आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

शनिबार, ०६ असार २०८३, २१ : ३८
शनिबार, ०६ असार २०८३

सारांश

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ ।
  • भूमि व्यवस्था, सहकारी, तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै योग्य उम्मेदवारहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।
  • यस पदका लागि चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापनमा स्नातकोत्तर, १५ वर्षको अनुभव र व्यावसायिक कार्ययोजना आवश्यक पर्नेछ ।

काठमाडौँ । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

भूमि व्यवस्था, सहकारी,मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कार्यकारी निर्देशकको आवश्यकता सम्बन्धी सूचना निकालेको हो । 

कार्यकारी निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ तथा विनियमावली, २०७७ को व्यवस्था बमोजिम यो पद पूर्ति गर्न लागिएको हो । योग्य उम्मेदवारहरूलेसूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा कार्यालय समयभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।

यस पदका लागि आवेदन दिन उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।

साथै, सोही क्षेत्रमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा न्यूनतम पन्ध्र वर्ष काम गरेको अनुभव आवश्यक पर्नेछ । आवेदकले आवेदनका साथमा शैक्षिक योग्यता, नागरिकताको प्रतिलिपि, कार्यअनुभवका कागजातहरू र अस्पताल विकास सम्बन्धी बढीमा पाँच हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) समेत पेस गर्नुपर्ने उल्लेख छ ।

सरकारी वा सार्वजनिक संस्थामा कार्यरत स्थायी कर्मचारीको हकमा भने विभागीय स्वीकृति पत्र अनिवार्य गरिएको छ । आवेदन दिन पाँच हजार शुल्क निर्धारण गरिएको छ । मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूमध्येबाट सुरुमा उम्मेदवारहरूको अल्पसूची (शर्टलिस्ट) प्रकाशन गरिनेछ ।

त्यसपछि सिफारिस समितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, तालिम, प्रकाशित अनुसन्धानमूलक लेख, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा अन्तिम छनोट गर्नेछ । अस्पतालको निमित्त कार्यकारी निर्देशकका रुपमा डा।रवी प्रकाश शर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप