बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने

बुधबार, ०३ असार २०८३, २३ : २६
बुधबार, ०३ असार २०८३

सारांश

  • अमेरिका र इरानबीच भएको नयाँ सम्झौताअनुसार होर्मुज जलमार्ग आगामी ६० दिनका लागि महसुलमुक्त रहने भएको छ ।
  • यो समझदारी अनुसार इरानले पर्सियन खाडीबाट ओमानको खाडी र सोको उल्टो दिशामा चल्ने व्यापारिक जहाजहरूको सुरक्षित र ६० दिनसम्म निःशुल्क आवागमनका लागि हरसम्भव प्रयास गर्नेछ ।
  • ६० दिनको यो प्रारम्भिक अवधिपछि इरानले ओमान र अन्य खाडी राष्ट्रहरूसँग भविष्यको प्रशासनिक व्यवस्थाबारे थप छलफल गर्नेछ ।

काठमाडौँ । अमेरिका र इरानबिच भएको नयाँ सम्झौताअनुसार विश्वकै प्रमुख व्यापारिक मार्गमध्येको एक ‘होर्मुज जलमार्ग’ आगामी ६० दिनका लागि महसुलमुक्त रहने भएको छ । वरिष्ठ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले समाचार प्रकाशित गरेको छ । एक वरिष्ठ अधिकारीका अनुसार दुई देशबिच भएको समझदारी पत्रमा भनिएको छ, ‘यो समझदारीमा हस्ताक्षर भएपछि, इरानले पर्सियन खाडीबाट ओमानको खाडी र सोको उल्टो दिशामा चल्ने व्यापारिक जहाजहरूको सुरक्षित र ६० दिनसम्म निःशुल्क आवागमनका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछ ।’

अधिकारीहरूका अनुसार ६० दिनको यो प्रारम्भिक अवधिपछि इरानले ओमान र अन्य खाडी राष्ट्रहरूसँग भविष्यको प्रशासनिक व्यवस्थाबारे थप छलफल गर्नेछ । समझदारीमा उल्लेख भए अनुसार इरानले अन्तर्राष्ट्रिय कानुनको परिधिमा रहेर होर्मुज जलमार्गको भविष्यको व्यवस्थापन र सामुद्रिक सेवाहरू परिभाषित गर्न ओमानको सुल्तान र पर्सियन खाडीका अन्य तटीय देशहरूसँग संवाद अगाडि बढाउनेछ ।

यस प्रावधानले भविष्यमा जलमार्ग पार गर्दा महसुल लाग्न सक्ने सम्भावनालाई भने जीवितै राखेको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले भने वार्ता पछि पनि यो जलसन्धि महसुलमुक्त नै रहनेमा विश्वास व्यक्त गरेका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै एक वरिष्ठ अमेरिकी अधिकारीले भने, ‘इरानीहरूले आफ्नो अधिकारका लागि पक्कै पनि आक्रामक रूपमा प्रयास गर्नेछन्, तर मुख्य कुरा के हो भने आगामी ६० दिनसम्म हर्मोज जलसन्धिमा आवागमन निःशुल्क हुनेछ । यो अवस्था आगामी दिनमा पनि कायम रहनेछ, किनकि पर्सियन खाडीका अन्य राष्ट्रहरूले आफ्नो उद्योग र व्यापारका लागि महसुल तिर्नुपर्ने कुनै पनि व्यवस्थालाई कहिल्यै स्वीकार गर्ने छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप