शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल

शुक्रबार, २६ असार २०८३, ०३ : ४६
शुक्रबार, २६ असार २०८३

सारांश

  • साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे ।
  • सेमिफाइनल अघि एम्बाप्पेको चोटले भने चिन्ता थपेको छ ।

काठमाडौँ ।   साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे । दुवै गोल खेलको दोस्रो हाफमा सम्भव भएको थियो । योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

पहिलो हाफमा फ्रान्सले पूर्ण दबाब बनाए पनि गोल गर्न सकेको थिएन । खेलको २९औँ मिनेटमा फ्रान्सले पेनाल्टीको सुवर्ण अवसर पाएको थियो । मोरोक्कोका नुसाइर माजरावीले एम्बाप्पेलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा एम्बाप्पे आफैँले प्रहार गरेका थिए, तर मोरोक्कोका गोलकिपर बोनोले उत्कृष्ट बचाउ गर्दै फ्रान्सलाई अग्रता लिनबाट रोकेका थिए ।

दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाए । यो गोलसँगै एम्बाप्पे यस विश्वकपमा ८ गोल गर्दै लियोनेल मेस्सीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । त्यसको ६ मिनेट लगतै ६६औँ मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।

फ्रान्सका लागि जितको खुसीबिच एम्बाप्पेको चोटले भने चिन्ता थपेको छ । ७८औँ मिनेटमा एम्बाप्पे कुनै विपक्षी खेलाडीको ट्याकल बिना नै अचानक मैदानमा लडेका थिए । उनले खेल जारी राख्न नसकेपछि ७८औँ मिनेटमा मैदानबाट बाहिरिए । उनको स्थानमा जीन–फिलिप माटेटा मैदान प्रवेश गरेका थिए । सेमिफाइनल अघि एम्बाप्पेको यो चोट ठुलै भएमा फ्रान्सका लागि महँगो सावित हुन सक्ने छ ।
गत विश्वकपमा सेमिफाइनलसम्म पुगेर इतिहास रचेको मोरोक्को यसपटक क्वाटरफाइनलबाटै बाहिरिएको छ । खेलको अन्तिम समयमा मोरोक्कोले केही राम्रा अवसर सिर्जना गरे पनि फ्रान्सेली रक्षापङ्क्ति र गोलकिपर माइक मेग्नानलाई उछिन्न सकेन । मोरोक्कोका लागि अचराफ हाकिमीले गरेका केही प्रयासहरू खेर गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप