बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित बनाएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पछिल्लो समय देशको अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन बिग्रिएको दाबी गर्दै छिमेकी राष्ट्र भारत र चीनसँग विश्वास कायम राख्न नसकेको बताए ।
- एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवाली र नेकपा (माओवादी केन्द्र)का विदेश विभाग प्रमुख प्रमेश हमालले पनि सरकारले भारत र चीन दुवैसँग सम्बन्धमा अविश्वासको वातावरण सिर्जना गरेको र परराष्ट्र नीतिमा त्रुटिपूर्ण काम गरेको आरोप लगाएका छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध असन्तुलित बनाएको भन्दै विपक्षी दलले आपत्ति जनाउन थालेका छन् । यो सरकारले परम्परादेखि छिमेकीसँग रहँदै आएको सम्बन्ध बिगारेको, अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने खालको काम गरेको उनीहरूको आरोप छ ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पछिल्लो समय देशको अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन बिग्रिएको दाबी गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘कूटनीतिक सम्बन्ध बनाउनका लागि अन्तर्राष्ट्रिय सन्तुलन एकदमै जरुरी छ, तर पछिल्लो समय त्यो भत्किएको अनुभूति भइरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन राख्न सकिएन भने धेरै ठुलो समस्या उत्पन्न हुन सक्छ ।’
खासगरी छिमेकी दुई देश भारत र चीनसँग राम्रो सम्बन्ध बनाउनुपर्नेमा उनले जोड दिए । छिमेकी राष्ट्रसँग विश्वास कायम राख्नुपर्ने उनको भनाइ छ । वर्तमान सरकारले दुई छिमेकी देशलाई विश्वासमा लिन नसकेको बताउँदै उनले अन्तर्राष्ट्रिय मामिलामा अनावश्यक विवाद सिर्जना भइरहेको टिप्पणी गरे ।
_raay0oVnoY.jpg)
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवाली पनि अन्तर्राष्ट्रिय सम्बन्धमा वर्तमान सरकारले सन्तुलन कायम राख्न नसकेको दाबी गर्छन् । उनले भने, ‘दुई छिमेकी देश भारत र चीनका साथै अन्य देशहरूसँगको सम्बन्धलाई सरकारले सन्तुलनमा राख्न सकेको छैन ।’
सरकारले परराष्ट्र नीतिमै सवाल उठ्ने गरी केही गम्भीर कुरा ल्याएको जिकिर गर्दै उनले भने, ‘सरकारले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दा अब नेपाल बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिजको रुपमा काम गर्न चाहेको उल्लेख गरेको छ, कूटनीतिमा त्यो एकदमै त्रुटिपूर्ण कुरा हो ।’ नेपाल कहिल्यै बफर स्टेट नरहेको प्रस्ट पार्दै उनले जबरजस्ती त्यसलाई स्थापित गर्न खोजिएको आरोप लगाए ।
वर्तमान सरकारमा रहेकाहरूलाई भूराजनीतिको समान्य ज्ञान पनि नरहेको जस्तो कार्यहरू भइरहेको ज्ञवालीले बताए । उनले विदेश नीति तथा कूटनीतिसँग खेलवाड गर्न नहुने प्रस्ट पारे ।
_8vhTaZSunr.jpg)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत भएर नेपाल आउन चाहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग प्रधानमन्त्री बालेनले भेट्न नचाहनुले राम्रो सन्देश नगएको ज्ञवालीको भनाइ छ । यसले दुई देशबिचको सम्बन्धलाई नै प्रभाव पारेको बताए ।
प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशले अर्काको भूमि मिचेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति रहेको बताउँदै उनले यसले दीर्घकालीन रूपमा दुई देश बिचको सम्बन्धमा धेरै ठुलो असर पार्ने दाबी गरे । ‘यस्ता कुरामा अभिव्यक्ति दिँदा एकदमै ख्याल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यिनै कुराहरूले गर्दा भारतसँग विश्वासको सङ्कट उत्पन्न भएको हो ।’
ज्ञवालीका अनुसार चीन सुरुदेखि नै सशङ्कित थियो । ‘जेनजी आन्दोलन जसरी भयो, त्यहाँ ज–जसको संलग्नता देखिएको छ, त्यसलाई चीनले सहज रूपमा लिएको छैन,’ उनले भने, ‘पछिल्लो समय सुरक्षासँग सम्बन्धित विषयमा जुनखालको गतिविधि नेपालमा भइरहेको छ, त्यसमा पनि चीनले चित्त दुखाएको छ ।’
यसरी भारत र चीन दुवैसँग सम्बन्ध खराब बनाउँदा नेपाललाई दीर्घकालीन रूपमा समस्या उत्पन्न हुने ज्ञवालीले बताए । परराष्ट्रमन्त्री शिशिर खनालले यसमा केही ड्यामेज कन्ट्रोल गर्न खोजे पनि पर्याप्त नभएको उनले प्रस्ट पारे । प्रधानमन्त्री तहबाटै यसका लागि पहल हुनुपर्ने उनको भनाइ छ ।
नेपाली कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख प्रमेश हमालले पनि वर्तमान सरकारले विदेश मामिलामा सन्तुलन कामय गर्न नसकेको बताए । उनले भने, ‘हाम्रो परराष्ट्र नीति असंलग्न परराष्ट्र नीति हो, त्यसको व्यवस्था संविधानमा पनि छ, तर वर्तमान सरकार त्यसको विपरीत हिँडिरहेको छ ।’

अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा सरकारले गरेका गतिविधिमा प्रश्न उठेको जिकिर गर्दै उनले यसका बाबजुद सरकारले कुनै कुराको जबाफ नदिएको बताए । ‘कुनै पनि देशका लागि भूगोल (भूमि) सबैभन्दा ठुलो कुरा हो, तर प्रधानमन्त्री बालेनले त्यसलाई पनि विवादमा ल्याएको देखिन्छ,’ उनले भने, ‘नेपालले भारतको भूमि मिचेको भन्दै प्रधानमन्त्रीले संसदमै अभिव्यक्ति दिएका छन्, यस्तो गैरकूटनीतिक अभिव्यक्ति अरु केही हुन सक्दैन ।’
यसको बारेमा प्रधानमन्त्रीले हालसम्म जबाफ नदिएकोमा समेत उनले आपत्ति जनाए । भूराजनीति जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले स्पष्ट नपार्नुले दीर्घकालीन असर पर्न सक्ने बताउँदै उनले वर्तमान सरकारले दुई छिमेकी मुलुक भारत र चीनसँग अविश्वासको वातावरण सिर्जना गरेको बताए ।
एक चीन नीति विपरीत सरकारको अनुमतिमा दलाई लामाको जन्मदिन नेपालमा मनाएको घटनाले पनि चीन नेपालप्रति सशङ्कित देखिएको हमालको भनाइ छ । अहिलेको सरकारले कुनै विशेष देशप्रति झुकाव राखेर काम गरिरहेको छ कि भन्नेजस्तो अनुभूति सबैतिर भइरहेको उनले बताए ।
केही दिनअघि रातोपाटीसँगको अन्तर्वार्तामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा अविश्वास उत्पन्न हुने गरी सरकारले काम गरिरहेको बताएका थिए । ‘कूटनीतिमा धेरै कुरालाई ख्याल गरेर बोल्नुपर्ने हुन्छ, राष्ट्र र राष्ट्रियतासँग सम्बन्धित कुरा भएकाले कूटनीति संवेदनशील हुन्छ । राज्यको तर्फबाट बोल्दा त्यसमा ख्याल गर्नुपर्ने हुन्छ तर त्यसमा वर्तमान सरकार पटक पटक चुकेको छ,’ उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण