आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मापसे गरेर सवारी चलाएको अभियोगबाट बच्न आफ्नै मृत्युको नाटक

आइतबार, १० साउन २०८३, १६ : २१
आइतबार, १० साउन २०८३

सारांश

  • चीनको हुनान प्रान्तमा एक व्यक्तिले मदिरा सेवन गरी सवारी चलाएको अभियोगबाट बच्न आफ्नै मृत्युको नाटक गरेको घटना सार्वजनिक भएको छ।
  • ती व्यक्तिले घरभरि खाली औषधिका बोतल छरेर र शरीर चिसो पारेर लागुऔषधको अत्यधिक सेवनबाट मृत्यु भएको जस्तो दृश्य तयार पारेका थिए।
  • प्रहरीले कफिन पहिले नै किनिएको, मृत्यु प्रमाणपत्र जारी नभएको र बैंक कारोबारको विवरणबाट उनी जीवित रहेको पुष्टि गरेपछि उनलाई पक्राउ गरी जेल सजाय सुनाइएको छ।

बेइजिङ । चीनको हुनान प्रान्तमा मदिरा सेवन गरेर सवारी चलाएको अभियोगबाट कानुनी कारबाहीबाट बच्न एक व्यक्तिले आफ्नै मृत्यु र अन्त्येष्टिको नाटक गरेको घटना सार्वजनिक भएको छ। प्रहरीले हालै यस घटनाको विवरण सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार ‘सी’ थर भएका ती व्यक्ति गत वर्ष जनवरीमा मदिरा सेवन गरेर सवारी चलाइरहेका बेला पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उनी यसअघि पनि दुई पटक मादक पदार्थ सेवन गरी बिना लाइसेन्स सवारी चलाएको अभियोगमा पक्राउ परिसकेको खुलेको थियो। तेस्रो पटक पनि उही कसुर दोहोरिएकाले उनलाई जेल सजाय हुने सम्भावना थियो।

धरौटीमा रिहा भएपछि उनले जेल सजायबाट बच्न आफ्नै मृत्युको नाटक गर्ने योजना बनाए। त्यसका लागि उनले आफ्नी आमा र हजुरआमालाई पनि योजनामा सहभागी गराउँदै आफू मरेको झुटो प्रमाण सिर्जना गर्ने निर्णय गरेका थिए।

गत वर्ष जुनमा उनीहरूले योजना कार्यान्वयन गरे। सबैभन्दा पहिले एउटा कफिन किनियो। त्यसपछि सीले घरभरि खाली औषधिका बोतलहरू छरेर लागुऔषधको अत्यधिक सेवनका कारण मृत्यु भएको जस्तो दृश्य तयार पारे। उनले लामो समयसम्म सास रोक्ने अभ्यास गरेका थिए भने शरीर चिसो देखाउन विशेष चिस्याउने उपकरणसमेत प्रयोग गरेका थिए।

स्थानीय बासिन्दाले शव देखेको दाबी गरे पनि सीकी आमा र हजुरआमाले उनको अनुहार कपडाले ढाक्दै औषधिको असरका कारण अनुहार विकृत भएको बताएका थिए। सोही दिन अन्त्येष्टि पनि सम्पन्न गरिएको थियो। तर कफिन गाडिँदै गर्दा सी भने युनान प्रान्ततर्फ भागिसकेका थिए।

उनको योजना भने धेरै दिन टिक्न सकेन। प्रहरीले अनुसन्धानका क्रममा कफिन कथित मृत्यु हुनुअघि नै किनिएको तथ्य फेला पारेको थियो। परिवारले उनको मृत्युबारे न एम्बुलेन्सलाई खबर गरेको थियो, न प्रहरीलाई नै जानकारी दिएको थियो।

थप अनुसन्धानमा सीको मृत्यु प्रमाणपत्र जारी नभएको र उनको शव दाहसंस्कार भएको कुनै अभिलेख पनि नरहेको खुलेको थियो। छिमेकीहरूले अन्तिम संस्कारअघि उनको अनुहार नदेखेको तथ्यले पनि प्रहरीको शंका बढाएको थियो। पछि निगरानी क्यामेराको दृश्य र बैंक कारोबारको विवरणबाट सी जीवित रहेको पुष्टि भएपछि प्रहरीले उनको खोजी अभियान सुरु गरेको थियो। अन्ततः उनी यस वर्ष अप्रिलमा पक्राउ परे।

अदालतले सीलाई पाँच महिनाको जेल सजाय सुनाउँदै २० हजार युआन जरिवाना गरेको छ। साथै, अपराधीलाई लुकाउन र सहयोग गरेको आरोपमा उनकी आमा र हजुरआमाविरुद्ध पनि छुट्टै आपराधिक अनुसन्धान भइरहेको चिनियाँ प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप