मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु

सोमबार, २२ असार २०८३, १६ : ०६
सोमबार, २२ असार २०८३

सारांश

  • श्रीलंकाको नेगोम्बो कारागारमा भएको झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।
  • आइतबार सुरु भएको हिंसा सोमबारसम्म जारी रह्यो, जसमा १६ जना कैदी र चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।
  • घटनाको कारण खुल्न नसकेको र सुरक्षा निकायले अनुसन्धान सुरु गरेको छ ।

कोलम्बो । श्रीलंकाको नेगोम्बो कारागारमा भएको भीषण झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ । यस घटनामा अरू १०० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ ।

राजधानी कोलम्बोबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको नेगोम्बो कारागारमा आइतबार सुरु भएको हिंसा सोमबारसम्म जारी रहेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पताल स्रोतका अनुसार मृत्यु हुनेमा १६ जना कैदी र चार जना कारागारका सुरक्षाकर्मी रहेका छन् । नेगोम्बो अस्पतालका निर्देशक पुष्पा गमलाथका अनुसार अस्पतालमा २३ वटा शव ल्याइएको छ भने एक सयभन्दा बढी घाइते कैदी र सुरक्षाकर्मी उपचारका लागि भर्ना भएका छन् । 

श्रीलंका प्रहरीका प्रवक्ता चन्दना हेराथले कारागारभित्र झडप भएको र त्यसमा मानवीय क्षति भएको पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

झडपको कारण तत्काल खुल्न सकेको छैन । सुरक्षा निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय टेलिभिजन देराना टिभीले प्रसारण गरेको दृश्यमा कारागार बाहिर ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको देखिन्छ । 

घाइते कैदीहरूलाई प्रहरी बसमार्फत अस्पताल लगिएको र कतिपय घाइते बसको भुइँमै लडिरहेको दृश्य पनि प्रसारण गरिएको थियो । घटनापछि नेगोम्बो कारागार र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अधिकारीहरूले हिंसा पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप