सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण

सोमबार, २९ असार २०८३, १७ : २३
सोमबार, २९ असार २०८३

सारांश

  • अभिनेता मुजम्मिल इब्राहिमले अभिनेत्री दीपिका पादुकोणसँगको पुरानो सम्बन्धबारे सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएका छन्।
  • उनले भाइरल भिडियो एक वर्षअघि रेकर्ड गरिएको अन्तर्वार्ताको सम्पादित अंश मात्र भएको र यसले वास्तविक सन्दर्भलाई गलत ढंगले प्रस्तुत गरेको बताएका छन्।
  • मुजम्मिलले आफूले सधैँ विगतका मानिसहरूप्रति सम्मान व्यक्त गर्ने गरेको र आफ्नो काम तथा जीवनमा ध्यान केन्द्रित गर्न चाहेको स्पष्ट पारेका छन्।

मुम्बई । बलिउड अभिनेता तथा मोडल मुजम्मिल इब्राहिम आफ्नो एउटा पुरानो बयानका कारण फेरि चर्चामा आएका छन्। 

विगतमा आफूले अभिनेत्री दीपिका पादुकोणसँग दुई वर्ष सम्बन्धमा रहेर पछि उनलाई छोडेको तथा दीपिका आफैँले प्रस्ताव राखेको भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएका हुन्। 

भिडियो भाइरल भएपछि उनले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत एक पोस्ट सेयर गर्दै सत्यता सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुन अन्तर्वार्ताको चर्चा भइरहेको छ र जसलाई गलत तरिकाले नयाँ दाबीका रूपमा प्रस्तुत गरिएको छ, त्यो वास्तवमा एक वर्षभन्दा पहिले नै रेकर्ड गरिएको थियो।’ 

अहिले भाइरल भइरहेका क्लिपहरू एक लामो कुराकानीका साना अंशहरू मात्र भएको उनले बताए। सम्पादनका क्रममा कतिपय कुराको सन्दर्भ र सम्मानपूर्वक गरिएका कुराकानीका पाटाहरू छुट्ने हुनाले कुराकानीका केही टुक्राहरूलाई मात्र अलग गरेर हेर्दा वास्तविक अर्थ र सन्दर्भ बदलिने उनको भनाइ छ। 

आफूले सधैँ आफ्नो अतीतसँग जोडिएका मानिसहरूका बारेमा सम्मानका साथ कुरा गर्ने गरेको र त्यो बानी आज पनि नबदलिएको उनले स्पष्ट पारेका छन्। अरू जस्तै आफूले पनि धेरै वर्ष आफ्नो काम र जीवन सुधार्नमा लगाएकाले कुराकानीको केन्द्र पनि त्यसमै रहोस् भन्ने चाहना उनले व्यक्त गरे।

  • के थियो मुजम्मिलको पुरानो बयान ?

केही महिनाअघि एउका पडकास्टमा प्रस्तोता सिद्धार्थ काननले मुजम्मिललाई दीपिका पादुकोणसँगको सम्बन्धबारे प्रश्न सोधेका थिए। सुरुमा मुजम्मिलले यस विषयमा कुरा गर्न अस्वीकार गर्दै भनेका थिए, ‘मलाई लाग्छ हामीले यस विषयमा कुरा गर्नु हुँदैन, किनभने अहिले उनको विवाह भइसकेको छ।’ 

आफूहरू निकै राम्रो साथी रहेको र अहिले पनि उनको धेरै इज्जत गर्ने उनले बताएका थिए। थप सोधिएका प्रश्नमा उनले मोडलिङका दिनहरूमा दीपिकालाई भेटेको र सँगै शो गरेको बताएका थिए। 

दीपिका मुम्बईमा नयाँ हुँदा सुरु भएको उनीहरूको सम्बन्ध दुई वर्षसम्म चलेको र दीपिकाले प्रस्ताव राखेको भए पनि सम्बन्ध विच्छेद आफूले गरेको उनले उल्लेख गरेका थिए। यसमा कुनै पछुतो नरहेको बताउँदै उनले भनेका थिए, ‘त्यस समयमा म स्टार थिएँ र उनी थिइनन्। पछि उनी ठुली स्टार बनिन् र अहिले मानिसहरू मलाई चिन्दैनन् तर उनलाई चिन्छन्।’ 

आफू उनको प्रशंसक भएको र उनका चलचित्रहरू हेर्ने गरेको पनि उनले बताएका थिए। हाल भाइरल भएको भिडियोमा धेरै काँटछाँट गरिएको र वास्तविक भिडियोमा मुजम्मिलले बारम्बार यस विषयमा कुरा गर्न आनाकानी गरेको देखिन्छ।

  • को हुन् मुजम्मिल इब्राहिम ?

मुजम्मिलले आफ्नो करियरको सुरुवात मोडलका रूपमा गरेका थिए र उनी धेरै ठुला फेसन ब्रान्ड तथा विज्ञापनहरूमा काम गरेर प्रख्यात भएका थिए। सन् २००३ मा ग्ल्याडरेग्स म्यानहन्टको उपाधि जितेपछि उनले मोडलिङ उद्योगमा ठुलो पहिचान बनाए। 

भारतका साथै विदेशमा पनि मोडलिङ असाइनमेन्ट गरेका उनी कुनै समय सबैभन्दा बढी पारिश्रमिक लिने मोडलका रूपमा चिनिन्थे। सन् २००७ मा पूजा भट्टको निर्देशन र महेश भट्टको लेखनमा बनेको चलचित्र ‘धोखा’ बाट उनले बलिउडमा पाइला टेकेका थिए। चलचित्रबाहेक उनले टेलिभिजन शो र ओटीटी प्रोजेक्टहरूमा पनि अभिनय गरेका छन्। उनी भर्खरै वेब सिरिज ‘स्पेशल ओप्स’ मा देखा परेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप