शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया

शुक्रबार, २६ असार २०८३, १४ : ४५
शुक्रबार, २६ असार २०८३

सारांश

  • सांसद सिता थपलिया उर्मिलाले राहदानी विभाग अगाडि आत्मदाह गर्ने युवक गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् ।
  • उनले नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु राज्यको असफलता भएको बताइन् ।
  • सांसद थपलियाले हरियो बसलाई निलो पोतेर नागरिकले सुरक्षा महसुस नगर्ने भन्दै न्याय, रोजगारी र सुशासनबाट मात्र सुरक्षाको अनुभूति हुने बताइन् ।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिलाले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय युवक गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थपलियाले नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु राज्यको असफलता भएको बताइन् । 

सांसद थपलियाले विगतमा प्रेम आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गर्दा तत्कालीन काठमाडौँका मेयर बालेन साहले व्यक्त गरेका धारणाको स्मरण गराउँदै अहिलेको मौनताप्रति प्रश्न उठाइन् । ‘हिजो प्रश्न गर्ने प्रधानमन्त्रीज्यू आज कहाँ र के गर्दै हुनुहुन्छ ? के राज्य साँच्चिकै यति निरीह र असफल भइसकेको हो कि नागरिकले आफ्ना पीडा सुनाउन शरीरमा आगो लगाउनुपर्ने,’ उनले भनिन् । 

सरकारले गरिब र श्रमजीवी वर्गलाई बाँच्नै नसक्ने बनाएको आरोप लगाउँदै सांसद थपलियाले भनिन्, ‘मेयर हुँदा गरिबका साइकल लुटेर नष्ट गरियो, प्रधानमन्त्री हुँदा सुकुमबासीको घर भत्काइयो तर व्यवस्थापन गरिएन । आज दैनिक मजदुरी गरेर खाने मान्छे बाँच्नै नसक्ने स्थितिमा पुगेका छन् । यो सहर कसका लागि हो ?’

साझा यातायातका बसहरूलाई निलो रङ लगाइएको विषयमा व्यङ्ग्य गर्दै उनले रङ फेर्दैमा सुरक्षाको अनुभूति नहुने बताइन् । ‘प्रधानमन्त्रीज्यू, अब कालो चस्मा खोल्नुस् । सिंहदरबारका प्रतिवेदनले होइन, सडकमा छरिएको नागरिकको पीडाले देशको वास्तविक अवस्था देखाउँछ,’ उनले भनिन्, ‘हरियो बसलाई निलो पोतेर नागरिकले सुरक्षा महसुस गर्दैनन् । सुरक्षा तब महसुस हुन्छ जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ र सुशासन कायम गर्छ ।’

सवारी साधनमा लगाइएको चर्को जरिवानाका कारण सिर्जित तनावले गणेश नेपालीलाई आत्मदाहको बाटोमा धकेलेको उल्लेख गर्दै उनले सरकारको संवेदनहीनताको आलोचना गरिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप