गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
सारांश
- पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध साढे तीन करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
- अनुसन्धानका क्रममा अध्यक्ष गुप्ता र उनको परिवारले वैधानिक आयभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बढी खर्च तथा लगानी गरेको पाइएको छ।
- गैरकानुनी सम्पत्ति आर्जनमा सहयोग गरेको अभियोगमा गुप्ताका बुवा, आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध साढे तीन करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
पदीय मर्यादाविपरीत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा गुप्ताले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले सोमबार उनीसहित परिवारका अन्य ४ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार गुप्ताले गाउँपालिका अध्यक्षमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्मको ५ वर्षको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरिएको थियो। यस अवधिमा गुप्ता र उनको एकाघरको परिवारले विभिन्न कानुनी स्रोतबाट कुल ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ आम्दानी गरेको देखिएको छ। जसमा सार्वजनिक सेवा प्रवेशपूर्वको बैंक मौज्दात, पारिश्रमिक, भाइको तलब-भत्ता, कम्पनीको आम्दानी, बैंक ऋण र कृषि आय समावेश छ।
तर, सोही अवधिमा गुप्ता र उनको परिवारले ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। उक्त खर्च जग्गा खरिद, बैंक ऋणको साँवा-ब्याज भुक्तानी, अध्ययन, घर निर्माण तथा खरिद, सेयर खरिद, बिमा प्रिमियम भुक्तानी, कम्पनी लगानी र सवारीसाधन खरिदमा गरिएको देखिएको छ।
गुप्ताको कुल वैधानिक आयभन्दा कुल खर्च तथा लगानी ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बढी देखिएको अख्तियारले जनाएको छ। अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘कुल वैधानिक आयभन्दा कुल व्यय बढी हुन गई स्रोत पुष्टि भएको नदेखिएकोले उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य उहाँले पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको छ।’
सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी कमाएको उक्त गैरकानुनी सम्पत्ति एकाघरका परिवारको नाममा समेत राखेको पाइएपछि अख्तियारले गुप्ताका परिवारका सदस्यलाई पनि प्रतिवादी बनाएको छ। गाउँपालिका अध्यक्ष गुप्ताका साथै उनका बुवा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण