मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
अपडेट

सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल

मङ्गलबार, ३० असार २०८३, १० : ४१
मङ्गलबार, ३० असार २०८३

सारांश

  • लेखा समितिमा राहदानी छपाई प्रकरणबारे छलफल अदालतमा विचाराधीन मुद्दा भएको भन्दै सांसदहरूले आपत्ति जनाएपछि बैठक स्थगित भएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राहदानी प्रकरण न्यायिक परीक्षणको विषय भएकोले एजेन्डा परिवर्तन गर्न माग गरेका थिए ।
  • सांसदहरूले अदालतमा विचाराधीन मुद्दामा छलफल रोक्न माग गरेपछि सभापतिले बैठक स्थगित गरेका हुन् ।

काठमाडौँ । राहदानी छपाई प्रकरणमा लेखा समितिले थालेको छलफल विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । 

मंगलबार राखिएको लेखा समितिको बैठकमा बोल्ने सदस्यहरूले अदालतमा विचाराधीन मुद्दामा समितिमा छलफल गर्न नमिल्ने भन्दै आपत्ति जनाएपछि यो विषयमा छलफल नै नभएको हो । योसँगै समितिको बैठक समेत अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । 

आजको बैठकमा बोल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सबैजसो सांसदले अदालतमा विचाराधीन विषय भएकोले छलफलको एजेन्डा परिवर्तन गर्न माग गरेका थिए । सांसद गणेश पराजुलीले राहदानीको विषय विशेष अदालतमा रहेको र यो न्यायिक परीक्षणको विषय भएकोले यो एजेन्डालाई छोडेर अन्य विषयमा छलफल गर्न आग्रह गरे । 

उनले यो विषय कर्मचारी मात्रै नभएर राजनीतिक स्वार्थको विषय समेत भएकोले सबै विषयको निरूपण अदालतबाट हुनुपर्ने र न्यायालयप्रति आफूहरूको विश्वास रहेको बताए । अर्की सांसद क्रान्तिशिखा धितालले पनि राहदानीको विषयमा छलफल गर्ने उपयुक्त समय नभएको भन्दै विविध विषयमा प्रवेश गर्न माग गरिन् । 

अन्य सांसदहरूले समेत समितिको गरिमा र यसअघिका योगदानलाई विचार गर्दै अदालतमा विचाराधीन मुद्दामा राखिएको छलफल रोक्न माग गरेका थिए । योसँगै सभापति भरतबहादुर खड्काले बैठक स्थगित गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप