सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकपका ठुला विवाद

भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म

सोमबार, १५ असार २०८३, १८ : ००
सोमबार, १५ असार २०८३

सारांश

  • विश्वकप २०२६ को समूह चरणमा भीएआरका कारण केही विवादित निर्णयहरू भएका छन् जसले टोलीहरूको नकआउटमा पुग्ने अवसर र जितसमेत गुमाएको छ।
  • इरान र इजिप्टबीचको खेलमा इरानी खेलाडीको अन्तिम मिनेटको गोल भीएआरले अफसाइड करार गरेपछि रद्द भयो, जसले इरानलाई नकआउट चरणमा पुर्याउने थियो।
  • घाना र इंग्ल्याण्डबीचको खेलमा घानालाई पेनाल्टी नदिइएको र इक्वेडर विरुद्धको खेलमा जर्मनीको गोललाई मान्यता दिइएको जस्ता निर्णयहरूले विवाद सिर्जना गरेका छन्।

न्युयोर्क। विश्वकप २०२६ को समूह चरणमा मैदानका रेफ्री र भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) बाट केही विवादित निर्णयहरू भए। 

कतिपय अवस्थामा यस प्रविधिका कारण टोलीहरूले नकआउटमा पुग्ने अवसर र महत्त्वपूर्ण जितसमेत गुमाए।

  • गोल रद्द गर्दा इरानी समर्थक निराश

शुक्रबार इरान र इजिप्टबिचको १-१ को बराबरी खेलमा सबैभन्दा विवादित निर्णय देखियो। इन्जुरी समयको तेस्रो मिनेटमा मैदान प्रवेश गरेका शोजा खलिलजादेहले गरेको गोल भीएआर जाँचपछि रद्द गरिएको थियो।

AFP__20260627__2283571918__v1__HighRes__EgyptVIrIranGroupGFifaWorldCup2026-1782638796

डिफेन्डर खलिलजादेहले नजिकैबाट उत्कृष्ट गोल गरेपछि सिएटल स्टेडियममा खुसियाली छाएको थियो। उक्त गोलले इरानलाई पहिलो पटक नकआउट चरणमा पुर्‍याउने थियो। तर भीएआरले खलिलजादेहलाई अफसाइड करार गरेपछि इरानीहरूको खुसी निराशामा परिणत भयो। रिप्लेमा यो निकै नजिकको मामला देखिएको थियो, उनी मुस्किलले एक मिलिमिटर मात्र अफसाइड थिए।

  • सान्चेज झिनो अन्तरले अफसाइड हुँदा कोलम्बिया जितबाट वञ्चित

शनिबार मियामीमा भएको प्रतिस्पर्धात्मक खेलमा डेभिन्सन सान्चेजले इन्जुरी समयमा गोल गर्दै कोलम्बियालाई पोर्चुगलविरुद्ध जित दिलाएको सोचेका थिए। उनले जुआन क्विन्टेरोको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए। तर सान्चेज खुसी मनाउन कर्नर फ्ल्यागतर्फ दौडिनुअघि नै लाइन्सम्यानले अफसाइडको झण्डा उठाए।

गोलको रिप्लेमा सान्चेज खुट्टाको औँलाको भरमा मात्र अफसाइड देखिए। यस निर्णयले कोलम्बियालीहरूलाई प्रतियोगितामा आफ्नो शतप्रतिशत जितको कीर्तिमान कायम राख्ने अवसर खोसिएको महसुस गरायो।

  • गोलरहित बराबरीमा घानाले इंग्ल्याण्डविरुद्ध पेनाल्टी पाएन

मंगलबार इंग्ल्याण्डसँग गोलरहित बराबरी खेल्दै उत्कृष्ट प्रदर्शन गरेको घानाको चौतर्फी प्रशंसा भयो। तर घानाका समर्थकहरू भने पेनाल्टी पाएको भए नतिजा अर्कै हुन्थ्यो भन्दै निराश थिए। बोस्टनमा भएको खेलको ७९ औँ मिनेटमा इंग्ल्याण्डका एज्री कोन्साले बल लिएर अघि बढिरहेका प्रिन्स क्वाबेना अडुलाई पेनाल्टी बक्सभित्र ट्याकल गरेर लडाएका थिए।

डिफेन्डर कोन्साले बललाई छुन सकेनन् र फरवार्ड अडुको घुँडामा प्रहार गरे। तर रेफ्रीले पेनाल्टी दिएनन्। यो निर्णय घानाका लागि अग्रता लिने ठुलो अवसर बन्न सक्थ्यो। खेलपछि निराश हुँदै घानाका प्रशिक्षक कार्लो क्विरोजले भने, ‘भीएआर कफी पिउन गएको थियो।’

  • स्कटल्याण्डविरुद्धको जितमा भिनिसियस जुनियरको गोल रद्द

खेलको २२ औँ मिनेटमा भिनिसियस जुनियरले स्कटल्याण्डका डिफेन्डर ज्याक हेन्ड्रीबाट पेनाल्टी बक्सको छेउमा बल खोसेर उत्कृष्ट गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएको सोचेका थिए। तर भीएआरले रेफ्रीलाई ‘अन-फिल्ड रिभ्यु’ गर्न सुझाव दियो। गोल गर्नुअघि भिनिसियसले हेन्ड्रीलाई फल गरेको भन्दै रेफ्रीले गोल रद्द गरिदिए। सामान्य सम्पर्क मात्र भएकाले यो निर्णय निकै विवादित बन्यो।

AFP__20260624__2283180075__v1__HighRes__ScotlandVBrazilGroupCFifaWorldCup2026-1782640477

मियामीमा भएको उक्त खेल ब्राजिलले ३-० ले जिते पनि ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) का अध्यक्ष समिर जाउदले पछि फिफालाई पत्र लेखे। उनले भीएआर हस्तक्षेपका मापदण्डहरूमा एकरूपता र रेफ्री नियुक्तिको विषयमा ध्यान दिन अनुरोध गरे।

  • फल हुँदासमेत सानेको गोलले मान्यता पाएपछि इक्वेडर रुष्ट

बिहीबार इक्वेडरसँग २-१ ले पराजित भए पनि लिरोय सानेले जर्मनीका लागि गरेको एक मात्र गोलको तरिका विवादित बन्यो।

खेल सुरु भएको दुई मिनेटभित्रै सानेले फ्लोरियन विर्ट्जको पासमा पेनाल्टी एरियाबाट पहिलो प्रहारमै गोल गरेका थिए। तर गोल हुनुअघिको मुभमा अलेक्जेन्डर पाभलोभिचले बुट उचाल्दा पेड्रो भिटेको टाउकोमा लागेको थियो। यसमा फल नदिएपछि इक्वेडर रुष्ट बनेको थियो। भीएआरले यसमा कुनै हस्तक्षेप गरेन र गोलले मान्यता पायो।

2026-06-25T200750Z_429832115_UP1EM6P1JX06K_RTRMADP_3_SOCCER-WORLDCUP-ECU-GER-1782641738

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप