बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

फ्रान्ससँग भिडन्त अगाडि मोरक्कोलाई ठुलो धक्का

बिहीबार, २५ असार २०८३, ०९ : ३६
बिहीबार, २५ असार २०८३

सारांश

  • मोरक्कोका प्रमुख आक्रमणकर्ता इस्माइल साइबारी चोटका कारण फ्रान्सविरुद्धको विश्वकप क्वार्टरफाइनल खेल गुमाउने भएका छन् ।
  • क्यानडाविरुद्धको खेलमा ह्यामस्ट्रिङमा चोट लागेका साइबारी फ्रान्सविरुद्ध खेल्नका लागि पूर्ण रूपमा फिट हुन नसकेको प्रशिक्षकले जानकारी दिएका छन् ।
  • प्रशिक्षकले साइबारी प्रतियोगिताको बाँकी भागबाट बाहिरिने छैनन् भन्ने आशा व्यक्त गरेका छन् र सेमिफाइनलमा उनको पुनरागमनको सम्भावना रहेको बताएका छन् ।

न्युयोर्क । मोरक्कोले विश्वकप क्वार्टरफाइनलअघि ठुलो धक्का बेहोरेको छ । टोलीका प्रमुख आक्रमणकर्ता इस्माइल साइबारी चोटका कारण फ्रान्सविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका हुन् ।

गत साता क्यानडाविरुद्धको अन्तिम १६ को खेलमा साइबारीको ह्यामस्ट्रिङमा चोट लागेको थियो । टोलीका मुख्य प्रशिक्षक मोहम्मद उआहबीले बुधबार पत्रकार सम्मेलनमा उनी समयमै पूर्ण रूपमा फिट हुन नसकेको जानकारी दिएका हुन् ।

उनले भने, ‘साइबारीबाहेक सबै खेलाडी पूर्ण रूपमा फिट छन् । यो खेल उनका लागि निकै चाँडो भयो । तर प्रतियोगिताको बाँकी भागबाट भने उनी बाहिरिने छैनन् भन्ने आशा गरेको छु ।’

हालै डच च्याम्पियन पीएसभी आइन्डहोभेनबाट करिब पाँच करोड युरोमा पाँच वर्षका लागि बायर्न म्युनिखमा आबद्ध भएका साइबारी यस विश्वकपका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

उनले समूह चरणका तीनै खेलमा गोल गरेका थिए भने अन्तिम ३२ मा नेदरल्यान्ड्सविरुद्धको पेनाल्टी सुटआउटमा निर्णायक गोल गर्दै मोरक्कोलाई जित दिलाएका थिए । 

Ismael Saibari

तर गत शनिबार क्यानडामाथि ३–० को जित निकालेको अन्तिम १६ को खेलमा ह्यामस्ट्रिङमा समस्या देखिएपछि उनी निर्धारित समयअघि नै मैदानबाट बाहिरिएका थिए ।

यदि मोरक्को सेमिफाइनलमा पुग्न सफल भयो भने साइबारी त्यस चरणमा पुनरागमन गर्न सक्ने सम्भावना रहेको प्रशिक्षक उआहबीले बताएका छन् ।

क्यानडाविरुद्ध साइबारीको स्थानमा मैदान प्रवेश गरेका स्ट्राइकर सौफियान रहिमीले टोलीका लागि तेस्रो गोल गरेका थिए ।

मोरक्कोले अब सन् २०२२ को विश्वकप सेमिफाइनलमा फ्रान्ससँग २–० ले बेहोरेको हारको बदला लिने लक्ष्य राखेको छ । त्यतिबेला मोरक्को विश्वकपको अन्तिम चारमा पुग्ने पहिलो अफ्रिकी तथा अरब राष्ट्र बनेको थियो ।

मार्चमा वालिद रेग्रागुईको स्थानमा प्रशिक्षक नियुक्त भएका उआहबीले क्वार्टरफाइनलसम्म पुग्नु नै पर्याप्त उपलब्धि भएको धारणा अस्वीकार गरेका छन् ।

उनले भने, ‘हामी भोलिको खेल जित्न चाहन्छौँ । अहिले बाहिरिए पनि केही फरक पर्दैन भन्ने कुरा हामी सुन्न चाहँदैनौँ । हाम्रो लक्ष्य सेमिफाइनल पुग्नु हो ।’

यसैबिच, रियल म्याड्रिडका स्टार तथा मोरक्कोका खेलाडी ब्राहिम डियाजले आफ्नो टोली उपाधिका प्रमुख दाबेदार फ्रान्ससँग प्रतिस्पर्धा गर्न सक्षम रहेको बताएका छन् ।

क्लब फुटबलमा आफ्नै सहकर्मी किलियन एम्बाप्पेविरुद्ध खेल्न तयारी गरिरहेका डियाजले भने, ‘फ्रान्स उपाधिको प्रमुख दाबेदार हो । तर हामी पनि प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रमाणित गरिसकेका छौँ । मलाई आफ्नो टोलीमाथि पूर्ण विश्वास छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप