दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
सारांश
- नेकपाका सांसद युवराज दुलालले दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियामा प्रश्न उठाएका छन्।
- उनले सरकारका नियुक्ति प्रक्रियामा चरम बेथिति रहेको दाबी गर्दै अन्तर्वार्ताको समयभन्दा अगावै नतिजा सार्वजनिक गरी अध्यक्ष नियुक्ति गरिएको बताए।
- सांसद दुलालले सुकुम्बासी समस्या, गणेश नेपालीको आत्मदाह प्रकरण, महँगी, सहकारी ठगी प्रकरण र मिटरब्याज पीडितको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ । नेकपाका सांसद युवराज दुलालले दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियामा प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले सरकारको सय दिने कार्यकाल र नयाँ भनिएका दलहरूको दोहोरो चरित्रमाथि आलोचना गरेका हुन्।
उनले सरकारका नियुक्ति प्रक्रियामा चरम बेथिति रहेको दाबी गरेका छन् । उनले भने, ‘असार २४ गते ५ बजेसम्म अन्तर्वार्ताको समय राखेर ३ बजे नै नतिजा सार्वजनिक गरेर अध्यक्ष नियुक्ति गरियो । महामहिम सरकार, सुशासनको यो भन्दा भद्दा मजाक अरु केही छ कि ?’
सांसद दुलालले संसद् सरकारको कार्यकर्ता वा सन्तान नभई जन्मदाता भएको स्मरण गराउँदै मन्त्रीहरूले रोस्टमको प्रयोग गरेर सांसदलाई धम्क्याएको भन्दै आक्रोश पोखे।
‘यो सदन मन्त्रीले सांसद थर्काउने थलो होइन। संसद्, सांसदले सरकारलाई प्रश्न गर्ने र सांसदका प्रश्नको सरकारले जवाफ दिने थलो हो,’ उनले भने । सरकारको सय दिन र मधुमास सकिएको भन्दै उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर जनतालाई आश्वस्त पार्न माग समेत गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै सांसद दुलालले हिजो बाहिर हुँदा एउटा कुरा गर्ने र आज सत्तामा पुगेपछि अर्कै व्यवहार देखाएको भन्दै व्यंग्य गरे।
‘हिजो पत्रकार हुँदा नेता खराब, आज नेता हुँदा पत्रकार खराब। हिजो अरुले विदेशी ऋण लिँदा राति निद्रा लागेन, आज आफूले विदेशी ऋण लिँदा ऋण नलिई देश कसरी चल्छ?’ भन्दै उनले प्रश्न गरे।
उनले खुल्ला प्रतिस्पर्धाको नाममा आफू अनुकूलका व्यक्ति छान्ने काम भएको र रास्वपाको पक्षमा मत माग्नेले 'एक नम्बर बढी पाउने' नीति अख्तियार गरिएको आरोप लगाए ।
सरकारले सुकुम्बासीहरूमाथि हदैसम्मको अमानवीय व्यवहार गरेको सांसद दुलालले दाबी गरे। सुकुम्बासीहरूलाई रातारात होल्डिङ सेन्टरमा लगेर खानपिन समेत बन्द गराइएको र बाढी पस्दा बिचल्ली भएको उनले बताए।
‘सुकुम्बासी भेट्न जान भिजिलान्तेको अनुमति लिनुपर्ने हो?’ प्रश्न गर्दै उनले भने, ‘एउटा भिजिलान्ते अरुको शिरको टोपी थुत्ने अनि राज्यको प्रहरीले त्यो भिजिलान्तेको चाकडी गर्दै उल्टै अभियानकर्तालाई कठालोमा समातेर पक्रने? यो कानुनी राज हो कि प्रहरी राज हो कि गुण्डा राज हो?’
गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको चरम लापरवाही देखिएको उल्लेख गर्दै उनले घटनालाई विषयान्तर गर्न सरकारले छद्म भेषमा 'गाली आतङ्क' र पञ्चायतकालीन 'भूमिगत गिरोह' को झल्को दिने गरी भिजिलान्ते परिचालन गरेको आरोप लगाए।
महँगी र सहकारी प्रकरणमा सरकारलाई प्रश्न
आफ्नै तथ्यांक अनुसार महँगी दोब्बर बढे पनि गरिब, किसान र मजदुरको आम्दानी नबढेको भन्दै उनले सरकारलाई भ्रमबाट मुक्त हुन आग्रह गरे।
यस्तै, मिटरब्याज पीडित न्याय माग्न राजधानी आउँदै गर्दा गृहमन्त्री बाटोमै भेट्न पुगेको प्रसङ्ग कोट्याउँदै उनले सोधे, ‘अब मिटरब्याज पीडितले न्याय पाउँछन् कि राजधानी आउन रोक ?’
साथै, उनले सहकारी ठगी प्रकरणमा कुन सहकारीबाट कति पैसा फिर्ता भयो र सञ्चालकबाट कति कर्जा उठाइयो भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण