गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौँ । देशको बैंकिङ क्षेत्रमा ६ दशकभन्दा लामो इतिहास बोकेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो समय आफ्नो बजार हिस्सा र वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै गएको छ । चुनौतीपूर्ण आर्थिक अवस्थाका बाबजुद बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास र जोखिम व्यवस्थापनलाई केन्द्रमा राखेर व्यावसायिक विस्तारमा फड्को मारेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालका अनुसार पछिल्लो पाँच वर्षमा बैंकले निक्षेप सङ्कलन, कर्जा विस्तार र ग्राहक सेवाको गुणस्तरमा ठुलो उपलब्धि हासिल गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा रु. ५०३ अर्ब रहेको बैंकको निक्षेप करिब २४ प्रतिशत (रु. १२३ अर्ब) ले बढेर हाल रु. ६२६ अर्ब पुगेको छ । यससँगै समग्र बैंकिङ उद्योगको कुल निक्षेपमा राष्ट्रिय वाणिज्य बैंकको हिस्सा ७.५९ प्रतिशत कायम भएको छ ।
त्यसैगरी, कर्जा प्रवाहमा पनि बैंकले आक्रामक सुधार गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा कर्जा बजारको ४.८१ प्रतिशत हिस्सा ओगटेको बैंकले २०८२ चैत मसान्तसम्म आइपुग्दा आफ्नो बजार हिस्सा ५.७४ प्रतिशत पुर्याएको छ । यस अवधिमा बैंकले कुल ३ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।
समग्र अर्थतन्त्रमा कर्जाको माग सुस्त रहेका बेला वाणिज्य बैंकको कर्जा वृद्धिदर भने बैंकिङ उद्योगकै तुलनामा उच्च छ । सीईओ खनालका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा समग्र वाणिज्य बैंकहरुको वार्षिक कर्जा वृद्धिदर ७.४३ प्रतिशत (२७७ अर्ब रुपैयाँले वृद्धि भई कुल ५२ खर्ब ५१ अर्ब) मात्र रहँदा राष्ट्रिय वाणिज्य बैंकले भने १३.२६ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । यस अवधिमा मात्रै बैंकले ३० अर्ब थप कर्जा प्रवाह गरेको हो ।
व्यवसाय विस्तारसँगै बैंकको सेयर मूल्य र नाफामा पनि सकारात्मक सुधार आएको छ । २०८२ चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको किताबी मूल्य प्रतिसेयर ३५१.९८ रुपैयाँ र प्रतिसेयर आम्दानी २३.५५ रुपैयाँ पुगेको छ । सोही अवधिसम्म बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
प्रतिस्पर्धी बजारमा न्यूनतम ब्याजदरमा कर्जा दिने बैंकको पहिचान बनाएको यस बैंकले खराब कर्जा (एनपीएल) नियन्त्रणमा पनि सफलता पाएको छ।
सीईओ खनालका अनुसार समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहँदा राष्ट्रिय वाणिज्य बैंकको ४.४८ प्रतिशत मात्र रहनु निकै सकारात्मक पक्ष हो । यसलाई निरन्तर घटाउँदै लैजाने गरी बैंक व्यवस्थापनले रणनीतिक योजना बनाएर काम गरिरहेको उनले स्पष्ट पारे ।
हाल बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३ सय १६ वटा शाखा कार्यालय, ३३४ एटीएम र १ लाख ४७ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा छन् । २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कुल ४८ लाख ७० हजार ग्राहकलाई बैंकले सेवा दिइरहेको छ ।
न्यून कर्जा माग र बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीकैबिच रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले बैंकको संस्थागत साख मूल्याङ्कनलाई ए–प्लसमै पुनर्पुष्टि गरेको छ । यसले आफूहरूको मनोबल थप बढाएको सीईओ खनालले बताए ।
समयसापेक्ष ग्राहकको मागबमोजिम परिष्कृत सेवा दिइरहेको यस बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रिय स्तरमा पुरस्कृत समेत भइसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण