फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पक्राउ परेका १८ जनाको हकमा फैसला सुनाए पनि हालसम्म फरार रहेका ८ जना प्रतिवादीहरूको मुद्दालाई भने 'मुलतबी' (थाँती) मा राख्ने आदेश दिएको छ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले अदालतमा उपस्थित नभएका र प्रहरीले पक्राउ गर्न नसकेका प्रतिवादीहरूको हकमा मुद्दालाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।
अदालतले आफ्नो आदेशमा भनेको छ- "यसमा फरार रहेका प्रतिवादीहरू... का हकमा प्रस्तुत मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ९८ बमोजिम मुलतबीमा रहने ठहर्छ।"
यो प्रकरणमा अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बु,सुनिल बुढाथोकी फरार छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ बमोजिम फरार प्रतिवादीहरूको मुद्दा मुलतबीमा राखिएको हो। मुद्दा मुलतबीमा रहनुको अर्थ उनीहरूले सफाइ पाएका हुन् भन्ने होइन ।
उनीहरू विरुद्धको अभियोग अदालतमा कायमै रहन्छ।यी फरार व्यक्तिहरू जुनसुकै बेला पक्राउ परेपछि वा आफैँ अदालतमा हाजिर भएपछि उनीहरूको हकमा मुद्दा पुनः सुरुदेखि ब्युँतिन्छ ।
उनीहरूमाथि छुट्टै सुनुवाइ र फैसला हुनेछ । फरारहरूको हकमा जारी भएको पक्राउ पुर्जी र इन्टरपोल मार्फत जारी भएको 'रेड नोटिस' (यदि जारी भएको भए) उनीहरू फेला नपरुन्जेलसम्म निष्क्रिय हुँदैन ।
फरार प्रतिवादीहरूको हकमा कानुनी प्रक्रिया बमोजिम उनीहरूको चल-अचल सम्पत्ति रोक्का रहने र अन्य सरकारी सुविधाहरूमा समेत रोक लाग्न सक्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण