‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
काठमाडौँ । नेपालको सेयर बजार पछिल्लो समय ‘पर्ख र हेर’को अवस्थामा छ । नयाँ सरकार गठन र बजेट भाषणपछि बजारमा उत्साह छाउने लगानीकर्ताको अपेक्षा विपरीत बजार करिब साढे ३ सय अंकले घटिसकेको छ ।
बजारमा तरलता पर्याप्त हुँदा र बैंकको ब्याजदर निकै तल झर्दा पनि सेयर बजार किन बढ्न सकेन ? सरकारले ल्याएका नयाँ नीति, सम्पत्ति शुद्धीकरणको त्रास र आगामी मौद्रिक नीतिले बजारलाई कुन दिशामा लैजाला ? यिनै समसामयिक विषयमा रातोपाटीको ‘इकोनोमिक एडिट’का लागि सेयर बजार जानकार तथा जानकार देव गुरागाईंसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
नयाँ सरकार गठन भएपछि सेयर बजार करिब ३०० अंकले घट्यो । बजेट आएपछि त घट्ने दर झन् बढेको देखिन्छ । तपाईं लामो समयदेखि सेयर बजारको विश्लेषण र लगानी गर्दै आउनुभएको छ । बजारको यो अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
विगतमा सरकारहरु छिनछिनमा परिवर्तन भइरहँदा हामी विश्लेषण गर्थ्यौं– स्थायी सरकार भएन, नीतिगत जोखिम रहिरह्यो, त्यसैले बजार बढ्न सकेन । पछिल्लो समय रास्वपासहितको नयाँ गठबन्धन चुनावमा जाँदै गर्दा बजार परिसूचक करिब २६ सय ४९ को बिन्दुमा थियो । चुनावपछि नयाँ दलहरु सत्तामा आउँदा बजारमा ३/४ सय अंकको बढोत्तरी पनि देखियो र अहिले फेरि बजार घटेको अवस्था छ ।

हिजो सरकार स्थायी भएन भनिन्थ्यो, आज त सरकार स्थायी नै छ । तैपनि बजार किन सुधार भएन त भन्नेमा सबैको चासो छ नि ?
मेरो विश्लेषणमा सरकारले जे-जस्ता कदमहरु उठाइरहेको छ, त्यसले बजारमा एउटा डर पैदा गरेको छ । हामी सधैं भन्छौं– बजारमा विकृत कारोबार हुनुहुँदैन तर विगतमा प्रशस्त विकृत गतिविधि भएका थिए, जसलाई अहिलेको सरकारले सम्पत्ति शुद्धीकरणको नाममा उजागर गरिदिएको छ ।
सेयर बजार दुई कुराले चल्छ– डर र लोभ । लोभले बजार बढाउँछ भने डरले घटाउँछ । बजारमा ठुलो पुँजी परिचालन गर्ने खेलाडीहरु अहिले डराएका छन् । त्यसैले बजार 'पर्ख र हेर' को अवस्थामा छ । यद्यपि, बजेटमा आएका पुँजी बजारसम्बन्धी नीतिहरु नराम्रा छैनन् । सरकारलाई काम गर्न सय दिन पनि पुगेको छैन, त्यसैले कार्यान्वयन कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी छ ।
तपाईंले बजेटमा आएका पोलिसीहरु राम्रा छन् भन्नुभयो । लगानीकर्तालाई उत्साहित गराउने त्यस्ता राम्रा नीतिहरु के-के देख्नुभयो ?
मैले लामो समयदेखि उठाउँदै आएको विषय यसपटक बजेटमा सम्बोधन भएको छ । हाम्रो सेयर बजार सधैं वान वे मात्र भयो, यसमा अन्य प्रडक्टहरु आएनन् । तर यसपटक बजेटमै इन्ट्राडे कारोबार र सर्ट सेलिङलाई अनुमति दिने कुरा आएको छ । यो हामी जस्ता लगानीकर्ताले वर्षौंदेखि माग गर्दै आएको कुरा हो ।
दोस्रो, स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने कुरा । यो मैले दशौं वर्षदेखि सुन्दै आएको छु । विगतका बजेटमा पनि आउँथे, तर कार्यान्वयन भएन । अहिलेको सरकारले पनि यसलाई निरन्तरता दिएको छ, सायद अब कार्यान्वयनमा जान्छ कि भन्ने अपेक्षा छ ।
त्यसैगरी गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने कुरा टड्कारो रुपमा बजेटमा आएको छ । संस्थागत विदेशी लगानीकर्ता भित्र्याउने कुरा विगतमा सुनिँदैनथ्यो, अहिले सरकारले डायस्पोरा फन्ड ल्याउने कुरा गरेको छ । यी सबै नीति बजारलाई निकै चलायमान बनाउने र माग बढाउने किसिमका छन् ।
लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति भर्खरै भयो । तर अध्यक्ष नियुक्ति भइसकेपछि पनि बजारले त्यसलाई सकारात्मक रुपमा स्वागत गरेको देखिएन नि ?
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति ढिला पक्कै भयो । लगानीकर्तामा 'यो सरकारले पनि बोर्ड अध्यक्ष नियुक्त गर्न सकेन भन्ने संशय थियो, जुन अहिले चिरिएको छ । तर परिसूचककै हिसाबले हेर्ने हो भने बोर्ड अध्यक्षको नियुक्ति एउटा सानो फ्याक्टर मात्र हो ।

बजार नबढ्नुमा अघि मैले भनेको 'डर' नै मुख्य कारण हो । अर्को कुरा, बोर्ड अध्यक्ष नहुँदा रोकिएका ८९-९० वटा कम्पनीका आईपीओहरु अब धमाधम खुल्छन् र बजारमा सेयरको सप्लाई ह्वात्तै बढ्छ भन्ने मनोवैज्ञानिक प्रभाव पनि लगानीकर्तामा परेको हुन सक्छ ।
तपाईंले बजारमा डिमान्ड बढाउने नीतिको कुरा गर्नुभयो । तर डिमान्ड सँगसँगै कम्पनीहरुको वित्तीय अवस्था उनीहरुले दिने प्रतिफल र बजारमा आउने सेयरको सप्लाईले पनि त ठुलो भूमिका खेल्छ नि, होइन ?
पक्कै पनि । यो आजको मात्र समस्या होइन, करिब साढे तीन वर्षदेखि हाम्रो अर्थतन्त्र नै शिथिल अवस्थामा छ । आर्थिक मन्दीका कारण हाम्रा सूचीकृत कम्पनीहरुले राम्रो पर्फमेन्स गर्न सकेका छैनन् । उपभोग घटेको छ, जसले गर्दा ट्रेडिङ वा सेवा प्रवाह गर्ने कम्पनीहरुको प्रतिफल बढ्न सकेको छैन । बैंकिङ सेक्टरको कुरा गर्ने हो भने ऋण उठ्न सकेको छैन, जसले गर्दा एनपीएल र एनबीए बढेको छ ।
नयाँ कम्पनीहरुको आईपीओ, राइट सेयर वा एफपीओ मार्फत बजारमा सेयरको सप्लाई थपिँदै छ । यो सप्लाईलाई धान्न डिमान्ड पनि त्यही अनुपातमा बढ्नुपर्छ । त्यसैले एनआरएन र एफआईआईलाई बजारमा ल्याउने नीति सँगसँगै कार्यान्वयन हुनुपर्छ । त्यसो भयो भने मात्र बजार चलायमान हुन्छ ।
अहिले सरकारले सम्पत्ति शुद्धीकरणको विषयमा जुन एक्सन लिइरहेको छ, त्यसको प्रभाव सेयर बजारमा कस्तो परिरहेको छ ?
अहिलेको ३०० अंकको गिरावटको मुख्य कारणमध्ये एक सम्पत्ति शुद्धीकरणको विषय नै हो । सरकारलाई यो कदम चाल्न बाध्यता पनि छ, किनकि नेपाल ग्रे लिस्टमा परेको छ। भर्खरै मात्र रिभ्यु भएर थप ६ महिनाको समय दिइएको छ ।
ग्रे लिस्टमा पर्दा वैदेशिक सहायता र लगानी नआउने, अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोण नै नकारात्मक हुने जस्ता असर परिसकेका छन् । यसबाट बाहिर निस्किनु सरकारको प्रमुख दायित्व हो ।
तर यसको असर सेयर बजारमा कसरी पर्यो भने जुन जुन व्यक्तिहरु सुरुमै सरकारको टार्गेटमा परे वा समातिए, उनीहरु पुँजी बजारसँग प्रत्यक्ष जोडिएका ठुला खेलाडीहरु थिए । हिजो नियामक निकाय कमजोर हुँदा वा लुपहोलको फाइदा उठाएर विकृत कारोबार गर्नेहरु अहिले तर्सिएका छन् । यसले बजारमा त्रास सिर्जना गरेको छ ।
नेपाल जस्तो अनौपचारिक अर्थतन्त्र ठुलो भएको देशमा सरकारले चाह्यो भने जसलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउन सक्छ भन्ने डर पनि त छ नि । यो अवस्था रहिरह्यो भने सेयर बजारको भविष्य के होला ?
डिजिटलाइजेसन पूर्ण रुपमा नभइसकेको र हिजो बहुसंख्यक कारोबार अनौपचारिक रुपमै हुने हाम्रो जस्तो देशमा त्यो डर हुनु स्वाभाविक हो । म एउटा उदाहरण दिन्छु ।
२०६५ सालमा बजार बुल थियो, परिसूचक ११ सय पुगेको थियो । जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा गयो र डा. बाबुराम भट्टराई अर्थमन्त्री बन्नुभयो, उहाँको एउटा अभिव्यक्तिले बजार सार्प फल भएर २९३ अंकमा झरेको थियो ।
त्यतिबेला मान्छेहरु निराश भएर 'अब सेयर बजार कोल्याप्स भयो, यहाँ कामै छैन' भन्थे । म २०६७ सालतिर त्यही लोएस्ट (बटम) बिन्दुमा बजारमा प्रवेश गरेको थिएँ । मलाई लाग्थ्यो– सधैं यस्तो निराशा रहँदैन, हरेक कुराको एउटा स्याचुरेसन फेज हुन्छ ।
अहिले पनि त्यही भइरहेको छ । भारतमा हर्षद मेहता काण्डपछि बजार कहाँबाट कहाँ पुग्यो हेर्नुहोस् त । हामीकहाँ पनि औंलामा गन्न सकिने केही ठुला खेलाडीहरु होलान्, जोमाथि सरकारले डण्डा चलायो । यो कारबाहीको पनि एउटा 'स्याचुरेसन फेज' आउँछ । यो विषय सेलाएपछि बजारले एउटा 'बटम' बनाएर फेरि नयाँ उचाइ लिन्छ भन्नेमा म पूर्ण आशावादी छु ।
तरकारीमा लगाएको भ्याटदेखि सेयर बजारको पुँजीगत लाभकरसम्म सरकारको आर्थिक नीतिले लगानीकर्तालाई कस्तो असर गरिरहेको छ ?
बजेटले सर्ट टर्म लगानीकर्ताको लागि पुँजीगत लाभकर ७.५ प्रतिशतबाट बढाएर १० प्रतिशत र लङ टर्मको लागि ५ बाट ७.५ प्रतिशत पुर्याएको छ । तर यसलाई म धेरै ठुलो नकारात्मक असरको रुपमा हेर्दिनँ ।
हाम्रो देशमा १० प्रतिशत पुँजीगत लाभकर अन्य देशको तुलनामा त्यति महँगो होइन । सबैभन्दा खुसीको कुरा के हो भने बजेटले यसलाई 'अन्तिम करको रुपमा घोषणा गरिदिएको छ । हिजोका दिनमा करका कर्मचारीहरुले लगानीकर्तालाई ‘यो अन्तिम कर होइन, अन्य आयमा जोडेर कर तिर्नुपर्छ’ भन्दै दुईधारे तरबार देखाएर तर्साउने गर्थे । अब त्यो कन्फ्युजन हटेको छ । यद्यपि, यो कुरा कानुनमै लिपिबद्ध भने भइसकेको छैन, तर अर्थमन्त्रीले प्रस्ट पारिसक्नुभएको छ ।
बरु अहिले सरकारले ध्यान दिनुपर्ने कुरा ब्रोकर कमिसन र डीपी शुल्क हो । अन्य देशको तुलनामा हामीकहाँ यी शुल्क निकै महँगा छन् । ब्रोकरलाई नै डिस्काउन्ट दिने अधिकार दिनुपर्छ । इन्ट्राडे जस्ता एकै दिनमा धेरैपटक हुने कारोबारमा यति धेरै शुल्क तिरेर लगानीकर्ताले नाफा कमाउन सक्दैनन् ।
विगतमा निक्षेपको ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा बजार बढ्ने हुन्थ्यो । तर अहिले बैंकमा तरलता फालाफाल छ, ब्याजदर एकल अंकमा छ, तैपनि बजार बढ्न सकेको छैन । यो सुल्टो सम्बन्ध किन देखियो ?
यो अलि अनौठो लागिरहेको छ । विगत डेढ वर्षदेखि हामीकहाँ तरलता फालाफाल छ र ब्याजदर असाध्यै न्यून छ । यस्तो बेलामा बजार बढ्नुपर्ने हो । यसको पछाडि मुख्य कारण आर्थिक मन्दी नै हो । हाम्रो अर्थतन्त्रमा इन्फर्मल इकोनोमीको हिस्सा धेरै ठुलो छ, जसलाई मुख्यतया सहकारी संस्थाहरुले चलाइरहेका थिए ।

जब सहकारीहरु धरासायी भए, त्यसले अर्थतन्त्रलाई यति शिथिल बनाइदियो कि त्यसको प्रत्यक्ष असर पुँजी बजारमा पर्यो । औपचारिक बैंकिङ प्रणालीमा पैसा थुप्रिएपनि बजारमा पैसा सर्कुलेट हुन सकेको छैन । त्यसैले ब्याजदर घटेर पनि बजार बढ्न नसकेको हो ।
अब छिट्टै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदैछ । सेयर बजारमैत्री मौद्रिक नीति कस्तो हुनुपर्ला ?
अब आउने मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही बाँकी छ जस्तो मलाई लाग्दैन । कतिपयले बैंक तथा इन्स्योरेन्स कम्पनीहरुलाई सेयर कारोबार गर्न खुकुलो बनाउनुपर्छ भन्छन्, तर दोस्रो बजार भनेको असाध्यै जोखिमपूर्ण क्षेत्र हो । सर्वसाधारणको निक्षेपलाई सेयर बजारमा ट्रेडिङ गर्न राष्ट्र बैंकले १०० प्रतिशत खुला गर्न सक्दैन र गर्नु पनि हुँदैन ।
अहिले तोकिएको संस्थागत लगानीको सीमामा केही हेरफेर वा सामान्य खुकुलोपन पक्कै आउला, तर मौद्रिक नीतिबाटै बजार कायापलट हुने नयाँ कुरा आउँछ जस्तो मलाई लाग्दैन । मुख्य कुरा भनेको राज्यले लगानीकर्तामा आशा सिर्जना गर्ने हो ।
एक महिनामै हजार अंकले बजार बढ्नु र फेरि घट्नु । बजार सधैं बढ्नु मात्रै राम्रो हो र ? बजारको यथार्थ धरातल कति हो जस्तो लाग्छ ?
बजार सधैं बढ्नु वा अस्वाभाविक रुपमा बढ्नु त झन् ठुलो जोखिम हो । विगतमा एक महिनामै हजार अंकले बजार बढ्दा मैले एउटा अन्तर्वार्तामा भनेको थिएँ– यो बजार फुलेको बेलुन हो, यो पड्किन्छ । नभन्दै त्यस्तै भयो । २०७८ सालमा पनि ११ महिनामै बजार ११ सयबाट ३२ सय पुग्यो, त्यो पनि अचाक्ली थियो र पछि १८ सयमा झर्न बाध्य भयो ।
बजार स्वस्थ रुपमा बढ्नुपर्छ । कम्पनीको प्रतिफल र फन्डामेन्टलका आधारमा बढ्नुपर्छ । तर हाम्रो बजारमा कहिलेकाहीँ मास साइकोलोजीले फन्डामेन्टललाई माथ खुवाइदिन्छ ।
धरातलकै कुरा गर्ने हो भने पछिल्लो एक वर्षमा थपिएका नयाँ आईपीओहरुको पुँजीकरणलाई हटाएर इन्डेक्स क्याल्कुलेसन गर्ने हो भने हाम्रो बजार अहिले पनि २ हजार वा २१ सयकै हाराहारीमा छ । त्यसैले बजार अहिले बटममै छ भन्न सकिन्छ ।
जो लगानीकर्ता अहिले बजार घटेर आत्तिएका छन् वा जो नयाँ लगानी गर्ने सोचमा छन्, उनीहरुलाई तपाईंको सल्लाह के छ ?
मेरो प्रस्ट सल्लाह छ– अहिले आत्तिने बेला होइन । बजार बटममा छ । यस्तो बेलामा धेरै मान्छे निराश हुन्छन्, स्थिर सरकार आउँदा पनि बजार बढेन भनेर सेयर बेचेर भाग्न खोज्छन् । तर जो थोरै मान्छे आशावादी हुन्छन्, उनीहरुले नै यस्तो बेलामा पैसा 'इन्जेक्ट' गर्छन् र पछि नाफा कमाउँछन् ।
त्यसैले जोसँग पैसा छ, उहाँहरुले अहिले लगानी गर्ने बेला हो । जो पहिले नै लगानी गरेर घाटामा हुनुहुन्छ, उहाँहरुले एभरेजिङ गर्ने बेला हो यो । कारबाही र त्रासको यो स्याचुरेसन फेज सकिएपछि बजारले पक्कै नयाँ मोड लिन्छ ।
अर्को आशालाग्दो कुरा के छ भने अहिले सरकारका चारवटै आर्थिक निकायका प्रमुखहरु विज्ञ हुनुहुन्छ । अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर, योजना आयोगका उपाध्यक्ष र भर्खरै नियुक्त हुनुभएका धितोपत्र बोर्डका अध्यक्ष सबै यो क्षेत्र बुझेका विज्ञ हुनुहुन्छ । उहाँहरुले यो आर्थिक शिथिलतालाई निकास दिन पक्कै उचित कदम चाल्नुहुनेछ । त्यसैले निराश नभई फन्डामेन्टल हेरेर लगानी बढाउनु नै आजका लागि मेरो सुझाव हो ।
भिडियो/फोटो : आयुष धामी/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण