सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु

सोमबार, २९ असार २०८३, १६ : २८
सोमबार, २९ असार २०८३

सारांश

  • देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ ।
  • यस अवधिमा सर्पदंशबाट ३ जना, बाढीबाट २ जना र पहिरोबाट २ जना गरी जम्मा ७ जनाले ज्यान गुमाएका छन् ।
  • विपद्का कारण ४४ जिल्ला प्रभावित भएका छन् भने २५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक नोक्सानी भएको छ ।

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार बुलेटिन अनुसार, यस अवधिमा सर्पदंश, बाढी र पहिरोका कारण मानवीय क्षति भएको हो ।

प्राधिकरणको विवरण अनुसार, सर्पदंशबाट ३ जना, बाढीबाट २ जना र पहिरोबाट २ जना गरी जम्मा ७ जनाले ज्यान गुमाएका छन् । यी विभिन्न घटनाहरूमा परी १९ जना घाइते भएका छन् । विपद्का कारण देशका ४४ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ । विपद् प्रतिकार्यका लागि देशभर २१६ स्थानमा प्रहरी परिचालन गरिएको छ ।

यस अवधिमा करिब २५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा बाढीका १३ र पहिरोका २० वटा घटनाहरू दर्ता भएका छन् । यसैबिच, चालु वर्षको वैशाख १ गतेदेखि असार २९ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा विपद्का घटनामा परी मृत्यु हुनेको कुल संख्या १५३ पुगेको छ ।

यस अवधिमा ३ हजार १२५ वटा विपद्का सानाठूला घटनाहरू भएका छन्, जसबाट ४ हजार १९५ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यो अवधिमा सबैभन्दा बढी ३७ जनाको मृत्यु सर्पदंशका कारण भएको छ भने चट्याङबाट २३ र लेक लागेर २१ जनाको मृत्यु भएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा सुनसरीको तरहरा केन्द्रमा सबैभन्दा बढी १२३.३ मिलिमिटर वर्षा मापन गरिएको छ । तापक्रमतर्फ डोटीको दिपायलमा सबैभन्दा बढी ३६‍.४ डिग्री सेल्सियस र सोलुखुम्बुको लुक्लामा सबैभन्दा कम १५.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप