शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट

बिहीबार, ०७ साउन २०८३, १८ : १५
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरणका लागि केन्द्रको निर्णय कुरेर बसेको छ ।
  • प्रमुख प्रतिपक्ष दल नेकपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ ।
  • सुदूरपश्चिममा सरकार बनाउन २७ सिट आवश्यक पर्छ, जहाँ नेकपाको २२, कांग्रेसको १८, एमालेको ११ र राप्रपाको एक सिट छ ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण बनाउने विषयमा केन्द्रको निर्णय कुरेर बसेको छ। नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन टुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीले आफ्नै नेतृत्वका सरकार गठन गर्न पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो।

वार्ता टोलीमा संसदीय दलका नेता खगराज भट्टसहित प्रदेशसभा सदस्यहरू प्रकाश रावल, मानबहादुर धामी, खुशीराम चौधरी र रमेश धामी रहेका छन् । वार्ता टोलीले कांग्रेस र एमाले दुवै दलसँग छलफल गरेको दलका नेता तथा संयोजक खगराज भट्टले जानकारी दिए । तर सर्वदलीय सरकार बनाउने कि दुइ पक्ष मिलेर सरकार बनाउने भन्नेमा केन्द्रबाट कुनै निर्देशन नआएको भट्टले जानकारी दिए।

‘लोकतन्त्र, संविधान र गणतन्त्रका लागि लडेका शक्तिहरू मिलेर जानु आज पनि अपरिहार्य आवश्यकता छ । त्यसका लागि हामीले कांग्रेस र एमालेसँग पनि छलफल जारी राखेका छौँ’, उनले भने, ‘त्रिपक्षीय सहमति नै नभएको खण्डमा कुनै एक पक्षसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ । सरकारबिहीन अवस्था राख्नु हुँदैन । त्यसका लागि केन्द्रको निर्णय कुरेर बसेका छौँ । आज भोलितिर निर्देशन आउला।’

पार्टीभित्र र बाहिर धेरैको सुझाव वामपन्थीबिच गठबन्धन बनाएर जानुपर्ने रहेको भट्टले जानकारी दिए । कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रको निर्देशन अनुसार अगाडि बढ्ने उनले बताए। सुदूरपश्चिममा सरकार निर्माण, पार्टी संगठन लगायत विषयमा सहइन्चार्ज रञ्जिता श्रेष्ठले संयोजक प्रचण्डसँग भेट गरेकी थिइन् । छलफल सकारात्मक र महत्वपूर्ण रहेको श्रेष्ठले बताएकी छिन्।

यता प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले कांग्रेसका सभापति गगन थापासँग पनि छलफलको तयारी भइराखेकाले निर्देशन नपठाएको बताए । यद्यपि प्रदेशमा सकभर सर्वदलीय सरकार गठन गर्ने, सहमति नभए त्यसै अनुसार प्रदेशलाई निर्देशन दिने स्पष्ट पारे ।

‘हाम्रो सुरुदेखि नै सर्वदलीय सरकार बनाउनेमा जोड दिएका छौँ । प्रदेशमा सर्वदलीय सरकार बनाउने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरिसकेका छौँ । एक चरण कांग्रेसका नेताहरुसँग पनि कुराकानी गर्ने तयारी छ । अहिले कुनै प्रदेशमा पनि निर्देशन दिएका छैनौँ । सबैसँग छलफल गरेपछि केन्द्रबाट निर्देशन जान्छ’, आचार्यले भने।

सुदूरपश्चिममा नेकपाको २२, कांग्रेसको १८, एमालेको ११ र राप्रपाको एक सिट रहेको छ । सरकार बनाउनका लागि २७ सिट आवश्यक पर्छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप