मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने

मङ्गलबार, ०५ साउन २०८३, १८ : २८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • गायक रामकृष्ण ढकाल आफ्नो फिल्म ‘मालती मंगले’ लिएर अस्ट्रेलिया पुगेका छन् जहाँ २५ जुलाईमा सिड्नीमा रेडकार्पेट प्रिमियर हुनेछ ।
  • ढकालले अमेरिकामा फिल्मको प्रदर्शन सकेर अस्ट्रेलिया पुगेका हुन् र त्यहाँको राइट्स माउन्ट पुमोरी इभेन्ट्स प्रालिले खरिद गरेको छ ।
  • ३१ जुलाईमा एडिलेडमा दीप श्रेष्ठसँगै र २८ जुलाईमा न्युकासलमा मुक्ति एन्ड रिभाइभल ब्यान्डसँग कन्सर्टमा प्रस्तुत हुनेछन् ।

काठमाडौँ । आफू निर्मित फिल्म ‘मालती मंगले’ लिएर गायक रामकृष्ण ढकाल अस्ट्रेलिया पुगेका छन् । २५ जुलाईमा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा लाइभ सांगीतिक प्रस्तुतिसँगै रेडकार्पेट प्रिमियर हुने निर्माता तथा गायक ढकालले रातोपाटीलाई बताए । 

फिल्म लिएर डेढ महिनाअघि अमेरिका गएका उनी त्यहाँको प्रदर्शन सकेर सिधै अस्ट्रेलिया पुगेका हुन् । ‘मालती मंगले’को अस्ट्रेलिया राइट्स माउन्ट पुमोरी इभेन्ट्स प्रालिले खरिद गरेको छ । रेड कार्पेट प्रिमियरका क्रममा लाइभ ब्यान्डका साथ आफ्नो सांगीतिक प्रस्तुति समेत रहने गायक ढकालले बताए । 

‘अस्ट्रेलियामा नेपालीहरूको बाक्लो उपस्थिति भएकाले फिल्म र सांगीतिक कार्यक्रमलाई लिएर उत्साहित छु, अमेरिकामा पनि धेरैले मन पराउनुभयो,’ उनले भने । 

Ram Krishna Dhakal Australia

प्रकु पाण्डेले निर्देशन गरेको फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका छ । फिल्म वैशाख २५ मा नेपालमा रिलिज भएको थियो । अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।

रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् ।

यसैगरी ३१ जुलाईमा अस्ट्रेलियाको एडिलेडमा नेपाली संगीतका फरक पुस्ताका दुई हस्ती दीप श्रेष्ठ र रामकृष्ण ढकाल एउटै मञ्चमा प्रस्तुत हुँदैछन् । सारङ्गी इभेन्ट्सको आयोजनामा हुने ‘दीप श्रेष्ठ तथा रामकृष्ण ढकाल स्वर्णिम सांगीतिक साँझ’मा दुई गायकले लाइभ ब्यान्डमा आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन् । ‘यो कार्यक्रम मेरो जीवनकै विशेषमध्ये हुनेछ, दीप श्रेष्ठ दाइसँग मञ्च सेयर गर्ने अवसर आफैंमा अविस्मरणीय हुने नै छ,’ ढकालले भने  । दुई पुस्ताका ‘लेजेन्ड’ एकै कार्यक्रममा गुञ्जिने दुर्लभ अवसर विशेष सांगीतिक आकर्षण हुने आयोजकको अपेक्षा छ । 

Deep Shrestha and Ram Krishna Dhakal

त्यसअघि न्युली इभेन्ट एन्ड इन्टरटेनमेन्टले २८ जुलाईमा न्युक्यासलमा आयोजना गर्ने कन्सर्टमा ढकाल मुक्ति एन्ड रिभाइभल ब्यान्डसँगै गुञ्जिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप