रवि र बालेनबिच शनिबार पनि भएको थियो ४ घण्टा छलफल
सारांश
- रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पार्टी र सरकार सञ्चालनका विषयमा शनिबार र आइतबार लामो छलफल भएको छ।
- छलफलमा सुकुमवासी व्यवस्थापन, मन्त्रीहरूको कार्यसम्पादन, कूटनीतिक सम्बन्धलगायतका विषयमा गम्भीरतापूर्वक कुराकानी भएको स्रोतले जनाएको छ।
- कार्यसम्पादन कमजोर देखिएका मन्त्री फेरबदल गर्ने विषयमा पनि छलफल भए पनि तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबिच शनिबार पनि लामो छलफल भएको पाइएको छ। पार्टी र सरकारबिच मतभेद बढ्दै गएको अवस्थामा रवि र बालेन लामो छलफलमा जुटेका हुन्।
त्यसको भोलिपल्ट अर्थात आइतबार बिहान ११ बजे फेरि प्रधानमन्त्री बालेन सभापति रविलाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । आइतबार समेत करिब चार घण्टासम्म सरकारको कामकारबाही, सदन, सडक र सामाजिक सञ्जालमा बढ्दै गएको असन्तुष्टि, सुकुमबासी समस्या, केन्द्रीय समितिको पूर्णता, जनतामा बढ्दै गएको निराशा, कूटनीतिक सम्बन्धलगायत विषयमा गम्भीर छलफल भएको स्रोतको दाबी छ।
यही विषयमा शनिबार रवि र बालेनबिच प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ६ बजेदेखि १० बजेसम्म छलफल भएको थियो। भेटमा सभापति रवि र अर्थमन्त्री स्वर्णिम वाग्ले सहभागी भएको बुझिएको छ।
‘पार्टी तथा सरकार सञ्चालनको विषयमा रवि र बालेन नियमित छलफलमै छन्। दुई नेताबीच आइतबार मात्र होइन, शनिबार पनि छलफल भएको थियो। अस्ति प्रधानमन्त्रीलाई भेट्न रवि अर्थमन्त्रीलाई लिएर सरकारी निवास बालुवाटार पुगेका थिए। हिजो प्रधानमन्त्री आफैँ रविलाई भेट्न बुढानीलकण्ठ पुगे। नियमित भेटघाट भइरहन्छ। पार्टी एकतापछि लामो छलफल भएको यो पहिलो पटक हो,’ स्रोतले भन्यो।
बालेन सरकारको कार्यशैलीलाई लिएर पछिल्लो समय पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको छ। खासगरी सुकुमवासी व्यवस्थापनको विषयलाई लिएर सत्ता पक्षकै सांसदहरूले सरकारको आलोचना गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकालाई लिएर प्रधानमन्त्री सन्तुष्ट देखिएका छैनन्। स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका मन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल, कृषिमन्त्री गीता चौधरीलगायत मन्त्रीको कार्यसम्पादनलाई लिएर रवि पनि सन्तुष्ट नदेखिएको बुझिएको छ।
‘अर्थमन्त्रीकै कारण सेयर बजार समस्याग्रस्त छ। धितोपत्र बोर्डको अध्यक्षमा स्वर्णिमका बिजनेस पार्टनर गोपालप्रसाद भट्ट नियुक्त भए। स्वर्णिमले "कन्फ्लिक्ट अफ इन्ट्रेस्ट" हुने गरी आफ्नो मान्छे च्याप्ने काम गर्नुभयो। यसले पनि समस्या आएको छ,’ बालेन निकटस्थले भने, ‘अर्को कुरा अर्थमन्त्रीले पुँजी निर्माणमा ध्यान दिनुभएको छैन। वैदेशिक ऋणमा मात्र ध्यान दिनुभयो। तर अर्थतन्त्रमा उत्साह आउने गरी बजेट ल्याउन सक्नुभएको छैन। स्वर्णिममा पढाइको घमण्ड देखियो। मन्त्रालयको काममा नभई अनावश्यक काममा अल्झिनुभएको छ। अर्थमन्त्रीको कार्यशैलीप्रति प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न।’
तर संस्थापक निकटस्थले प्रधानमन्त्रीबाट मन्त्रालयको काममा अनावश्यक हस्तक्षेप बढाएको, निजी क्षेत्रका विज्ञ र व्यवसायीसँग अर्थमन्त्रीलाई बाइपास गरी प्रधानमन्त्रीले भेटघाट गरेको गुनासो गरेका छन्। बालेनले असार २४ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएर छलफल गरेका थिए। उक्त छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित थिए। प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर अर्थमन्त्री असन्तुष्ट देखिएपछि रविले सहजीकरण गर्न भूमिका खेलेको बुझिएको छ।
छलफलमा कार्यसम्पादनका हिसाबले कमजोर देखिएका मन्त्री फेरबदल गर्ने विषयमा पनि छलफल भएको बुझिएको छ। यद्यपि प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार तत्काल मन्त्रिपरिषद् फेरबदल नहुने बताइएको छ।
‘सरकार गठन भएको सय दिन पुगेको हिसाबले कार्यसूचीअनुसार काम भएका वा नभएका विषयमा समीक्षा भएको छ। तर अहिले नै मन्त्रिपरिषद् फेरबदल हुँदैन,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।
प्रधानमन्त्रीको सचिवालय स्रोतले प्रधानमन्त्रीले गलत नियतले कसैलाई पनि हस्तक्षेप नगरेको जिकिर गरेको छ । सचिवालयले स्रोतले थप्यो, ‘सरकारले गलत नियतले हस्तक्षेप गरेको छैन। सरकारका मन्त्री नयाँ भएकाले अनुभवको कमी छ। सयदिने कार्यसूचीअनुसार परिणाम निकाल्न सचिवालयले सहजीकरणको भूमिका खेलेको हो। सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पीएमओ) मातहत शक्ति केन्द्रित गर्न खोजिएको होइन। हाम्रो मनसाय सम्बन्धित मन्त्रालयलाई नै शक्तिशाली बनाउने हो।’
सुकुमवासी व्यवस्थापन, पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन, कूटनीतिक सम्बन्धलगायत विषयमा बाहिर अनावश्यक रूपमा उचाल्न खोजिएको प्रधानमन्त्रीको सचिवालयको आरोप छ।
‘सुकुमवासी समस्या समाधान गर्ने दिशामा नै सरकार गइरहेको छ। अहिले सुकुमवासीहरूको स्क्रिनिङ गर्ने काम भइराखेको छ। वास्तविक सुकुमवासी पहिचान भएपछि उनीहरूको उपयुक्त ठाउँमा व्यवस्थापन हुन्छ। लालपुर्जा वितरणको काम पनि सुरु हुन्छ,’ सचिवालयले भन्यो, ‘पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने सवालमा असहयोग गरेको विषय झुट हो। प्रधानमन्त्रीले पहिले नै पार्टी सभापतिले पार्टी सञ्चालन गर्नोस्, सरकार म सञ्चालन गर्छु भन्नुभएको छ। मनोनयन गर्नेको सूची नदिएर असहयोग गरेको होइन।’
छलफलमा रविले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्रीले सरकारको कामकारबाहीको विषयमा सत्ता पक्षकै सांसदहरूले विरोध गरेकोमा गुनासो पोखेको बुझिएको छ। पछिल्लो समय छिमेकी मुलुक चीनलाई झस्काउने गरी टिओबी सक्रिय भएको, तिब्बतका निर्वासित नेता दलाई लामाको जन्मोत्सव मनाउन सरकारले स्वीकृति दिएको, एमआरपी प्रकरणमा प्रधानमन्त्री सचिवालयले हस्तक्षेप गरेको विषयमा पनि रविले बालेनसँग चासो राखेको बुझिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले महाधिवेशनपछि दुई शीर्ष नेताबीच भएको छलफललाई बाहिर अतिरञ्जित गरिएको जिकिर गरे। पाँच वर्ष काम गर्न जनताको म्यान्डेट पाएको सरकारले तीन महिनामै काम गर्न सकेन भनेर निष्कर्ष निकाल्न नहुने उनको तर्क छ।
‘दुईतिहाइ नजिक जनमत प्राप्त गरेको पार्टी भएकाले अपेक्षा धेरै हुनु स्वाभाविक हो। तर पाँच वर्षको म्यान्डेट पाएको सरकारले तीन महिनामै केही गर्न सकेन भनेर निष्कर्ष निकाल्ने बेला भएको छैन। दुवै जना वरिष्ठ नेता भएकाले नियमित छलफल हुनु, पार्टी र सरकार सञ्चालनको विषयमा छलफल हुनु स्वाभाविक हो,’ आचार्यले सोमबार बिहान रातोपाटीसँग भने, ‘नेताहरूबीच संवाद नै भएन भने समस्या उत्पन्न हुन्छ। बाहिर जसरी प्रचार गरिएको छ, त्यस्तो भएको छैन। सौहार्दपूर्ण रूपमा सभापति र प्रधानमन्त्रीबीच छलफल भइरहेको छ।’
आचार्यले पार्टी र सरकार सञ्चालनको विषयमा विवाद पनि नरहेको र दूरी पनि नभएको जिकिर गरे।
‘सभापति र प्रधानमन्त्रीको छलफलमा न समस्या छ, न दूरी नै बढेको छ। दुई नेताको आपसी समझदारीअनुसार नै पार्टी र सरकार सञ्चालन हुन्छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुला क्लबका महँगा खेलाडी, कतिको मूल्यवान् रह्यो तिनको विश्वकपमा प्रदर्शन ?
-
सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्ड
-
मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र
-
बहुमूल्य वस्तु भन्दै टल्किने ढुङ्गा देखाएर ठगी गर्ने छ जना पक्राउ
-
पानीमा भिज्दै सिंहदरबारको गेटमा धर्ना बस्ने निहारिका प्रहरीको नियन्त्रणमा
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण