संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताएका छन् ।
- उनले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर वा संसद् भित्रैबाट समिति बनाएर जान सकिने बताए ।
- थापाले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता जस्ता संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधनबारेका बहस कार्यक्रममा बोल्दै सभापति थापाले सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको बताए ।
‘संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसद् भित्रैबाट समिति बनाएर जान सकिन्छ’, सभापति थापाले भने, ‘प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’
उनले पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने सभापति थापाको भनाइ छ । एकैपटक संविधान संशोधनका सबै कुरा खोल्दा दुर्घटना निम्तन सक्ने थापाको भनाइ छ ।
‘प्राथमिकता निर्धारण नगरी खुला गरियो भने यसले अराजकता निम्त्याउन सक्छ’, सभापति थापाले भने, ‘हामीले संविधान बनाउने बेलामा यी यी विषयबाहेक संशोधन गर्न सकिन्छ भनेको कुरा सरकारले सम्झनुपर्छ ।’ उनले संविधान संशोधनमा सरकारलाई सघाउने चाहाना भए पनि उत्तेजना वा पूर्वाग्रह नराख्ने बताए ।
उनले संविधान संशोधनबारे भइरहेको बहस र अन्तर्वस्तुबारे कांग्रेसको धारणा विगतदेखि नै स्पष्ट पार्दै आएको बताए ।
‘नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्र, पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट स्पष्ट पारिसकेको छ’, उनले भने, ‘संविधानको आधारभूत विषय लोकतन्त्र,गणतन्त्र, सङ्घीयता, समावेशिता,संसदीय शासन प्रणाली,बहुजातीयता, बहुधार्मिकता लगायतका विषयमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन ।’
उनले संविधानको सारभूत विषय सङ्कुचन नगरी सुशासन र सेवा प्रवाह चुस्त बनाउने गरी संशोधन गर्न कांग्रेस अग्रसर रहने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण