चीनबाट नेपालले लिनुपर्ने लाभ
सारांश
- नेपाल र चीनबीच १६०० वर्ष पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको छ, जुन पछिल्लो समय कूटनीतिक सम्बन्ध स्थापनापछि थप सुदृढ भएको छ ।
- चीनले नेपाललाई 'भूपरिवेष्ठित' बाट 'भूजडित' राष्ट्रमा रूपान्तरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने नेपालले 'एक चीन नीति' प्रति प्रतिबद्धता कायम राख्नुपर्ने चीनको अपेक्षा छ ।
- नेपालले चीनको विकास अनुभव, प्रविधि र क्षमताको उपयोग गरी व्यापार घाटा न्यूनीकरण, कृषि तथा पूर्वाधार विकासमा सहकार्य विस्तार गर्नुपर्छ ।
नेपाल–चीन सम्बन्ध युगौँदेखिको हो । करिब १६०० वर्षअघि चिनियाँ भिक्षु फा स्यान र नेपाली भिक्षु बुद्धभद्रले एक अर्काको देशमा भ्रमण गर्नुका साथै बौद्ध धर्मसम्बन्धी ग्रन्थहरूको अनुवाद गर्दै धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई बलियो बनाएका थिए ।
चीनको ताङ वंशकाल (७औँ शताब्दी) मा नेपाली राजकुमारी भृकुटीको तिब्बती राजा स्रोङचेन गम्पोसँग गरेको विवाह तथा नेपाली कलाकार अरनिकोले बेइजिङमा निर्माण गरेका प्रसिद्ध श्वेत स्तूपलगायतका कलाकृतिहरूले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाएका छन् ।
सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै यी ऐतिहासिक सम्बन्धहरू अझ सुदृढ बने । आज नेपाल–चीन सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान, सहयोग र साझा हितमा आधारित रहेको छ, जसलाई ‘नङ र मासु’ जस्तै घनिष्ठ सम्बन्धका रूपमा लिइन्छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणका क्रममा चिनियाँ पक्षले आफ्नो पुरानो उखान ‘टाढाको नातेदारभन्दा नजिकको छिमेकी उत्तम हुन्छ’ लाई पुनः स्मरण गरायो । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई चीनको महत्त्वपूर्ण छिमेकी र कूटनीतिक साझेदारका रूपमा उल्लेख गर्दै आपसी विश्वास र सहकार्यलाई निरन्तर अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको आकार, जनसंख्या, आर्थिक अवस्था वा सामाजिक व्यवस्था जस्तोसुकै भए पनि चीनले पारस्परिक सम्मान, समानता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तका आधारमा सम्बन्ध विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको बताएका छन् । साथै, उनले नेपाललाई ‘भूपरिवेष्ठित’ अवस्थाबाट ‘भूजडित’ राष्ट्रमा रूपान्तरण गर्ने चीनको प्रतिबद्धता पनि व्यक्त गर्दै आएका छन् ।
नेपालसँगको सम्बन्ध र सहकार्यलाई उच्च प्राथमिकता दिँदै आएको चीन आफ्नो राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा भने विशेष संवेदनशील र सतर्क देखिन्छ । विशेषगरी, नेपालमा अमेरिका तथा अन्य पश्चिमा मुलुकहरूको बढ्दो सक्रियताप्रति चीनले चासो व्यक्त गर्दै आएको छ । यही सन्दर्भमा ‘एक चीन नीति’ प्रति नेपालको प्रतिबद्धता कायम रहने अपेक्षा गर्दै चीनले नेपालको भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग हुन नदिनुपर्ने आफ्नो धारणा समय–समयमा कूटनीतिक माध्यमबाट व्यक्त गर्दै आएको छ ।
बालेन्द्र शाह प्रधानमन्त्री बने लगतै बधाई दिएका चिनियाँ समकक्षी ली खछ्याङले दुई देश बिचको गौरवगाथा स्मरण गरे । ‘युग पुरानो छिमेकी सम्बन्धमा बाँधिएको सुन्दर पहाड र नदीहरूले जोडिएको छिमेकीसँग पूर्वाधार, सुशासनका साथै अन्तर्देशीय रेल, विमानस्थल, विद्युत प्रसारण नेटवर्क लगायतका विकासका मुद्दाहरूमा सहयोग र साथ दिन’ तयार रहेको सन्देश पठाए ।
चिनियाँ कूटनीतिज्ञहरूका अनुसार नेपालसँग सम्बन्धित बेइजिङका तीन प्रमुख चासो छन् —‘एक चीन नीति’ प्रतिको नेपालको प्रतिबद्धता तथा सुरक्षा, स्वतन्त्र परराष्ट्र नीति र पूर्वानुमानयोग्य लगानी वातावरण । यी तीनै विषयमा नेपालले स्पष्ट, स्थिर र विश्वासयोग्य नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ ।
चीन नजिक भए पनि धेरै नेपालीले त्यसलाई प्रत्यक्ष बुझ्ने, देख्ने र अनुभव गर्ने अवसर पाएका छैनन् । यसैले यस आलेखमा मैले आफ्ना अनुभव र अनुभूतिलाई पनि समेटेको छु । सन् २०२५ मा ‘सेमिनार अन कस्टम म्यानेजमेन्ट एन्ड चाइना–युरोप रेलवे एक्सप्रेस’ मा सहभागी हुने क्रममा चीनको शान्सी प्रान्तस्थित सियानमा २–१५ जुलाईसम्म बस्ने अवसर पाएँ ।
गोष्ठीको उद्देश्य आधुनिक चीन तथा उसले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को अवधारणालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै ‘विन–विन’ साझेदारीको आधारमा सहकार्य विस्तार गर्नु थियो । सैद्धान्तिक कक्षामार्फत चिनियाँ इतिहास, वर्तमान र विकासको मार्गबारे जानकारी दिइयो भने व्यवहारिक रूपमा उद्योग, ल्यान्ड पोर्ट, सि–पोर्ट तथा प्रविधिमैत्री भन्सार प्रणालीको अवलोकन गराइयो । साथै, चिनियाँ समाज, संस्कृति र कार्यशैलीलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो ।
अन्तर्राष्ट्रिय कूटनीति र विकास अध्ययनमा रुचि राख्ने विद्यार्थीका रूपमा चीनबारे केही पूर्वधारणा थियो । तर, देशप्रतिको समर्पण, कठोर परिश्रम र अनुशासनले मलाई अपेक्षाभन्दा बढी प्रभावित ग¥यो । यी गुण कृत्रिम नभई चिनियाँ सामाजिक र सांस्कृतिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएका रहेछन् ।
विमानस्थलमा चिनियाँ युवायुवतीहरूले गरेको आत्मीय स्वागत र बिदाइका बेला एनी नामकी युवती भावविह्वल भएको दृश्य आज पनि स्मरणमा ताजा छ । घर फर्कने उत्साहसँगै आफ्नी आठ वर्षीया छोरीको सम्झनाले भावुक बनेको मेरो मनमा त्यो आत्मीयताले चीनप्रतिको बुझाइलाई अझ गहिरो बनायो । चीन भौगोलिक र जनसांख्यिक रुपमा मात्र होइन, संस्कार, संस्कृतिले पनि निकै विशाल रहेछ ।
चीनको शान्सी प्रान्त शिक्षा, अनुसन्धान र औद्योगिक विकासका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । अर्थतन्त्रमा निकै बलियो छ । यसको प्रान्तीय राजधानी सियान चीनको ऐतिहासिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित छ । याङलिङ कृषि उच्च प्रविधि उद्योग प्रदर्शन क्षेत्र आधुनिक कृषि प्रविधि, वैज्ञानिक अनुसन्धान तथा कृषि ज्ञान आदानप्रदानको प्रमुख केन्द्र हो । त्यस्तै, सियानस्थित उत्तर–पश्चिम पोलिटेक्निकल विश्वविद्यालय एयरस्पेस, एभियशन तथा मरिन इन्जिनियरिङजस्ता उच्च प्रविधिका क्षेत्रमा अनुसन्धान र शिक्षाका लागि चीनका प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हो ।
चीनका विकास अनुभव, प्रविधि र क्षमतालाई हेर्दा नेपालले छिमेकी चीनसँगको सहकार्यबाट अधिकतम लाभ लिनुपर्छ । तीव्र विकास र समृद्धिको लक्ष्य हासिल गर्ने क्रममा चीन नेपालका लागि महत्त्वपूर्ण विकास साझेदार बन्न सक्छ । राजमार्ग, रेलमार्ग, विमानस्थल, सुरुङमार्ग, जलविद्युत्, प्रसारण सञ्जाल, औद्योगिक पूर्वाधार, सूचना प्रविधि तथा डाटा सेन्टरजस्ता रणनीतिक क्षेत्रमा चीनको आर्थिक, प्राविधिक र व्यवस्थापकीय अनुभवको प्रभावकारी उपयोग गर्नु नेपालको हितमा हुनेछ ।
पछिल्लो १० महिनामा व्यापार घाटा वृद्धि भएर १४ खर्ब रुपैयाँ पुगेको छ । भारतपछि चीनसँगको व्यापार घाटा दोस्रो ठुलो छ । यसलाई क्रमशः घटाउन नेपालले हिमाली क्षेत्रका जडीबुटी, फलफूल तथा अन्य उच्च मूल्यका कृषिजन्य उत्पादनहरूको चीनतर्फ निर्यात बढाउनुपर्ने आवश्यकता छ । त्यसका लागि कोदारी–न्यालम, रसुवा–केरुङ, यारी–पुराङ, ओलाङचुङगोला–रिउ, किमाथाङ्का–रिउ तथा नेचुङ–लिजीजस्ता सीमा नाकाहरूलाई चरणबद्ध रूपमा सञ्चालन र स्तरोन्नति गर्दै व्यापार सहजीकरणमा जोड दिनुपर्छ ।
त्यसैगरी, नेपाल र चीनबीच हिमालय क्षेत्रमा जलवायु परिवर्तन, जैविक विविधताको संरक्षण तथा हिमताल विस्फोट, हिमपग्लन र पहिरोजस्ता प्राकृतिक विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्न सकिन्छ । यस्तो सहकार्यले वातावरणीय चुनौती न्यूनीकरणका साथै सीमावर्ती क्षेत्रको सुरक्षा र स्थायित्वलाई पनि सुदृढ बनाउन योगदान पुर्याउनेछ । नेपालको उत्तरी सीमामा शान्ति, स्थिरता र सुरक्षा कायम रहोस् भन्ने अपेक्षा चीनले समय–समयमा व्यक्त गर्दै आएको छ, र नेपालले पनि यसप्रति सचेततापूर्वक आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आएको छ ।
नेपालको भौगोलिक बनावट आधुनिक कृषिका लागि उपयुक्त छ । नेपालको भूबनावट अभिशाप होइन साक्षात् वरदान हो । परम्परागत कृषि प्रणाली सोच हाम्रो बाधक हो । चीनसँग कृषि विज्ञान, प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्दै आधुनिक तथा हाइब्रिड कृषि प्रणाली अपनाउन आवश्यक छ । चिनियाँ प्रविधि र अनुभवको उपयोग गरी उत्पादन वृद्धि गर्ने र उच्च मूल्यका कृषिजन्य वस्तु चीनतर्फ निर्यात गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने रणनीतिमा नेपाल अघि बढ्नुपर्छ ।
चीन नेपालभन्दा भौगोलिक रूपमा ६२.२ गुणा र जनसङ्ख्याका हिसाबले ४७.३ गुणा ठुलो छ । वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार चीन कुल गार्हस्थ्य उत्पादनका आधारमा २०.८५ ट्रिलियन अमेरिकी डलरसहित विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो । त्यसैगरी, क्रयशक्ति क्षमताका आधारमा चीन विश्वकै पहिलो अर्थतन्त्रमा पर्दछ ।
सैन्य शक्तिका हिसाबले चीन विश्वको तेस्रो स्थानमा छ । विश्व बौद्धिक सम्पत्ति संगठनको प्रतिवेदन अनुसार विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा पनि चीन विश्वको पहिलो हो । कम लागतमा उत्पादन गर्ने अर्थतन्त्रबाट चीन अत्याधुनिक प्रविधिमा आधारित अर्थतन्त्रमा रूपान्तरण भएको छ । शेन्जेन–हङकङ–ग्वाङझाउ क्लस्टरलाई विश्वस्तरीय विज्ञान तथा प्रविधि केन्द्रका रूपमा विकास गर्दै चीनले अमेरिकाको सिलिकन भ्याली र जापानका प्रमुख नवप्रवर्तन केन्द्रसँग प्रतिस्पर्धा गरिरहेको छ । समय, लागत, बजार र भिसा प्रक्रियाका दृष्टिले चीन नेपाली, विशेषगरी युवाहरूका लागि अवसरको उपयुक्त गन्तव्य बन्न सक्छ । त्यसैले यसबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्ठित’ देशबाट ‘भूजडित’ देशमा रूपान्तरण गर्ने अवधारणा सार्वजनिक गरिसकेको सन्दर्भमा केरुङ, हिल्सा लगायतका उत्तरी सीमा क्षेत्रलाई रेल, सडक र विद्युत् प्रसारण सञ्जालमार्फत जोड्दै नेपाललाई भूजडित राष्ट्रका रूपमा स्थापित गर्नुपर्छ । अन्यथा, ‘बाघ गयो, बुद्धि आयो’ भन्ने उखान चरितार्थ हुन सक्छ ।
विश्वको बदलिँदो भूराजनीतिक परिवेशमा सरकार–सरकारबीचको सम्बन्धमा उतारचढाव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ट्र्याक–टु कूटनीतिलाई थप सुदृढ बनाउन आवश्यक छ । यसका लागि द्विपक्षीय व्यापारिक संघ, सामाजिक तथा सांस्कृतिक संस्था, बौद्धिक मञ्च र व्यावसायिक संगठनहरूलाई अझ सक्रिय बनाउँदै नागरिक–नागरिकबीचको सम्बन्धलाई पनि सुदृढ बनाउनुपर्छ ।
बंगलादेशले चीन र भारतबाट कच्चा पदार्थ आयात गरी प्रशोधित वस्तु उत्पादन गरेर युरोपमा निर्यात गर्ने रणनीति अवलम्बन गरेको छ । नेपालको समुद्री पहुँच सहज नभएकाले त्यही मोडेल पूर्ण रूपमा लागू गर्न कठिन हुन सक्छ । तथापि, नेपालले आफ्ना लागि आवश्यक दैनिक उपभोग्य वस्तुको स्वदेशमै उत्पादन बढाउने, उच्च मूल्यका वस्तु निर्यात गर्ने तथा उपलब्ध कच्चा पदार्थको मूल्य अभिवृद्धि गरेर निर्यात गर्ने रणनीति अपनाउनुपर्छ ।
यो विशाल छिमेकीसँगको सहकार्यबाट प्राप्त हुन सक्ने अवसरको सदुपयोग गर्नु आज नेपालको आवश्यकता हो । विशाल छिमेकी चीनबाट अहिले लाभ नलिए कहिले लिने ?
(लेखक अधिवक्ता हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण