सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुस्ताउँदैछ चीनको आर्थिक वृद्धिदर

सोमबार, २९ असार २०८३, १६ : ३०
सोमबार, २९ असार २०८३

सारांश

  • चीनको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासमा ४.५ प्रतिशतमा सुस्तिने अनुमान गरिएको छ ।
  • कमजोर घरेलु मागले निर्यातबाट प्राप्त लाभलाई कमजोर बनाएको विश्लेषण गरिएको छ ।
  • अर्थतन्त्रलाई गति दिन चिनियाँ सरकारले थप आर्थिक प्रोत्साहनका कार्यक्रम ल्याउने अपेक्षा गरिएको छ ।

बेइजिङ । चीनको अर्थतन्त्र सन २०२६ को दोस्रो त्रैमासमा अपेक्षाकृत सुस्त बढ्ने अनुमान गरिएको छ ।

वर्षको सुरुआतमा सन्तोषजनक आर्थिक प्रदर्शन देखिए पनि कमजोर घरेलु मागले निर्यातबाट प्राप्त लाभलाई कमजोर बनाएको विश्लेषण सार्वजनिक भएको छ । यससँगै अर्थतन्त्रलाई गति दिन चिनियाँ सरकारले थप आर्थिक प्रोत्साहनका कार्यक्रम ल्याउने अपेक्षा बढेको छ ।

रोयटर्सले ५४ जना अर्थशास्त्रीबीच गरेको सर्वेक्षणअनुसार अप्रिलदेखि जुनसम्मको अवधिमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ४ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । पहिलो त्रैमासमा चीनको आर्थिक वृद्धि ५ प्रतिशत रहेको थियो । यदि यो अनुमान सही सावित भयो भने चीनको आर्थिक वृद्धि अप्रिलमा गरिएको रोयटर्सको अघिल्लो सर्वेक्षणमा गरिएको ४ दशमलव ७ प्रतिशतको अनुमानभन्दा पनि कम हुनेछ । साथै यो चीन सरकारले सन २०२६ का लागि तय गरेको ४ दशमलव ५ देखि ५ प्रतिशतको वार्षिक लक्ष्यको तल्लो सीमामा रहनेछ ।

विश्लेषकहरूका अनुसार चीनको अर्थतन्त्रमा अहिले उत्पादन र मागबीचको असन्तुलन बढ्दै गएको छ । कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको बढ्दो निर्यातका कारण औद्योगिक उत्पादन बलियो देखिए पनि घरेलु उपभोग र निजी क्षेत्रको लगानी कमजोर बन्दै गएको छ । लामो समयदेखि जारी सम्पत्ति बजारको मन्दी र अन्तर्राष्ट्रिय तेल मूल्यमा देखिएको उतारचढावले पनि अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ ।

अमेरिकी बहुराष्ट्रिय  लगानी बैंक गोल्डम्यान साक्सका विश्लेषकहरूले चीनको आर्थिक वृद्धि असन्तुलित बन्दै गएको बताएका छन् । उनीहरूका अनुसार निर्यातले समग्र आर्थिक गतिविधिलाई सहारा दिइरहे पनि घरेलु माग उल्लेखनीय रूपमा कमजोर भएको छ । साथै निर्यातबाट प्राप्त लाभले रोजगारी सिर्जना वा कम्पनीहरूको नाफामा उल्लेखनीय सुधार ल्याउन नसकेको उनीहरूको निष्कर्ष छ ।

यसैबिच मंगलबार सार्वजनिक हुने चीनको जुन महिनाको निर्यात तथ्यांकमा निर्यात वृद्धि केही सुस्त भए पनि अझै बलियो रहने अनुमान गरिएको छ । अमेरिकी नयाँ भन्सार शुल्क लागु हुन सक्ने सम्भावनाअघि नै धेरै कम्पनीहरूले अमेरिकातर्फ सामान पठाउने गति बढाएका छन् । कृत्रिम बौद्धिकतासम्बन्धी उत्पादनको बढ्दो माग र मूल्य प्रतिस्पर्धाले पनि निर्यातलाई टेवा दिएको विश्लेषण गरिएको छ ।

लगानीकर्ताहरूले जुलाईको अन्त्यतिर बस्ने चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकलाई विशेष चासोका साथ हेरिरहेका छन् । सो बैठकबाट वर्षको बाँकी अवधिका लागि आर्थिक नीति र सम्भावित प्रोत्साहन कार्यक्रमबारे संकेत आउने अपेक्षा गरिएको छ । यद्यपि धेरै विश्लेषकहरूले आर्थिक वृद्धि अझ तीव्र रूपमा कमजोर नभएसम्म चीनले ठूलो मात्रामा प्रोत्साहन प्याकेज घोषणा नगर्ने अनुमान गरेका छन् । निर्यात अझै अपेक्षाकृत बलियो रहेकाले र औद्योगिक क्षेत्रमा रहेको अतिरिक्त उत्पादन क्षमता घटाएर मूल्य घट्ने प्रवृत्ति नियन्त्रण गर्न सरकारले ध्यान केन्द्रित गरेकाले तत्काल आक्रामक नीति परिवर्तन हुने सम्भावना कम रहेको उनीहरूको भनाइ छ ।

रोयटर्सको सर्वेक्षणअनुसार तेस्रो त्रैमासमा चीनको आर्थिक वृद्धि केही बढेर ४ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । तर चौथो त्रैमासिकमा पुनः ४ दशमलव ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । समग्र सन २०२६ मा चीनको आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशत रहने अनुमान गरिएको छ । गत वर्ष यो वृद्धि ५ प्रतिशत थियो । सन २०२७ मा भने वृद्धि दर थप घटेर ४ दशमलव ४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।

त्रैमासिक आधारमा हेर्दा दोस्रो त्रैमासमा चीनको अर्थतन्त्र शून्य दशमलव ९ प्रतिशतले विस्तार हुने अनुमान छ । पहिलो त्रैमासमा यो वृद्धि १ दशमलव ३ प्रतिशत रहेको थियो । चिनियाँ सरकारले जुलाई १५ मा दोस्रो त्रैमासको जीडीपीसँगै जुन महिनाको खुद्रा बिक्री, औद्योगिक उत्पादन तथा स्थिर लगानीसम्बन्धी आधिकारिक तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको छ । विश्लेषकहरूका अनुसार चीनले आगामी महिनाहरूमा अर्थतन्त्रलाई सहारा दिन मुख्य रूपमा वित्तीय नीति प्रयोग गर्ने सम्भावना छ । तेलको मूल्य केही घटे पनि चिनियाँ केन्द्रीय बैंकसँग ब्याजदरमा ठूलो कटौती गर्ने पर्याप्त अवसर नरहेकाले सरकारले सार्वजनिक खर्च बढाउने रणनीति अपनाउन सक्ने अनुमान गरिएको छ ।

चीन सरकारले सन २०२६ का लागि बजेट घाटा जीडीपीको करिब ४ प्रतिशत रहने लक्ष्य तय गरेको छ । आर्थिक गतिविधिलाई समर्थन गर्न ठूलो परिमाणमा सरकारी ऋणपत्र जारी गर्ने योजना पनि बनाइएको छ । क्यापिटल इकोनोमिक्सका अनुसार वर्षको दोस्रो भागमा सरकारी खर्च बढेसँगै चीनको आर्थिक वृद्धि केही सुधार हुन सक्छ । तर उत्पादन क्षमता अत्यधिक रहेकाले चीनको अर्थतन्त्र अझै पनि मुख्य रूपमा निर्यातमै निर्भर रहने सम्भावना रहेको छ ।

रोयटर्सले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूले चिनियाँ केन्द्रीय बैंकले सन २०२६ भरि आफ्नो प्रमुख सातदिने रिभर्स रिपो दर यथावत् राख्ने अपेक्षा गरेका छन् । बैंकहरूले अनिवार्य रूपमा राख्नुपर्ने नगद अनुपात पनि तेस्रो त्रैमासिकसम्म स्थिर रहने र चौथो त्रैमासिकमा मात्र शून्य दशमलव २० प्रतिशत बिन्दुले घट्न सक्ने अनुमान गरिएको छ । चिनियाँ केन्द्रीय बैंकले मे २०२५ यता प्रमुख ब्याजदर र नगद सञ्चिति अनुपातमा कुनै परिवर्तन गरेको छैन । यसको सट्टा छोटो अवधिको तरलता व्यवस्थापनमार्फत वित्तीय प्रणालीलाई सहयोग गर्दै मौद्रिक नीतिको संरचना सुधार गर्ने रणनीति अपनाइरहेको छ ।

यसैबीच, चीनमा यस वर्ष उपभोक्ता मूल्यवृद्धि दर १ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सरकारको करिब २ प्रतिशतको लक्ष्यभन्दा कम हो । सन २०२७ मा पनि मुद्रास्फीति यही हाराहारीमा रहने प्रक्षेपण गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप