बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर

बुधबार, ०६ साउन २०८३, १४ : ५१
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको आन्तरिक व्यवस्थापन र क्रियाशील सदस्यता नवीकरणको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।
  • उनले पार्टीभित्रका केही निर्णय र कार्यशैलीप्रति लक्षित गर्दै कमजोरीलाई बेवास्ता गरिएमा अझै अघि बढ्ने चेतावनी दिएका छन् ।
  • बलायरले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया न्यायसङ्गत हुनुपर्नेमा जोड दिँदै पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रद्येश सभापति वीरबहादुर बलायरले पार्टीको आन्तरिक व्यवस्थापन र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

वीपीको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बलायरले पार्टीभित्रका कतिपय निर्णय र कार्यशैलीप्रति लक्ष्य गर्दै आफूहरू अझै पनि मर्यादित सीमा (लक्ष्मण रेखा) भित्रै रहेको तर कमजोरीहरूलाई नजरअन्दाज गरिए पाइलाहरू अघि बढ्ने चेतावनी दिए । 

नेता बलायरले क्रियाशील सदस्यता अद्यावधिक गर्ने प्रक्रिया न्यायसङ्गत हुनुपर्ने बताए । ‘सदस्यता अद्यावधिक भनेको फास्ट ट्र्याकमा घोक्र्याएर गरिने विषय होइन,’ उनले भने, ‘अहिले अद्यावधिक गरिएका क्रियाशील सदस्यहरू कति रहन्छन्, त्यो हेर्न बाँकी नै छ ।’

पार्टी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै बलायरले भने, ‘शेरबहादुर देउवाले प्रदेश, स्थानीय तह र प्रतिनिधि सभाको समानुपातिकमा दिएको टिकट चल्ने, तर देउवाले नै नवीकरण गरेको सदस्यता नचल्ने, यो कस्तो नीति हो ।’ 

आफूहरू सधैँ नियमित अधिवेशनको पक्षमा रहेको स्पष्ट पार्दै उनले पार्टीका अग्रज नेताहरूको सम्मान हुनुपर्ने धारणा राखे । अग्रज नेताहरूको अपमान भएको आफूहरूले हेरेर बस्न नसक्ने उनको भनाइ थियो । राजनीतिमा कसैको निगाह वा अनुदान नलिएको स्पष्ट पार्दै उनले भने, ‘हामीले अनुदानको राजनीति गरेका छैनौँ, आफ्नै बल र बुतामा राजनीति गरेका हौँ ।’

आफ्ना समर्थक तथा कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै नेता बलायरले अब आफूहरू वडा तहसम्मै पुग्ने गरी नयाँ कार्यक्रमहरू तय गर्ने जानकारी दिए । ‘हामीले घरको दैलोबाट पाइला बाहिर निकालिसकेका छौँ, अब हाम्रा पाइला रोकिने छैनन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप