बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

चोरी गरेर अमेरिकी संग्रहालय पुर्‍याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)

बिहीबार, ०४ असार २०८३, १४ : ४१
बिहीबार, ०४ असार २०८३

सारांश

  • करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् ।
  • राष्ट्रिय संग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुण्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
  • न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले आवश्यक प्रमाणका आधारमा दुवै संग्रहालयबाट मुकुण्डो जफत गरी वि.सं. २०८० मंसिर १८ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो ।

काठमाडौँ । करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् । राष्ट्रिय संग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुण्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

Dolakha Aakash Bhairav-Nepal photo library-01

दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा रहेको तथ्य सार्वजनिक भएपछि फिर्ता ल्याउने अभियान सुरु भएको थियो।

सम्पदा संरक्षण अभियन्ता अनिलचन्द्र श्रेष्ठले वि.सं. २०७४ मा इन्द्रजात्राको अवसरमा सामाजिक सञ्जालमा पुराना तस्बिर सार्वजनिक गरेपछि हराएको सम्पदाबारे पुनः चर्चा सुरु भएको थियो। त्यसपछि विभिन्न प्रमाण संकलन, अनुसन्धान र ‘लस्ट आर्ट्स अफ नेपाल’ को सहयोगमा मुकुण्डो अमेरिकाका संग्रहालयमा रहेको पुष्टि भएको थियो।

Dolakha Aakash Bhairav-Nepal photo library-02

मूर्ति चोरीसम्बन्धी पुराना अभिलेख, प्रहरीमा दर्ता भएका जाहेरी तथा ऐतिहासिक तस्बिरहरू संकलन गरी नेपाल सम्पदा संरक्षण अभियानमार्फत पुरातत्व विभागमा आधिकारिक प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेन, पुरातत्व विभाग र अमेरिकी निकायबीचको समन्वयमा कानुनी प्रक्रिया अघि बढाइएको थियो।

Dolakha Aakash Bhairav-Nepal photo library-03

न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले आवश्यक प्रमाणका आधारमा दुवै संग्रहालयबाट मुकुण्डो जफत गरी वि.सं. २०८० मंसिर १८ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो।

‘नेवास् गुठी न्यूयोर्क’ को सहयोगमा ती मुकुण्डो नेपाल ल्याइएका थिए। त्यसपछि राष्ट्रिय संग्रहालय, छाउनीमा संरक्षण तथा प्रदर्शनका लागि राखिएको थियो।

Dolakha Aakash Bhairav-Nepal photo library-04

बुधबार आयोजित कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूले पूजा–आराधना गरेपछि मुकुण्डो समुदायलाई पुनःस्थापनाका लागि हस्तान्तरण गरिएको हो । अब उक्त सम्पदा दोलखास्थित आफ्नो मौलिक स्थानमा पुनःस्थापना गरिने जनाइएको छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Dolakha Aakash Bhairav-Nepal photo library-05Dolakha Aakash Bhairav-Nepal photo library-06Dolakha Aakash Bhairav-Nepal photo library-07Dolakha Aakash Bhairav-Nepal photo library-09Dolakha Aakash Bhairav-Nepal photo library-10

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप