बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु, ४ हजार खेलाडी सहभागी हुँदै

बुधबार, ०३ असार २०८३, २१ : १३
बुधबार, ०३ असार २०८३

हेटौँडा । बागमती प्रदेशको सबैभन्दा ठूलो बहुखेल प्रतियोगिता ‘तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३’ बुधबारदेखि औपचारिक रुपमा सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा आयोजित विशेष समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिता असार ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रदेशस्तरीय खेलकुदको विकास, प्रतिभा पहिचान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरेको प्रदेश खेलकुद परिषद हेटौंडालले जनाएको छ ।

मुख्यमन्त्री बानियाँले उद्घाटन समारोहमा खेलकुदलाई स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणको आधार भएको बताए । उनले खेलकुद पुर्वाधार निर्माणलाई बागमती प्रदशेको बजेटमा महत्वका साथ समावेश गरेको उनले बताए । उनका अनुसार प्रदेश सरकारले गौरिटार रंगशालालाई गौरवको आयोजनाको रुपमा अघि बढाउन बजेट व्यवस्था गरिएको छ । प्रदेश सरकारले खेल पूर्वाधार निर्माण र खेलाडी विकासमा निरन्तर लगानी बढाउँदै जाने उनले बताए ।

१५ खेल विधामा प्रतिस्पर्धा हुने

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, पौडी, उसु, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल, जुडो र टेबल टेनिस गरी १५ वटा खेल विधा समावेश गरिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार प्रतियोगितामा कुल ४ हजार १ सय ६१ जना सहभागी हुनेछन् । तीमध्ये २ हजार ९ सय ५५ जना  खेलाडी तथा १ हजार २ सय ६ जना प्रशिक्षक, व्यवस्थापक, निर्णायक र अफिसियल रहनेछन् ।

उनका अनुसार प्रतियोगिताले प्रदेशभित्र रहेका खेल प्रतिभालाई उजागर गर्ने तथा खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका अधिकांश खेलहरु मकवानपुरको हेटौँडामा सञ्चालन हुनेछन् । पुरुष तथा महिला फुटबल, पुरुष क्रिकेट, बक्सिङ, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र टेबल टेनिसका खेलहरु हेटौंडाका विभिन्न खेल मैदान तथा कभर्डहलमा सञ्चालन गरिनेछन् ।

महिला क्रिकेट तथा कराँतेका प्रतिस्पर्धा चितवनमा आयोजना भैरहेका छन भने भलिबल, पौडी, उसु र जुडोका खेलहरु काठमाडौं र ललितपुरका खेलस्थलमा सञ्चालन हुनेछन् । एथलेटिक्सका खेलहरु भने औपचारिक उद्घाटनअघि नै असार १ गतेदेखि हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा सुरु भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप