बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अवसरवाद र अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास भयो : महेश बस्नेत

बिहीबार, ०४ असार २०८३, १४ : ३१
बिहीबार, ०४ असार २०८३

सारांश

  • नेकपा एमालेका सचिव महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् ।
  • उनले पद, पैसा र प्रतिष्ठाको भोक कहिल्यै नमेटिने अवसरवादीहरूको चरित्र खन्चुवा बच्चाको जस्तो हुने बताएका छन् ।
  • बस्नेतले यस्ता अवसरवादी प्रवृत्ति विरुद्ध सङ्घर्ष गर्दै पार्टीलाई वैचारिक रूपमा सुदृढ, सङ्गठनलाई अनुशासित र एकताबद्ध राख्नुपर्ने बताएका छन् ।

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् ।  निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे प्रदेशस्तरीय भेला र सुझाव सङ्कलनमा नेताहरू खटिइरहेका बेला सचिव बस्नेतले यस्तो बताएका हुन् । 

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतासँग लड्ने पार्टीको ११औँ महाधिवेशनको कार्यनीतिक नारा थियो । तर विडम्बना, आज त्यही दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले नै एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको देखिन्छ’, सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् । 

‘एउटा खन्चुवा बच्चाले मुख खोलेर रोइरहन्छ । उसलाई खानेकुरा मुखमा हालिदिए केहीबेर हाँस्छ, तर घुटुक्क निल्ने बित्तिकै फेरि मुख खोलेर रुन थाल्छ’, विम्ब प्रयोग गर्दै बस्नेतले पद, पैसा र प्रतिष्ठाको भोक कहिल्यै नमेटिने अवसरवादीहरूको चरित्र पनि यस्तै हुने बताएका छन् । 

उनीहरूलाई जे दिए पनि पुग्दैन, सन्तुष्ट नहुने बरु उनीहरूको चाहना झन् बढ्दै जाने बताएका छन् ।  ‘दुर्भाग्यवश, राजनीतिक दलहरूभित्र पनि यस्तो प्रवृत्ति मौलाउँदै गएको देखिन्छ’, बस्नेतको भनाइ छ । 

उनले आजको आवश्यकता भनेको सङ्गठन, विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थलाई माथि राख्ने यस्ता अवसरवादी प्रवृत्ति विरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नु रहेको भन्दै आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउँदै, सङ्गठनलाई अनुशासित र एकताबद्ध राख्दै, जनताको हित र देशको उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप