बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)

बुधबार, ०६ साउन २०८३, १३ : १२
बुधबार, ०६ साउन २०८३

सारांश

  • सिक्किममा निर्माणाधीन सुरुङमा मिथेन ग्यास विस्फोट हुँदा १२ जना मजदुरको मृत्यु भएको छ ।
  • घटनापछि सुरुङभित्र फसेका १३ जनाको खोजी तथा उद्धार कार्य जारी छ ।
  • सिक्किम सरकारले दुर्घटनाको कारण मिथेन ग्यासको दहन भएको जनाएको छ ।

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन सुरुङ भत्किँदा १२ जना मजदुरको मृत्यु भएको छ । सुरुङभित्र मिथेन ग्यास विस्फोटपछि सुरुङको एक भाग भत्किँदा कम्तीमा १२ जना मजदुरको मृत्यु भएको हो । 

घटनापछि सुरुङभित्र फसेका १३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले जनाएका छन् । भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का अनुसार दुर्घटना सुरुङभित्र करिब १.५ किलोमिटर भित्र भएको थियो ।

उक्त सुरुङ टिस्टा नदीको पानी जलविद्युत् आयोजनाको टर्बाइनसम्म पुर्याउन निर्माण भइरहेको थियो । यो परियोजना भारत सरकारको स्वामित्वमा रहेको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले निर्माण गरिरहेको हो ।

एनएचपीसीका अनुसार चट्टानभित्र थुनिएको मिथेन ग्यास अचानक बाहिर निस्केर विस्फोट हुँदा बाक्लो धुवाँ र विषालु ग्यास फैलिएको थियो । सिक्किम सरकारले पनि दुर्घटनाको कारण मिथेन ग्यासको दहन भएको जनाएको छ । मिथेन प्राकृतिक रूपमा जमिनमुनि पाइने ग्यास हो । 

सुरुङ खन्ने क्रममा यो बाहिर निस्किएर कुनै स्पार्क वा आगोसँग सम्पर्कमा आए विस्फोट हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटना हुँदा सुरुङका विभिन्न भागमा २७ जना मजदुर काम गरिरहेका थिए । तीमध्ये दुई जना सुरक्षित रूपमा बाहिर निस्किन सफल भए भने २५ जना सुरुङभित्र फसेका थिए ।

सिक्किमका प्रहरी प्रमुख सोनम डी भुटियाका अनुसार हालसम्म १२ जनाको शव फेला परेको छ भने बाँकी १३ जनाको खोजी जारी छ । प्रहरीले हालसम्म ७ जना मृतकको पहिचान गरेको जनाएको छ । मृतकमध्ये एक जना सिक्किमका स्थानीय बासिन्दा हुन् भने अन्य पश्चिम बंगाल, उत्तराखण्ड र असमबाट आएका श्रमिक रहेका छन् । मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि पुष्टि गरिने अधिकारीहरूले बताएका छन् ।

एनडीआरएफका अधिकारी मोहसेन शाहेदीका अनुसार बाँकी मजदुरहरू सुरुङको करिब २०० मिटर लामो क्षेत्रमा फसेको अनुमान गरिएको छ । सोही क्षेत्रमा उद्धार टोलीले विशेष खोजी अभियान सञ्चालन गरिरहेको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली गठन गरेका छन् । 

‘के भयो र कसरी भयो भन्ने पत्ता लगाउन विज्ञहरूको टोली परिचालन गरिएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कारबाही गरिनेछ,’ उनले पत्रकारहरूसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप