । तथापि, विश्वका प्रमुख एआई कम्पनीहरू अझै नाफामा पुग्न नसकेका र भविष्यमा व्यावसायिक मोडेल स्पष्ट बनाउन सङ्घर्षरत रहेको विश्लेषण गरिएको छ।

यसैबिच वासिङ्टनले डिपसिकको नयाँ एआई मोडेललाई चीनकै सबैभन्दा उन्नत प्रविधिमध्ये एक भए पनि अमेरिकी कम्पनीहरूको तुलनामा करिब आठ महिना पछाडि रहेको मूल्याङ्कन गरेको बताइएको छ।

अमेरिकामा एआई क्षेत्रमा सक्रिय स्टार्टअप एन्थ्रोपिकको मूल्याङ्कन हालैको फन्डिङ राउन्डपछि करिब ६५ अर्ब डलर पुगेको छ भने च्याटजीपीटी निर्माता ओपनएआईको मूल्याङ्कन मार्चमा करिब आठ खर्ब ५२ अर्ब डलर रहेको उल्लेख छ । यी दुवै कम्पनीले हालै सार्वजनिक सूचीकृत हुने तयारी थालेका छन् र यसले निजी एआई लगानी बजारको विस्तार सीमामा पुग्न लागेको सङ्केत गरेको विश्लेषकहरूले बताएका छन्।

रिपोर्टअनुसार डिपसिकका संस्थापक लियाङ वेनफेङले व्यक्तिगत रूपमा करिब २० अर्ब युआन लगानी गरेका छन्। उनले सीमित साझेदारी संरचना प्रयोग गरी कम्पनीमाथिको नियन्त्रण कायम राख्ने अनौठो लगानी संरचना तयार पारेको पनि जनाइएको छ।

यसैगरी चीनको सरकारी समर्थन प्राप्त नेसनल आर्टिफिसियल इन्टेलिजेन्स इन्डस्ट्री इन्भेस्टमेन्ट फन्डले करिब एक अर्ब युआन लगानी गरेको छ। टेनसेन्ट, जेडी डटकम र नेटइज जस्ता ठुला चिनियाँ प्रविधि तथा उद्योग कम्पनीहरू पनि लगानीकर्ताका रूपमा सहभागी रहेको बताइएको छ । ती कम्पनीहरूले भने यसबारे सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेका छन् वा प्रतिक्रिया दिएका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप