शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

८७ प्रतिशत प्रगतिको दाबी गर्ने सरकारले युवालाई आत्मदाह गर्न बाध्य बनायो : खुश्बु ओली (पूर्णपाठ)

शुक्रबार, २६ असार २०८३, १६ : २२
शुक्रबार, २६ असार २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको सय दिनको कार्यकाल असफल भएको र जनतामा निराशा छाएको आरोप लगाएकी छन्।
  • उनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहलाई राज्यको असंवेदनशीलताको पराकाष्ठा भन्दै ८७ प्रतिशत प्रगतिको सरकारी दाबीमाथि प्रश्न उठाएकी छन्।
  • सांसद ओलीले सरकार भ्रष्टाचार, आर्थिक नीति र परराष्ट्र नीतिमा असफल भएको र गणतान्त्रिक व्यवस्थामाथि पुनर्विचार गरी संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रबारे बहस गर्नुपर्ने बताएकी छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको सयदिने कार्यकाल पूर्ण रूपमा असफल भएको भन्दै यसले जनतामा आशाको सट्टा निराशा मात्रै थपेको आरोप लगाएकी छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पार्टीको तर्फबाट विशेष समय दिएर बोल्दै उनले मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको घटनालाई राज्यको असंवेदनशीलताको पराकाष्ठा भएको बताइन्। सरकारले सुशासन र समृद्धिमा ८७ प्रतिशत प्रगति भएको दाबी गरिरहँदा एउटा युवा आत्मदाह गर्न बाध्य हुनु गम्भीर प्रश्न भएको उनको भनाइ थियो।

ओलीले सरकारले भ्रष्टाचारविरुद्धको नारा दिए पनि व्यवहारमा आफ्ना पक्षधरलाई जोगाउने र प्रतिशोधको राजनीति गरेको आरोप लगाइन्। सहकारी अपचलन र सम्पत्ति शुद्धीकरणका मुद्दामा प्रभावशाली व्यक्तिहरूलाई उन्मुक्ति दिने प्रयास भइरहेको उनको दाबी थियो।

आर्थिक नीतिमा सरकार विरोधाभासपूर्ण देखिएको उल्लेख गर्दै उनले वैदेशिक ऋणको विरोध गर्नेहरू अहिले त्यही ऋणका लागि हात फैलाइरहेको टिप्पणी गरिन्। साथै नेपाल 'फ्याटफ'को ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पर्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिन्।

परराष्ट्र नीतिमा पनि सरकार असफल भएको आरोप लगाउँदै उनले प्रधानमन्त्रीका विदेश भ्रमणबाट राष्ट्रिय हितअनुकूल कुनै ठोस उपलब्धि हासिल नभएको बताइन्।

ओलीले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने धारणा राख्दै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रबारे गम्भीर राष्ट्रिय बहस सुरु गर्नुपर्ने बताइन्। साथै संविधान संशोधनलाई खुला छलफलको विषय बनाउनुपर्नेमा जोड दिइन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप