विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
सारांश
- नेकपा एमालेको लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका गृह जिल्लाका अधिकांश नेता कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा गरेर मात्र पार्टीमा पुनर्जागरण आउने सुझाव दिएका छन् ।
- कपिलवस्तुको चन्द्रौटामा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी करिब ६० प्रतिशत नेता कार्यकर्ताले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् ।
- यद्यपि, अध्यक्ष ओलीले भने नेतृत्व परिवर्तन नभई पार्टीको एकता, सुदृढीकरण र प्रभावकारी पुनर्गठनमा जोड दिनुपर्ने र आफू वैधानिक तरिकाले मात्र बहिर्गमन हुने अडानमा छन् ।
बुटवल । नेकपा एमालेले कोशी र बागमती प्रदेशपछि लुम्बिनीमा चुनावी समीक्षा तथा पार्टी पुनर्गठनका लागि सुझाव संकलन गरेको छ ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गृह प्रदेशका रूपमा चिनिएको लुम्बिनीका अधिकांश नेता कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट बिदा गरेर मात्र पार्टीमा पुनर्ताजगी आउने धारणा राखेका छन् ।
बिहीबार कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी प्रदेशका नेता–कार्यकर्तासँग सुझाव संकलन गर्ने क्रममा यस्तो सुझाव आएको हो । सुझाव संकलनका क्रममा एमालेले गत फागुन २१ मा सम्पन्न निर्वाचनको समीक्षा समेत गरेको छ । भेलामा सहभागी अधिकांश नेता(कार्यकर्ताले स्थानीय तहदेखि केन्द्रसम्मै पार्टी पुनर्गठन अनिवार्य रहेको बताएका छन् ।
लुम्बिनी प्रदेशका एक नेताले रातोपाटीलाई दिएको जानकारी अनुसार, झण्डै एक सयको हाराहारीमा सहभागी नेताहरूमध्ये अधिकांशले माथिदेखि तलसम्म पार्टी पुनर्गठन नगरे पुनर्जागरण सम्भव नहुने बताएका छन् । 'नयाँ नेतृत्व र नयाँ कार्यक्रमसहित जनतामा जान सके मात्र पार्टी पुनरुत्थान हुनसक्छ भन्ने मत बलियो देखिएको छ,' उनले भने ।
लुम्बिनी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको गृह प्रदेश भएकाले पनि यहाँका कार्यकर्ताहरू पार्टी पुनर्गठनको पक्षमा बढी उभिएको सहभागीहरूको बुझाइ छ । पौडेल र पोखरेल स्वयं पनि पछिल्लो समय कार्यकर्ताको माग अनुसार पार्टी पुनर्गठनकै पक्षमा उभिने गरेका छन् ।
छलफलमा प्रत्येक नेतालाई आफ्नो धारणा राख्न ३ मिनेटको समय छुट्याइएको थियो, जसमा केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू सहभागी थिए । सहभागीमध्ये करिब ६० प्रतिशतले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने पक्षमा खुलेर कुरा राखेका छन् ।
विशेष गरी रुपन्देही, पाल्पा र नवलपरासीका नेताहरूले पार्टीको वर्तमान अवस्थाका लागि मुख्य नेतृत्व नै जिम्मेवार रहेको भन्दै उहाँलाई बिदा गर्नुको विकल्प नरहेको बताएका छन् । 'पार्टीको यो हालत हुनुमा अध्यक्ष केपी ओली नै मुख्य जिम्मेवार हुनुहुन्छ । त्यसैले मुख्य नेतृत्व बिदा गरेर क्रमशः तलसम्म पुनर्गठन गर्नुपर्ने सुझाव बहुमतको छ,' एक नेताले भने । अर्को एउटा सानो समूहले भने नेतृत्वका साथै सचिवालयका अन्य सदस्यहरू पनि उत्तिकै जिम्मेवार रहेको धारणा राखेको थियो ।
ओलीको बिदाइका पक्षमा रुपन्देही, कपिलवस्तु र पाल्पाका नेताहरू खुलेर लागेका थिए भने गुल्मी, अर्घाखाँची र बाँकेका कतिपय नेताले सिङ्गो सचिवालय नै यसमा जिम्मेवार हुनुपर्ने बताएका थिए । सुझाव संकलन कार्यदलमा संयोजक रामबहादुर थापा ‘बादल’ सहित सदस्यहरू विष्णुप्रसाद पौडेल, छविलाल विश्वकर्मा, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण विष्ट सहभागी छन् । कार्यदलले असार तेस्रो साताभित्र सातै प्रदेश पुगेर सुझाव संकलन गरिसक्ने तयारी गरेको छ ।
यसैबीच, एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीको सन्देश उद्धृत गर्दै 'ग्राउन्ड रियालिटी' बुझ्न कार्यदल भूगोलमा गएको बताएका छन् । उनले कार्यदलले यथार्थ कुरा सुन्ने स्पष्ट पार्दै अध्यक्षको भनाइ राखेका छन् ।
'अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई कुनै संकोच नराखी खुलस्त धारणा राख्न आग्रह गर्नुभएको छ,' बस्नेतले भने, 'उहाँको यो भनाइले सुझाव संकलन प्रक्रियालाई सही दिशा दिएको छ ।'
ओलीले अहिलेको आवश्यकता नेतृत्व परिवर्तन नभई पार्टीको एकता, सुदृढीकरण र प्रभावकारी पुनर्गठन भएको स्पष्ट पारेका छन् । 'अध्यक्षले बेमौसमी नेतृत्व बहसले पार्टीलाई कमजोर बनाउने चेतावनी दिँदै महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै बिदा हुने संगठनात्मक परम्परा स्मरण गराउनुभएको छ,' बस्नेतले थपे ।
पार्टीभित्र ओलीलाई पद छोडेर मार्गप्रशस्त गर्न दबाब बढिरहे पनि ओली भने आफू ११औँ महाधिवेशनबाट विधानतः निर्वाचित भएको र बहिर्गमन पनि वैधानिक ढंगबाटै हुने अडानमा छन् । उनले अहिले नेतृत्वसम्बन्धी अनावश्यक बहसभन्दा जनताका माझ पार्टीलाई बलियो बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण