बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास

बुधबार, ३१ असार २०८३, ०३ : ०६
बुधबार, ३१ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित भएसँगै फ्रान्सको लगातार तेस्रो पटक फाइनलमा पुग्ने सपना टुङ्गिएको छ ।
  • विश्वकपको सेमिफाइनलमा फ्रान्सको इतिहास रोचक र उतारचढावपूर्ण रहेको छ, जसमा ४ जित र ४ हारको बराबरी सन्तुलन कायम भएको छ ।
  • यस पटकको हारसँगै फ्रान्सको आठौँ सेमिफाइनल यात्रा स्तब्धताका साथ समाप्त भएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा स्पेनसँग २–० ले पराजित भएसँगै फ्रान्सको लगातार तेस्रो पटक फाइनलमा पुग्ने सपना टुङ्गिएको छ । डलासको मैदानमा स्पेनिस रक्षापंक्ति तोड्न नसक्दा र मिकेल ओयारजाबाल तथा पेड्रो पोरोको गोलका कारण फ्रान्स प्रतियोगिताबाट बाहिरिएको हो । यो पराजयसँगै विश्वकप इतिहासमा आठौँ पटक सेमिफाइनल खेलेको फ्रान्सको अन्तिम चारको यात्रा यस पटक स्तब्धताका साथ समाप्त भएको छ ।

विश्वकपको सेमिफाइनल चरणमा फ्रान्सको इतिहास निकै रोचक र उतारचढावपूर्ण रहेको छ । फ्रान्सले पहिलो पटक सन् १९५८ मा स्वीडेन विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको थियो, जहाँ तत्कालीन बलियो टोली ब्राजिलसँग २–५ को भारी अन्तरले पराजित हुँदै फ्रान्स तेस्रो स्थानमा सीमित भएको थियो । त्यसपछि सन् १९८० को दशकमा फ्रान्सले लगातार दुई पटक सेमिफाइनलमा हारको सामना गर्नुपर्‍यो । सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा वेस्ट जर्मनीसँग अतिरिक्त समयमा ३–३ को रोमाञ्चक बराबरीपछि पेनाल्टी सुटआउटमा पराजित हुँदै फ्रान्स चौथो स्थानमा रह्यो । त्यसको चार वर्षपछि अर्थात् १९८६ मा मेक्सिको विश्वकपमा पनि वेस्ट जर्मनीले नै फ्रान्सलाई सेमिफाइनलमा २–० ले रोक्दै तेस्रो स्थानमा खुम्च्याइदिएको थियो ।

सेमिफाइनलमा लगातार तीन वटा हार ब्यहोरेको फ्रान्सको भाग्य भने सन् १९९८ मा आफ्नै देशमा आयोजित विश्वकपमा बदलियो । सो वर्ष क्रोएसियालाई सेमिफाइनलमा २–१ ले पराजित गर्दै फ्रान्स पहिलो पटक फाइनल पुग्यो र अन्ततः ऐतिहासिक पहिलो उपाधि जित्न सफल भयो । त्यसपछि फ्रान्स सेमिफाइनलमा निकै घातक सावित हुन थाल्यो । सन् २००६ को जर्मनी विश्वकपमा पोर्चुगललाई १–० ले हराउँदै फ्रान्स पुनः फाइनल पुग्यो, जहाँ इटालीसँग पेनाल्टी सुटआउटमा उपविजेता बन्यो । त्यस्तै, सन् २०१८ को रुस विश्वकपमा बेल्जियमलाई पराजित गर्दै फाइनल पुगेको फ्रान्सले क्रोएसियालाई हराएर दोस्रो पटक विश्वकपको उपाधि चुम्यो । अघिल्लो संस्करण अर्थात् २०२२ को कतार विश्वकपमा मोरक्कोको उत्कृष्ट यात्रालाई सेमिफाइनलमा २–० ले समाप्त पार्दै फ्रान्स लगातार दोस्रो पटक फाइनल पुगे पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित हुँदै उपविजेतामै सीमित भएको थियो ।

यस पटक अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा भइरहेको २०२६ को विश्वकपमा फ्रान्स पाँचौँ पटक फाइनल पुग्ने दृढ संकल्पका साथ मैदान उत्रिएको थियो । तर उसको आठौँ सेमिफाइनल यात्रा स्पेनविरुद्धको खेलसँगै निराशाजनक रूपमा समाप्त भयो । खेलभरि सङ्घर्ष गरे पनि कप्तान किलियन एम्बाप्पेको टोलीले स्पेनको अनुशासित डिफेन्स तोड्न सकेन । यो पराजयसँगै फ्रान्सको विश्वकप सेमिफाइनलको समग्र इतिहासमा अब ४ जित र ४ हारको बराबरीको सन्तुलन कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप