मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन

सोमबार, २२ असार २०८३, २१ : ३९
सोमबार, २२ असार २०८३

सारांश

  • गण्डकी प्रदेशमा क्रियाशील कम्युनिस्ट/वामपन्थी शक्तिले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन जनाउँदै यथासम्भव छिटो देशभर प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
  • मार्क्सवादी विचार र कम्युनिस्ट आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको समयमा विश्वविद्यालयको अवधारणा सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनका लागि जोड दिइएको छ ।
  • पुष्पलालको १०३औँ जन्मदिवसको सन्दर्भ पारेर पोखरामा आयोजित गोष्ठीमा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले विश्वविद्यालयको सम्भावना र चुनौतीबारे चर्चा गरेका छन् ।

पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको आयोजना र समाजवादी कम्युनिस्ट पार्टी नेपाल तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सहयोगमा पोखरामा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालयःसम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीमा गण्डकी प्रदेशमा क्रियाशील नेपालका सम्पूर्ण कम्युनिस्ट/वामपन्थी शक्तिले समर्थन जनाउँदै यथासम्भव छिटो विश्वविद्यालयलाई देशभर प्रभावकारी बनाउन सुझाव दिएका छन् । 

पोखरा औद्योगिक क्षेत्रमा सम्पन्न विचारगोष्ठीमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियानका अभियन्ता तथा समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव अशोक सुवेदीद्वारा प्रस्तुत ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय ः सम्भावना र चुनौती’ विषयक प्रस्तावनापत्रमाथि टिप्पणी गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी बहुमत, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी लगायत कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश/ब्युरो स्तरीय नेताहरूले मार्क्सवादी विचार र कम्युनिस्ट आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको समयमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अवधारणा अत्यन्त सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनका लागि जोड दिएका हुन् । 

गोष्ठीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. ब्युरो इन्चार्ज नारायण अधिकारी ‘निश्चल’, नेकपा एमाले गडकी प्रदेश अध्यक्ष नवराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य ज्ञानु आचार्य, नेकपा बहुमत गण्डक ब्युरो इन्चार्ज सुजन विक, नेकपाका पोलिटब्युरो सदस्य भक्त रसाइली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सल्लाहकार विकास लुङ्गेली, वरिष्ठ वामपन्थी नेता शेषमणि आचार्य, नेकपा (माओवादी) कास्कीका सेक्रेटरी उमेश सीके, कास्की जिल्ला बार एसोसिएसनका अध्यक्ष गणेशबहादुर आले, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्की जिल्ला सेक्रेटरी विप्लव थापा, युवा माओवादी नेता काजी गुरुङ, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक यादवराज उपाध्यायलगायत वक्ताले नेपालमा मार्क्सवादी विश्वविद्यालय स्थापना हुनु दुनियाँकै उत्पीडित वर्गका लागि उल्लेखनीय विषय रहेको धारणा राखे । वक्ताहरूले यसको सम्भावना पर्याप्त रहे पनि राष्ट्रिय/अन्तर्राष्ट्रिय चुनौतीहरू विद्यमान रहेकाले सबै कम्युनिस्ट र वामपन्थीले उत्पीडित वर्गको सहारा लिएर यसको सामना गर्नुपर्ने बताएका थिए ।

अभियानमा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको पनि समर्थन रहेको जनाइएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको १०३औँ जन्मदिवसको सन्दर्भ पारेर पोखरामा विचारगोष्ठी आयोजना गरिएको विश्वविद्यालय व्यवस्थापन पक्षले जनाएको छ । गोष्ठीको अध्यक्षता समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष ईश्वर बुढाथोकी, सञ्चालन समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज कालीबहादुर पाण्डे र स्वागत समाजवादी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका महासचिव सीबी बस्यालले गरेका थिए । रातो मैनबत्ती प्रज्ज्वलन गरेर महासचिव सुवेदीले गोष्ठीको उद्घाटन गरेका थिए । 

पुष्पलाल–गङ्गालाल जन्मस्थल रामेछाप, भँगेरी र सिर्जनानगरमा गत चैत २४ गते उद्घाटन गरेर प्रथम ब्याचको कक्षासमेत सञ्चालन गरिसकिएको विश्वविद्यालय काठमाडौँको बृहत् गोष्ठीपछि पोखरामा आयोजना गरिएको हो । यसपछि देशका विभिन्न प्रदेशका राजधानी र जिल्लाहरूमा पनि गोष्ठीका साथै कक्षाहरू सञ्चालन गरिने जानकारी विश्वविद्यालयका परिकल्पनाकार सुवेदीले दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप