बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक

बुधबार, ३१ असार २०८३, ०३ : ३६
बुधबार, ३१ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • स्पेन आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो र सेमिफाइनलमा शतप्रतिशत सफलताको विरासत कायम राखेको छ ।
  • यस जितसँगै स्पेन फिफाको प्रत्यक्ष वरीयतामा विश्वको नम्बर एक टोली बनेको छ भने फ्रान्स दोस्रो स्थानमा झरेको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा युरोपेली महारथी स्पेनले फ्रान्समाथि २–० को शानदार जित दर्ता गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । डलासको स्टेडियममा भएको रोमाञ्चक र उच्च दबाबपूर्ण भिडन्तमा स्पेनले फ्रान्सको लगातार तेस्रो पटक फाइनल पुग्ने सपनालाई समाप्त पारिदिएको हो ।

योसँगै स्पेन आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । स्पेनिस टोलीले अब उपाधिका लागि आगामी सोमबार बिहान १२ः४५ बजे (नेपाली समय अनुसार) मैदान उत्रिनेछ । स्पेनको फाइनल प्रतिद्वन्द्वीको टुङ्गो भने बिहीबार हुने अर्जेन्टिना र इंग्ल्याण्डबिचको दोस्रो सेमिफाइनल खेलबाट लाग्नेछ ।

स्पेनको विश्वकप इतिहासमा सेमिफाइनल यात्रा शतप्रतिशत सफल रहँदै आएको छ । स्पेन आफ्नो इतिहासमा केवल दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो र दुवै पटक जित निकाल्दै फाइनल पुग्न सफल भएको छ । यसअघि सन् २०१० मा पहिलो पटक सेमिफाइनल पुग्दा स्पेनले जोहानेसबर्गको सकर्स सिटी स्टेडियममा सम्पन्न फाइनल भिडन्तको अतिरिक्त समयमा नेदरल्याण्ड्सलाई १–० ले पराजित गर्दै ऐतिहासिक उपाधि जितेको थियो । आजको जितसँगै स्पेन फिफाको प्रत्यक्ष (लाइभ) वरीयतामा ३०.८२ अङ्क जोड्दै कुल १९६५.६१ अङ्कका साथ विश्वको नम्बर एक टोली बन्न समेत सफल भएको छ ।

अर्कोतर्फ, फ्रान्सको विश्वकप इतिहासमा आठौँ सेमिफाइनल यात्रा भने निराशाजनक रूपमा समाप्त भएको छ । यसअघि सन् १९५८, १९८२ र १९८६ का सेमिफाइनलमा हार ब्यहोरेको फ्रान्सले १९९८, २००६, २०१८ र २०२२ मा जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो । तर डलासको मैदानमा स्पेनिस टोलीले फ्रान्सलाई स्तब्ध बनायो । फ्रान्सले बराबरीका लागि लगातार संघर्ष गरे पनि यस विश्वकपभरि केवल एक गोल मात्र खाएको स्पेनको अभेद्य रक्षापंक्तिलाई भेदन गर्न सकेन । पराजित फ्रान्स हाल १९४८.९७ अङ्कका साथ वरीयताको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको २२ औँ मिनेटमा स्पेनले पेनाल्टीको अवसर प्राप्त गर्‍यो । सो अवसरलाई मिकेल ओयारजाबालले सहजै गोलमा परिणत गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफ १–० को स्कोरमा टुङ्गिएको थियो।

दोस्रो हाफमा खेलमा फर्कन फ्रान्सले आक्रमण तीव्र बनाएको थियो । तर ५८ औँ मिनेटमा स्पेनका डिफेन्डर पेड्रो पोरोले उत्कृष्ट गोल गर्दै स्पेनको अग्रता २–० बनाए । 

स्पेन अब जोहानेसबर्गको ऐतिहासिक र गौरवशाली क्षणलाई पुनः दोहोर्‍याउने लक्ष्यका साथ सोमबारको फाइनलमा उत्रनेछ, जहाँ बिहीबार हुने अर्जेन्टिना र इंग्ल्याण्डबिचको दोस्रो सेमिफाइनलको विजेतासँग उसको उपाधि भिडन्त निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप